विप्लवलाई छोडेर नेकपा (बहुमत) प्रवेश गर्नेहरूको लहर चल्यो

विप्लवलाई छोडेर नेकपा (बहुमत) प्रवेश गर्नेहरूको लहर चल्यो

काठमाडौँ : संसदीय व्यवस्थाको संविधान, नियम र कानुन स्वीकार्दै पार्टी नै फुटाएर विप्लव पक्ष चुनावमा गएपछि उक्त समूहबाट विद्रोह गरी नेकपा (बहुमत) मा ध्रुवीकरण हुने लहर नै चलेको छ । मेचीदेखि महाकालीसम्म विप्लव नेतृत्वको नेकपा संसद्वादी बनेको भन्दै उक्त समूह परित्याग गरी नेकपा (बहुमत) मा समाहित हुनेको सङ्ख्या दैनिक बढिरहेको छ ।

नेकपा (बहुमत) का संयोजक, प्रवक्ता, कार्यालय सदस्यदेखि सचिवालयका सदस्यसम्म मुख्य नेताहरू पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन मेचीदेखि महाकालीसम्म व्यस्त भएको समयमा देशका विभिन्न स्थानमा विप्लव समूहलगायत पार्टीबाट विद्रोह गरी कञ्चन नेतृत्वको पार्टीमा समाहित हुनेहरूको सङ्ख्या बढेको हो । काठमाडौँ, ललितपुर, कैलालीलगायत जिल्लामा अन्य पार्टीबाट नेकपा (बहुमत) मा समाहित हुनेहरूको सङ्ख्या थपिइरहेको बेला दाङमा पति विप्लव समूह परित्याग गरी कयौँ स्थापित व्यक्तिहरू ध्रुवीकृत बनेका छन् । विप्लव नेतृत्वको नेकपामा रहेर काम गर्दै आएका आधा दर्जन कार्यकर्ता नेकपा (बहुमत) मा समाहित भएका हुन् ।

यसरी नेकपा (बहुमत) मा समाहित हुनेहरूमा विप्लव नेकपाका जिल्ला सदस्यहरू शेरबहादुर परियार र अतुल कुँवर, गणतान्त्रिक खेलकुद महासङ्घ दाङका अध्यक्ष विवेक विश्वकर्मा, युवा सङ्गठन नेपाल दाङका सहसचिव अजय दुलाल, सोही सङ्गठनका दाङ जिल्ला सदस्य जीवन वली, विप्लव नेकपा तुलसीपुर नगरसमितिका सदस्य अजय नेपाली ‘माइकल’ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका तुलसीपुर नगर अध्यक्ष प्रेम परियार रहेका छन् । उनीहरू सबैले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आफूहरू आजैका दिनदेखि विप्लव पार्टी परित्याग गरी नेकपा (बहुमत) मा आबद्ध भएको जनाएका छन् ।

विज्ञप्तिमा उनीहरूले विप्लव नेकपाको हालै भएको स्थानीय चुनावमा सहभागिताले अब उक्त पार्टी सङ्घर्षबाट अलग भई संसदीय व्यवस्थामा गएको पुष्टि भएकाले आफूहरूले उक्त पार्टी परित्याग गरेको जनाएका छन् ।

विज्ञप्तिमा उनीहरूले नेतृत्वले अनाहकमा इमानदार कार्यकर्तालाई कारबाही गरी पाखा लगाउने कार्य गरेको पनि जनाएका छन् । उनीहरूले विप्लव नेकपाका नेता व्यक्तिवादमा पतन भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :