मूल्यवृद्धि, एमसीसी र एसपीपीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभर मसाल जुलुस (भिडियोसहित)

मूल्यवृद्धि, एमसीसी र एसपीपीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभर मसाल जुलुस (भिडियोसहित)

काठमाडौँ : नेकपा (बहुमत) ले पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको चर्को मूल्य वृद्धि फिर्ता लिन, राष्ट्रघाती एमसीसी सम्झौता लागू नगर्न र एमसीसीकै जगमा ल्याइएको अर्को राष्ट्रघाती प्रस्ताव एसपीपी सम्झौता नगर्न चेतावनी दिँदै बुधबार देशभर मसाल जुलुस निकालेको छ ।

साँझसम्म प्राप्त समाचारअनुसार नवलपुरको कावासोती, रूपन्देही, चितवन, मकवानपुर, कास्की, बर्दिया, कैलाली, सप्तरीलगायत जिल्लामा नेकपा (बहुमत) ले मसाल जुलुस प्रदर्शन गरेको छ ।

यसै क्रममा मकवानपुर जिल्लामा नेकपा बहुमतले मसाल जुलुस निकालेर कोणसभा सम्पन्न गरेको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचारअनुसार नेकपा (बहुमत) हेटौँडा उपनगर समितिको आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध स्कुल चोकबाट सीमा चोकसम्म मसाल जुलुस निकालिएको छ । उक्त जुलुसमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, महँगी नियन्त्रण गर, नेकपा (बहुमत) जिन्दावाद, एमसीसी खारेज गर, १० बुँदे एसपीपी सम्झौता खारेज गरलगायत गगनभेदी नारा लगाइएको थियो । त्यसपछि जुलुस कोणसभामा परिणत भएको थियो ।

सभामा जिल्ला सदस्य प्रह्लादले तुरुन्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिइए र महँगी नियन्त्रण नगरिएमा आन्दोलनको आँधीबेहेरी सिर्जना हुने बताए ।

यसैगरी अर्घाखाँचीको सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले मूल्यवृद्धि, एमसीसी, एसपीपीलगायत राष्ट्रघात र जनघातका विरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

सन्धिखर्कको बसपार्कबाट सुरु भएको मसाल जुलुस शान्तिबगैँचामा पुगेर कोणसभामा परिणत भएको थियोे । कोणसभामा सम्बोधन गर्दै नेता पदम नेपालीले वर्तमान सरकारले जनताको ढाड सेक्ने गरी गरेको मूल्यवृद्धि तत्काल फिर्ता गरेर जनताका पक्षमा सरकार भएको अनुभूति गराउन र राष्ट्रिय स्वाधीनताका पक्षमा काम गर्न माग गरेका थिए ।

कोणसभामा नेता सुनिल नेपालीलगायत नेताहरूले सम्बोधन गर्दै राष्ट्रिय स्वाधीनताका पक्षमा काम गरेर सरकार भएको अनुभूति गराउन माग गर्दै नेपाल र नेपाली जनताको स्वाधीनताका विरुद्ध सरकारले क्रियाकलाप गरे त्यसका विरुद्ध कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :