मैले नेकपा (बहुमत) छोडेको छैन, विप्लव पक्षले चलाएको हल्लाप्रति खेद प्रकट गर्छु : कुमार राई

मैले नेकपा (बहुमत) छोडेको छैन, विप्लव पक्षले चलाएको हल्लाप्रति खेद प्रकट गर्छु : कुमार राई

काठमाडौँ : नेकपा (बहुमत) रौतहटका इन्चार्ज कुमार राईले विप्लव पक्षका कार्यकर्ताले आफूलाई पार्टी छोडेको दुष्प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । राईले विज्ञप्ति जारी गरी जेठ २२ गते दिउँसो नेकपा (विप्लव) सर्लाहीका कार्यकर्ता कमल सुस्लिङ मगरले आफ्नो हस्ताक्षर किर्ते गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) परित्याग गरी रौतहट जिल्ला समितिसहित नेकपा विप्लवमा आबद्ध भएको भनेर नक्कली विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरेको विषयप्रति खेद पनि व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी रौतहटको लेटरप्याडमा विज्ञप्ति जारी गर्दै राईले भनेका छन्, ‘२०७९ जेठ २२ गते दिउँसो नेकपा (विप्लव) सर्लाहीका कार्यकर्ता कमल सुस्लिङ मगरले मेरो हस्ताक्षर किर्ते गरी म हाम्रो नेपाल कम्युनिस्ट पार्टी (बहुमत) परित्याग गरी रौतहट जिल्ला समितिसहित नेकपा विप्लवमा आबद्ध भएको भनेर नक्कली विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रषण गरेको विषयप्रति खेद व्यक्त गर्दछु र दार्शनिक क्षेत्रमा सारसङ्ग्रहवाद, राजनीतिक क्षेत्रमा संसदीय संशोधनवाद, सङ्गठनका क्षेत्रमा निषेधात्मक अधिभूतवाद, सङ्घर्षका क्षेत्रमा आत्मसुरक्षावाद, आर्थिक क्षेत्रमा जुझारु अर्थवादको गम्भीर समस्या विप्लवमा देखिएको साथै केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकको– दलाल पुँजीवादी सत्ताको निर्वाचनमा नजाने निर्णय उल्लङ्घन गर्दै केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीलाई कथित निर्वाचनमा उठाउने गम्भीर गल्ती गरेका कारण यस्तो नगर्न तत्कालीन सचिवालय सदस्य कमरेड कञ्चनले अपिल गर्दा उल्टै तत्कालीन महासचिव विप्लवले कमरेड कञ्चन र कमरेड सुदर्शनलाई कारबाही गरेपछि हामी देशैभरिका नेता–कार्यकर्ताहरूको विशेष राष्ट्रिय भेलाले कमरेड कञ्चनको संयोजकत्वमा नेकपा (बहुमत) पुनर्गठन गरी नवौँ महाधिवेशनको तयारीमा जुटिरहेका छौँ ।’

राईले विज्ञप्तिमा भनेका छन्, ‘यसबाट अत्तालिएका विप्लवका कार्यकर्ताहरू नेकपा (बहुमत) का विरुद्ध देशभरि विषबमन गर्दै हिँडेका छन् । त्यसको ज्वलन्त उदाहरण विप्लवका कार्यकर्ताले गरेको किर्ते हस्ताक्षर प्रकरण हो । यस्तो अनैतिक, अराजनीतिक कार्य आगामी दिनमा नदोहोर्याउन सम्बन्धित पक्षलाई सुझाव दिँदै म र रौतहट जिल्ला समितिका सम्पूर्ण कमरेडहरू नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा नै रहेको स्पष्ट पार्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :