कालोबजारीको मल कब्जा गरेर जनतालाई बाँडिदिने नेकपा (बहुमत) को चेतावनी

कालोबजारीको मल कब्जा गरेर जनतालाई बाँडिदिने नेकपा (बहुमत) को चेतावनी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीले प्रेस विज्ञप्ति जारी गर्दै किसानहरूका लागि आवश्यक कृषि सामग्री, मल बिउ, बिजन सरल, सहज र निष्पक्ष रूपमा सबै किसानसम्म उपलब्ध गराउन जोडदार माग गरेको छ । पार्टीका कैलाली जिल्ला कार्यालय सचिव अनमोलले विज्ञप्ति जारी गर्दै कालोबजारी गरेको मल फेलापरेमा कब्जा गरी किसानलाई वितरण गरिने र मल, बिउका कालोबजारियालाई सडकबाट कारबाही गर्ने चेतावनी दिएका हुन् ।

पार्टी कार्यालय सचिव अनमोलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली नेपाल कम्युनिस्ट पार्टी (बहुमत) विगतदेखि नै देश र जनताको हक, हित र अधिकारका लागि लड्दै आएको आमजनसमुदायलाई विदितै छ । पुँजीवाद हाल दलाल पुँजीवादमा रूपान्तरित भएको छ । दलाल पुँजीवादले आमश्रमजीवी जनताको श्रम, पसिना र रगत शोषण गर्ने काम गरिरहेको छ । दलाल राज्यसत्ताले आज व्यापारी, व्यवसायी, कथित जनप्रतिनिधिलगायत विभिन्न सङ्घ, संस्थाहरूलाई समेत दलाल बनाउन सफल भएको छ । यो दलाल पुँजीवादले आज सम्पूर्ण उपभोक्ता, निम्न वर्ग, किसान र मध्यम वर्गलाई शोषण गरिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल पुँजीवादी सत्तामा विशेषगरी आममजदुर, किसान, गरिब जनता र उत्पादक शक्तिहरू बढी मारमा पर्दै आइरहेका छन् । हाम्रो देश कृषिप्रधान देश हो तर राज्यले आजका मितिसम्म किसानहरूलाई सम्मान गर्न सकेको छैन, बरु उल्टै उत्पीडन र उपेक्षाका साथ मौलिक अधिकार कुण्ठित गर्दै आएको छ । मानवजीवन रक्षाका निमित्त आवश्यक खाद्यान्न उत्पादन क्षेत्र कृषि हो तर यहाँ कृषि पेसामा आवश्यक कृषि सामग्रीहरूलाई सरल, सहज, सहुलियत र अनुदानित बनाउनुको सट्टा अभाव, कालोबजारी र महँगी गराइएको छ । मलको अनुमति पाएका कृषि सामग्री केन्द्र लिमिटेड, बिउबिजन कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले मल ल्याउन छोडेर अन्य कम्पनीको अवैध मल बजारमा भेटिएको छ । राज्यले हरेक वर्ष बजेट भाषणमा करोडौँ रकम मल खरिद गर्न छुट्ट्याउँछ, किसानलाई अनुदान छुट्ट्याएको मल कालोबजारियाले बजारमा कृत्रिम अभाव उत्पन्न गरी मूल्यभन्दा दोब्बर–तेब्बर मूल्यमा बेचेको पाइएको छ । किसानलाई मल आवश्यक पर्ने बेलामा जहिले पनि कृत्रिम अभाव उत्पन्न गरी कलोबजारी गर्न राज्य नै लागिपरेको देखिएको छ । यस्तो कालोबजारी रोक्न र समयमा किसानलाई मल, बिउ उपलब्ध गराउन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टी सम्बन्धित निकायलाई आमकिसान र जनताको भविष्यमाथि खेलबाड नगर्नका लागि ध्यान आकर्षण गराउन चाहन्छ । आवश्यक मल, बिउको समस्या सम्बोधन गरी मल, बिउ पूर्ति गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । मल र बिउको कालोबजारीसँग जोडिएका कम्पनी र व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन, अनुमति दिएका कम्पनीमार्फत मल, बिउको सहजीकरण गर्न पनि माग गर्दछ । अन्यथा कालोबजारी गरेको मल फेलापरेमा कब्जा गरी किसानलाई वितरण गरिने प्रतिबद्धता पनि जाहेर गर्दछौँ । मल, बिउका कालोबजारियालाई सडकबाट कारबाही गर्ने पनि जानकारी गराउँछौँ । अन्त्यमा किसानहरूका लागि आवश्यक कृषि सामग्री, मल बिउ, बिजन सरल, सहज र निष्पक्ष रूपमा सबै किसानसम्म उपलब्ध गराउन जोडदार माग गर्दछौँ । अन्यथा सङ्घर्षमार्फत निस्कने परिणामको भागीदार स्वयम् सम्बन्धित निकाय हुनेसमेत जानकारी गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :