विप्लवले भनेजस्तो संसदीय चुनावबाट होइन, हामीले तयारी गरेजस्तो क्रान्तिको मैदानबाट समाजवाद आउँछ : कञ्चन

नेकपा (बहुमत) कर्णाली ब्युरोको प्रशिक्षण सम्पन्न

सुर्खेत : नेकपा (बहुमत) कर्णाली ब्युरोको प्रशिक्षण आइतबार सम्पन्न भएको छ ।

नेकपा (बहुमत) का संयोजक कञ्चनले कर्णाली ब्युरोभरिबाट उपस्थित नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै विचार र राजनीतिको बहुमत आफूहरूसँग भएकाले यसले राम्रो सन्देश प्रवाह गरिरहेको बताए । नेकपामा हुँदा पनि आफूहरू अत्यधिक बहुमतमा रहेको प्रस्ट पार्दै संयोजक कञ्चनले भने, ‘विप्लवजीले सजिलैसँग हिजो चुनावको बहिष्कार गर्यौँ, अब अहिले चुनावको प्रयोग गर्दछौँ भने जब कि यो भनेको पार्टी र क्रान्तिको जीवनमरणको कुरा थियो । चुनावबाट समाजवाद आउँदैन । त्यसले सत्तामा हस्तक्षेप गर्दैन । विप्लवले चुनावमा गयो भने ३ लाख भोट आउँछ भने । त्यसले थ्रेसहोल्ड पूरा गर्दछ भनेर संसदीय व्यवस्थाको वैधानिक पार्टी बनाउन सजिलो हुन्छ भन्ने भित्री उद्देश्य रहेछ । संसदीय चुनावमा भाग लिनु सैद्धान्तिक रूपमा गलत छ । विप्लवजीहरू चुनावमा भाग लिन पुगे । संसदीय व्यवस्थामा उनीहरूको प्रवेश मात्र भयो ।’

संयोजक कञ्चनले प्रशिक्षण दिँदै भने, ‘पार्टी चुनावमा नजाने एकमतले पारित गरेको ४ दिनपछि चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणमा विप्लवले प्रतिवेदनकै उल्लङ्घन गरे । मैले विप्लवलाई भनेँ– तपाईं जनप्रिय पार्टीको महासचिव हुने कि अराजकहरूको नेता हुने ? कार्यनीति क्रान्तिकारी हुने तर नेता विप्लव दक्षिणपन्थी हुनु अन्तर्विरोध भयो भनेका थियौँ । विगत ८ वर्षमा हामीलाई धेरै अनुभव र शिक्षा प्राप्त भएको छ । अब भने क्रान्तिको कार्यदिशा, कार्यनीति, कार्यनीतिक कार्यक्रम सङ्गतिमा रहेको छ ।’

संयोजक कञ्चनले प्रशिक्षण दिँदै भने, ‘चुनबाङमा पुग्दा जनयुद्धले नयाँ कार्यदिशा माग गरेको थियो । प्रचण्डले विकास गर्न सकेनन् । त्यसैले सम्झौतामा लगेर टुङ्ग्याइयो । विप्लवको सीमित बुद्धिले व्याख्या गरेको समाजवाद व्यक्तिवादी चेत मात्र थियो । विप्लवले हामीलाई ७ दिन बहस गर्नेबित्तिक्कै झोला बोकेर हिँडे भन्नु गलत हो । चैत १४ गतेदेखि बहसपछि बहस भएको छ । उनीहरूले पदमुक्त गरेको भनी वक्तव्य निकालेपछि पनि भेटेर कुरा गरौँ भनेका थियौँ । तर उनीहरू मुसाको दुलामा पसेको जस्तो कोही पनि बाहिर निस्किएनन् ।’

संयोजक कञ्चनले प्रशिक्षण दिँदै अगाडि भने, विप्लवजीहरू अहिले नीमकाठको चोपबाट बनेको फोकाजस्तो भएका छन् । लेनिनले उग्र वामपन्थी भड्काव उग्र दक्षिणपन्थी भड्कावमा पुगेर सकिन्छ भनेजस्तो भयो विप्लवजीहरूको जीवनमा पनि । नेपालमा हामीले क्रान्ति गर्नु छ, चटक देखाउनु छैन । विप्लवले नीतिगत रूपमा वैज्ञानिक समाजवाद छोडेका छन् । अब बाहिर भन्नुको कुनै औचित्य रहेन । हामीलाई स्वाधीन देश चाहिएकाले स्वाधीन संयुक्त सरकारको कुरा गरेका हौँ । विप्लवहरू ज्यामितीय तथ्यहरूबाटै संसद्वादी भएको पुष्टि भएको छ ।’

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले तेस्रो महाधिवेशनसम्म पार्टी एउटै रहेको तर त्यसपछि पार्टी टुटफुट हुन थालेको इतिहास र सन्दर्भहरू प्रस्ट पारे । उनले इतिहासका सन्दर्भहरू उठाउँदै भने, ‘मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीहरूले झापाको ज्यामिरगढीमा वर्गशत्रु सफाया अभियान सुरु गरे । त्यसका विरुद्ध मोहनविक्रम सिंहले उग्रवामपन्थी भड्काव भन्ने पुस्तक नै लेखेका थिए । नेपालको कम्युनिस्ट आन्दोलन नै विभाजन टुटफुटबाट गुज्रिएको हो । पुष्पलालको कमजोरी भनेको कुशलतापूर्वक क्रान्तिको नेतृत्व गर्न नसक्नु मात्र हो । सेक्टर काण्डपछि २०४६ सालमा चितवनमा आयोजित राष्ट्रिय सम्मेलनबाट मात्र प्रचण्ड पार्टी महामन्त्री बनेका हुन् ।’

उनले अगाडि भने, ‘विगतमा आन्दोलन क्रान्तिकारीले गर्ने, दुरुपयोग अवसरवादीहरूले गर्ने गरेका छन् । पृथ्वीनारायण शाहपछि सबैभन्दा बढी जनपरिचालन जनयुद्धमा भएको थियो । तर १२ बुँदे भएपछि जनयुद्धको विसर्जन भयो । विप्लवजी एकीकृत जनक्रान्तिलाई सामरिक कार्यदिशा भन्ने गर्थे । एकीकृत जनक्रान्तिमा सचिवालयका ५ जनामै एकरूपता भएन । मुख्य प्रस्तावकले कार्यदिशाको कहिल्यै व्याख्या गरेनन् । फौजी रूपमा विप्लवले सिकाएको र प्रकाण्डले निर्देशन दिएको राती कारबाही गर्ने र दिउँसो पैसा माग्ने गरियो । तर महासचिवले कहिल्यै वक्तव्य निकालेर जिम्मेवारी लिएनन् । उनी अहिले जेलमा रहेका साथीहरूलाई छुटाउने काममा नकारात्मक भूमिका निर्वाह गरिरहेका छन् । यस्ता सबै घटनाको विस्फोट चुनावी कार्यनीतिमा भयो । क्रान्तिका क्रममा जीवन गुमाउनेलाई बिर्सन सकिँदैन ।’

नेकपा (बहुमत) का केन्द्रीय कार्यालयका सचिव मुकुन्दले नेता–कार्यकर्तालाई राजनीतिक वैचारिक प्रशिक्षण दिँदै भने, ‘विप्लवले योजना बनाएर सङ्घर्षमा पठाउँदा जेल परेका साथीहरूको फोन उठाउन छाडेका गुनासो आइरहेका छन् । कसैको धरौटी दिइएको छैन । जनयुद्धपछाडि अहिले हामीले मात्र क्रान्तिको कार्यदिशा, कार्यनीति र कार्यनीतिक कार्यक्रम व्यवस्थित गरेका छौँ ।’

प्रशिक्षण दिँदै नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य दीपकले भने, ‘एक्लै क्रान्ति गर्छु भन्ने सोचाइ पुँजीवादी सोचाइ हो । त्यो सोचाइ विप्लवमा देखापर्यो । बहाद्र भएर जितिने होइन, इमानदार भएर जितिने हो । दुईचारजना मान्छेले मात्र क्रान्ति गर्दैनन् ।’

नेकपा (बहुमत) क नेता दीपकले अगाडि भने, ‘सबै कुरा पुर्याएर नेतृत्व गर्छु भन्नु विप्लवको गद्दारी हो । एउटा महासचिवको घरमा २ वर्षसम्म साथीहरू गहुँ काटेर बस्दा नयाँ मान्छे पार्टीमा कसरी भर्ना हुन आउँछ ? ८—८ वर्षसम्म तयारी गर्न नसक्ने क्रान्ति कस्तो क्रान्ति हो ? संसदीय व्यवस्थामा मन्त्री बन्न पठाएर वा पालिकामा पठाएर क्रान्तिको तयारी हुन्छ ? हामीले जनसङ्घर्ष, प्रतिरोध सङ्घर्ष र जनविद्रोहको नीति बनाइएको छ । विप्लवले एनसेलको घटनालाई लिएर अन्तर्राष्ट्रयमा मुद्दा हालेको छ भनेर डराएका छन् ।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता गरेका नेकपा (बहुमत) कर्णाली ब्युरो इन्चार्ज समरजङ्गले भने, ‘विप्लव एक्लैले क्रान्ति गर्छु भन्ने एक्ले वीरको भ्रम छरिएको छ । रोल्पाको इरिबाङमा जन्मिएको एउटा ठकुरीको छोरो नेत्रबहादुर चन्दले जनयुद्धकालमा भन्ने गर्दथे– एकजना मास्टरले क्रान्तिको नेतृत्व प्रचण्ड बनेर गरे तर जनयुद्धलाई बीचैमा छाडे । त्यसैले अब म नेतृत्व गर्छु । अहिले उनी पनि प्रचण्डभन्दा भद्दा खालको संसदीय संशोधनवादी बन्न पुगे ।’

प्रशिक्षण कार्यक्रमको सञ्चालन नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य धमिलले गरेका थिए । कार्यक्रममा पार्टी सल्लाहकार लीलाधर गौतम, क्षितिज र रगवीरको आतिथ्य रहेको थियो । प्रशिक्षणमा सहभागीहरूलाई आर्जनले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :