महँगीका विरुद्ध नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा प्रदर्शन

महँगीका विरुद्ध नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा प्रदर्शन

विराटनगर : दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा महिला हिंसाका विरुद्ध आज विराटनगरमा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध प्रदर्शन गरेका छन् ।

विराटनगरको संसरीमास्थानबाट निस्केको विरोध जुलुसमा बढ्दो महँगी नियन्त्रण गर, दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण गर, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, सम्पूर्ण नागरिकका आधारभूत अधिकार सुनिश्चित गर, कालोबजारिया र भ्रष्टाचारीलाई कारबाही गरौँ, संसदीय व्यवस्था मुर्दावादलगायत नारा लगाइएको थियो । बजार परिक्रमा गरी जुलुस कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभामा सम्बोधन गर्दै नेकपा (बहुमत) का नेता भानु परदेशीले प्रतिक्रियावादी निर्वाचनमा गरिएको खर्च उठाउन सरकारले महँगी बढाएको बताए । उनले छलछाम र षड्यन्त्रपूर्वक बढाइएको पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्य तुरुतै फिर्ता लिन चेतावनी दिए ।

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विद्रोहीले मजदुर, किसान तथा सुकुमबासीका विरुद्ध रहेको सरकारले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न नसक्ने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बहानामा पेट्रोलियम पदार्थको मूल्य बढाउन नहुने भन्दै करमा समायोजन गरेर नागरिकलाई सहुलियत दिनुपर्ने माग राखे । विद्रोहीले महिला हिंसा, महँगी, कालोबजारी, भ्रष्टाचार तथा मुलुकमा भएका सबै अन्याय–अत्याचारको मुख्य कारण दलाल संसदीय व्यवस्था भएकाले यसको विकल्पमा जनवादी गणतन्त्र आवश्यक रहेको बताए । सरकारले किसानलाई सहज रूपमा मल र बिउ उपलब्ध गराउनुपर्ने माग उनले राखे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :