गल्ती महसुस गर्दै सुध्रिएर आउन विप्लवलाई नेकपा (बहुमत) का संयोजक कञ्चनको सुझाव

नेकपा (बहुमत) बागमती ब्युरोको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

गल्ती महसुस गर्दै सुध्रिएर आउन विप्लवलाई नेकपा (बहुमत) का संयोजक कञ्चनको सुझाव

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले विप्लव सुध्रिएर आएमा पार्टीमा लिन सकिने बताएका छन् । नेकपा (बहुमत) बागमती ब्युरोद्वारा आइतबार काठमाडौँमा आयोजित राजनीतिक तथा वैचारिक प्रशिक्षणमा प्रमुख अतिथिका रूपमा प्रशिक्षण दिँदै संयोजक कञ्चनले विप्लव दार्शनिक, राजनीतिक, आर्थिक सबै पक्षमा बिग्रिएको र नेकपा (बहुमत) सँग मिल्ने भए उनी विधिसम्मत ढङ्गले सुध्रिएर आउनुपर्ने बताएका हुन् । उनले संसद्‌वादी, पलायनवादी बाटो रोजेका विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेर आफूहरूले इतिहासको एउटा महत्वपूर्ण जिम्मेवारी समाल्नुपरेको पनि बताए । लेनिनको भनाइ उद्धरण गर्दै संयोजक कञ्चनले भने, ‘सिद्धान्तमा सम्झौता गरेर बस्नुभन्दा फुट धेरै श्रेयस्कर हुन्छ ।’

विप्लवमा पुष्टि, प्रमाणित र कार्यान्वयन गर्नु नपर्ने निम्न पुँजीवादी रोमान्स देखिएको र क्रान्ति खाडलमा जान लागेपछि पार्टीका अत्यधिक बहुमत केन्द्रीय सदस्यले उनको संसद्‌वादी संशोधनवादी धारबाट विद्रोह गरेर वैज्ञानिक समाजवादी क्रान्ति गर्ने दृढताका साथ पार्टी पुनर्गठन गरेको संयोजक कञ्चनले बताए । विप्लवसँग रहँदा पार्टी स्थायी समितिमा वैचारिक विषयमा कहिल्यै पनि छलफल नभएको र उनले कहिल्यै अरूको कुरा नसुनी मनोगत रूपमा आफूलाई जे मन लाग्यो त्यसैलाई कहिले कार्यदिशा, कहिले कार्यनीति, कहिले सैन्य नीति भनेर एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोला बनाएर आठ वर्ष बरबाद पारेको पनि उनले बताए ।

पार्टी केन्द्रीय समितिको निर्णयविपरीत रणनीतिका रूपमा चुनाव उपयोगको कार्यक्रम प्रस्तुत गरेका विप्लवको राजनीतिक प्रतिवेदनलाई अत्यधिक बहुमत केन्द्रीय सदस्यले अस्वीकार गरेपछि सहमतिमा बनाइएको नयाँ कार्यनीतिसमेत उल्लङ्घन गरेपछि उनलाई आत्मालोचना गर्न र मार्गप्रशस्त गर्न सुझाव दिँदा ‘विप्लवले महासचिवबाट राजीनामा दिने कुरा सपनामा पनि नसोच्नुस्’ भनेपछि उनी नसुध्रिने ठहर गर्दै विद्रोहको झन्डा उठाउनुपरेको पनि संयोजक कञ्चनले बताए । दार्शनिक, राजनीतिक, वैचारिक, साङ्गठनिक, आर्थिक रूपमा सारसङ्ग्रहवादी, निषेधात्मक अधिभूतवादी, आत्मसुरक्षावादी र जुझारु अर्थवादी प्रवृत्ति रहेका विप्लवको मनमस्तिष्कमा समाजवादसम्म पुग्ने कुनै पनि कार्यक्रम नरहेको पनि उनले बताए । विप्लव अत्यन्तै डरपोक र आत्मसुरक्षावादी रहेको पनि उनले बताए । उनले भने, विप्लव बाघको छाला आढेका कुखुराचोर स्यालजस्तै हुन् । उनको उग्र वामपन्थी खोलभित्रको दक्षिणपन्थी चरित्र बल्ल खुलेको छ ।’ एकीकृत जनक्रान्तिको कार्यदिशालाई कुहिरोमा रुमल्लिएको बटुवाजस्तो बनाएर उनले महाधिवेशनले निर्वाचित गरेका ६५ मध्ये ३४ जना केन्द्रीय सदस्यलाई विभिन्न आरोप लगाउँदै पार्टीबाट हटाएको पनि संयोजक कञ्चनले बताए । ‘कार्यकर्ताले सङ्घर्ष गरेर, जेल गएर, मुद्दा खेपेर भ्रष्टहरूमाथि कारबाही गर्छ । उनी मान्छे पठाएर रकम उठाउँछन् र भित्रभित्रै नदेखिने गरी थुपार्छन् । उनले कति पैसा कहाँकहाँ राखेका छन् भन्ने कुरा प्रकाण्डबाहेक अरूलाई थाहै दिएका छैनन्’, संयोजक कञ्चनले भने ।

एकीकृत जनक्रान्तिको टाउकाले टेकेको कार्यदिशालाई उल्ट्याएर आफूहरूले खुट्टाले टेकाएको र जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवादी कार्यदिशा तय गरेको भन्दै संयोजक कञ्चनले स्वाधीन समृद्ध सरकारको कार्यनीतिले दलाल संसद्‌वादी सत्ताको अन्त्य गराउन जनतालाई प्रेरित गर्ने पनि स्पष्ट पारे । समाजको अस्थिरताको जग नै संसदीय व्यवस्था रहेको, केही सांसदको भरमा प्रधानमन्त्री वा राष्ट्रपति फेरिने हुँदा समाज सदैव अस्थिर रहिरहने भएकाले जननिर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्थाका लागि जनताले सङ्घर्ष सञ्चालन गर्नुपर्ने उनले प्रस्ट पारे । समाजका विज्ञहरूबाट निर्माण हुने सरकारले मात्र विकास गर्नसक्ने र जननिर्वाचित न्यायालयले निष्पक्ष न्याय दिनसक्ने उनले बताए । दलाल संसदीय व्यवस्थामा निर्मित दलाल सरकार र सत्ता हटाएर समाजवादी सत्ता स्थापनाका लागि जनदबाब, जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोह उठाउनुपर्ने पनि नेता कञ्चनले प्रशिक्षणका क्रममा प्रस्ट पारे ।

ब्युरोका तीन सय हाराहारी जिल्ला सदस्यहरूलाई राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले अरू विचारका पार्टी, शक्ति र व्यक्तिले जस्तै नेपालको कम्युनिस्ट आन्दोलनका नेताहरूले पनि वर्गसङ्घर्षमा धोका दिएकाले विप्लव–प्रकाण्डलाई कारबाही गरी पार्टी पुनर्गठन गर्नुपरेको बताए । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको इतिहासदेखि पार्टी विद्रोहपछि निर्मित नेकपा (बहुमत) को कार्यदिशा, कार्यक्रम र कार्ययोजनाका बारेमा प्रस्ट पारेका प्रवक्ता सुदर्शनले मनमोहन, केशरजङ्ग रायमाझी, मदन भण्डारी हुँदै प्रचण्ड र विप्लवसम्म पनि देश, जनता र सर्वहारा वर्गलाई धोका दिँदै संसद्‌वाद स्वीकार गरेर चुनावमा गएको बताए ।

विप्लवले एकीकृत जनक्रान्तिको प्रस्तावक भएर पनि एकपल्टसमेत यसको व्याख्या गर्न नसकेको र बारम्बार गोलमटोल जबाफ दिँदै कार्यकर्तालाई गुमराहमा राखेको भन्दै प्रवक्ता सुदर्शनले आफूलाई योजनामै गिरफ्तार गराएर जेल हालेको पनि खुलस्त पारे । आफूलाई गिरफ्तार गराएर जेल हाल्न लगाउनेहरूलाई कारबाही गर्न किटानी जाहेरी दिए पनि विप्लवले उनीहरूको संरक्षण गरेको नेता सुदर्शनले बताए । केही पात्रहरू खटाएर भ्रष्टहरूसँग रातभर दलाली गर्न र पैसा नदिएपछि भोलिपल्ट कारबाही गर्न लगाएर उनले रकम जम्मा गर्ने गरेको रहस्य पनि सुदर्शनले उद्घाटन गरे । उनले भने, ‘आफ्नै पीएसओले बोकेको पेस्तोल तेस्र्याएर पनि कयौँबाट रकम असुल गरेका छन् । यसको रहस्योद्घाटन बिस्तारै हुन्छ । त्यसपछि उनीहरू आफ्नो गलत कर्मका कारण पत्तासाफ पनि हुन्छन् ।’

संसदीय व्यवस्था गुन्डाहरूको व्यवस्था रहेको प्रस्ट पार्दै प्रवक्ता सुदर्शनले बन्दुक र पैसाले भोट हाल्ने व्यवस्थाबाट देश र जनताको मुक्ति कहिल्यै सम्भव नहुने पनि स्पष्ट पारे । जनयुद्धका कार्यभार पूरा गर्न र वैज्ञानिक समाजवाद हुँदै साम्यवाद स्थापना गर्न वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा अघि सारिएको पनि उनले बताए । सिङ्गो पार्टी पङ्क्तिलाई राष्ट्रघाती, जनतामारा संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी क्रान्तिका पक्षमा झोकिन पनि उनले निर्देशन दिए ।

नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य दीपकले नेकपा (बहुमत) निर्माण गर्नु एक विद्रोह र नयाँ सङ्कल्प रहेको बताए । यो पार्टीको मात्र नभएर क्रान्तिकै पुनर्गठन भएकाले सम्पूर्ण नेता–कार्यकर्ता प्रचण्डदेखि विप्लवसम्मले गरेको वर्गघातलाई ध्यानमा राखेर वैज्ञानिक समाजवादी क्रान्तिमा लामबद्ध हुनुपर्ने दीपकले बताए ।

राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेकपा (बहुमत) बागमती ब्युरोका इन्चार्ज शरदले गरेका थिए भने सञ्चालन नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य रामबहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई आयोजक समितिका सदस्य एवम् काठमाडौँ संयाेजक सङ्गमले स्वागत गरेका थिए । कार्यक्रममा पार्टी कार्यालय सचिव एवम् पार्टी केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरो इन्चार्ज मुकुन्द, पार्टी सचिवालय सदस्य एवम् कर्णाली ब्युरो इन्चार्ज प्रवीण, पार्टी केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरो संयोजक अशोक सुवेदी, केन्द्रीय सल्लाहकार समितिका सदस्य ढुण्डीराज अधिकारी, महाधिवेशन आयोजक समितिका सदस्यहरू देवकला, आकाश, भीम, अविरल, सुदृष्टि, खेम थपलिया, हरि श्रेष्ठ, विनोद थापा, सुनीता बम, रोजन, केबी मल्ल, रणबहादुर विक, नरेन्द्र विक, प्रताप, टङ्क, पावेललगायत सहभागी थिए ।

प्रशिक्षण कार्यक्रममा विप्लव नेतृत्वको नेकपा, नेकपा माओवादी केन्द्रलगायत पार्टीबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा ध्रवीकृत भएका वासु पाठक, आइस, कृष्णहरि घिमिरे, हेम सुनुवार, एलके रायमाझीलगायतलाई पार्टीका संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले टीका लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :