विप्लवहरू संसद्‌वादी भइसकेका छन्, उनीहरूले संसद्‌वादलाई मात्र सघाउन सक्छन् : कञ्चन

नेकपा (बहुमत) लुम्बिनी ब्युरोको प्रशिक्षण सम्पन्न

विप्लवहरू संसद्‌वादी भइसकेका छन्, उनीहरूले संसद्‌वादलाई मात्र सघाउन सक्छन् : कञ्चन

बुटवल : नेकपा (बहुमत) लुम्बिनी ब्युरोको प्रशिक्षण रूपन्देहीको बेलबासमा सम्पन्न भएको छ ।

नेकपा (बहुमत) का संयोजक कञ्चनको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न प्रशिक्षणमा पार्टी प्रवक्ता सुदर्शन, पार्टी केन्द्रीय कार्यालय सचिव मुकुन्द, नवौँ महाधिवेशन आयोजक समितिकी सदस्य अञ्जना अतिथिका रूपमा सहभागी थिए । अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको प्रशिक्षणको अध्यक्षता पार्टी सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले र सञ्चालन आयोजक समिति सदस्य गतिले गरेका थिए । प्रशिक्षणमा सहभागीहरूलाई शीतलले स्वागत गरेका थिए ।

प्रशिक्षण दिँदै नेकपा (बहुमत) का संयोजक कञ्चनले विप्लवले नेताको सुरक्षाका लागि चुनावमा जानुपर्छ भन्ने आत्मसुरक्षावादी प्रस्ताव गरेको बताए । उनले अहिले हाम्रा कार्यकर्ता घोडाको टमटम लगाएकाजस्ता रहेको र सचिवालयका पाँचैजनाले एक मतले चुनावमा जाने कुरा गरियो भने उनीहरू सबै चुनावमा होमिन्छन् र जितिन्छ भनेर कार्यकर्तालाई होच्याएको पनि बताए ।

नेता कञ्चनले भने, ‘अब विप्लवहरूले सङ्घर्ष गरे भने संसदीय व्यवस्थालाई मात्र बलियो बनाउँछ किनभने उनीहरू संसद्‌वादी भैसकेका छन् । विप्लवले पैसा उठाउन सङ्घर्ष गरेका थिए । मोलमोलाइका लागि बम पड्काउन लगाएका थिए । विप्लवले पार्टी छोडे पनि क्रान्तिको रथ रोकिँदैन, अगाडि बढ्छ । त्यही भएको हो । विप्लवले क्रान्ति छोडेकाले अब क्रान्ति हुँदैन भन्नु अधिभूतवादी सोचाइ हो ।’

विप्लवले सङ्घर्षलाई पनि क्रान्ति भनेको र उनलाई सङ्घर्ष र क्रान्तिको अर्थ नै थाहा नभएको संयोजक कञ्चनले बताए । कञ्चनले भने, ‘उनले क्रान्ति र युद्ध एउटै हो भन्ने गरेका छन् । क्रान्ति भनेको परिवर्तन हो । व्यक्तिको हातमा लालपुर्जा हुनु सामन्तवादी प्रणाली हो ।’

लुम्बिनी ब्युरोका नेता–कार्यर्तालाई प्रशिक्षण दिँदै पार्टी प्रवक्ता सुदर्शनले दसको दशकमा तुलसीलालले कुन बाटो भन्ने दस्ताबेज तलसम्म पठाएको स्मरण गराए । विप्लव–प्रकाण्डले आठौँ महाधिवेशनमा लेखिएको सजातीयहरूबीचको अन्तरविरोधको विषयलाई तोडमोड गरी आफ्नो आलोचना गर्नेहरूलाई पार्टी सङ्गठनबाट निकालिदिएको र क्रान्तिमार्ग विसर्जन गरी संसदीय संसद्‌वादी बनेकाले विद्रोह गरी पार्टी पुनर्गठन गर्नुपरेको बताए ।

नेता–कार्यकर्तालाई राजनीतिक वैचारिक प्रशिक्षण दिँदै नेकपा (बहुमत) का कार्यालय सदस्य मुकुन्दले विप्लव–प्रकाण्डले कहिल्यै पनि क्रान्तिको तयारी नगरेको र पैसा उठाउनका लागि बेलाबेलामा सङ्घर्ष गरेजस्तो देखाएको प्रस्ट पारे ।

प्रशिक्षणमा मन्तव्य राख्दै महाधिवेशन आयोजक समिति सदस्य एवम् अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी संयोजक अञ्जनाले महिलाले पाउनुपर्ने ४ वटा अधिकार रहेको र मुख्य रूपमा क्रान्तिका लागि आफ्नो बाटो स्पष्ट हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :