कैलालीमा पनि बढारियो विप्लव समूह, सम्पूर्ण पार्टी नेता र जवस नेकपा (बहुमत) तिर

कैलाली : कैलालीमा पनि विप्लव समूह बढारिएको छ । अधिकांश जिल्लामा उक्त समूहबाट विद्रोह गरी नेकपा (बहुमत) मा लामबद्ध हुने क्रम बढिरहेको छ । अखिल क्रान्तिकारी कैलालीका कावा अध्यक्ष सुनील भुल, युवा सङ्गठन नेपाल कैलालीका अध्यक्ष तथा सङ्गठनका केन्द्रीय सदस्य दीपशिखा, जनपत्रकार सङ्गठन कैलालीका अध्यक्ष राजन जगैडी, श्रमिक समुदाय मोर्चा नेपाल कैलालीका अध्यक्ष भानु परियार, अखिल नेपाल किसान महासङ्घ कैलालीका अध्यक्ष उदयराम थापा, राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ कैलालीका संयोजक विक्की ओझा, अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ कैलालीका अध्यक्ष विनोद अधिकारी, साइबर सेना नेपाल कैलालीका संयोजक अभियानलगायतले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु पूरै सङ्गठनसहित संसदीय संशोधनवादी विप्लव समूहबाट विद्रोह गरी नेकपा (बहुमत) मा लामबद्ध भएको जनाएका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीको १२ औँ पूर्ण बैठकको निर्णय र जिल्ला पार्टीको बैठकको निर्णयविपरीत गई यही संसदीय दलाल व्यवस्थाको स्थानीय निर्वाचनमा केन्द्रीय सदस्य नै उम्मेदवार बनाई काङ्ग्रेस, एमाले र राप्रपासँग समेत तालमेल गरी एकीकृत जनक्रान्तिको प्रयोगका नाममा पार्टीलाई संसदीय व्यवस्थामा समाहित गर्दै इमानदार क्रान्तिकारी कार्यकर्तालाई चुनाव लडाउने नाममा प्रहरीको गोली प्रहारबाट हत्यासम्म गरिएको कुरा अवगत नै छ । विगतमा स्थानीय निर्वाचन पूर्ण रूपमा खारेजीका नाममा धनरूप बटाला र सनराइज, प्रतिबन्धको बीचमा कुमार पौडेल, निरकुमार राईलगायतले आफ्नो जीवन नै अर्पण गर्नुपर्यो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पार्टीलाई यो स्थितिमा पुर्याउन नेतृत्वले कुनै कसर नछोडेकाले कमरेड कञ्चन र सुदर्शनले नेतृत्वलाई सच्याउने प्रयास गर्दागर्दै उल्टै उहाँहरूलाई पदमुक्त गरेर ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तविपरीत निषेधात्मक कार्य गरेकाले विशेष राष्ट्रिय भेलाले पार्टी पुनर्गठन गर्दै नेपाली क्रान्तिको झन्डा उठाएकाले अन्ततः आजका मितिदेखि हामी संयुक्त रूपमा जिल्लाका पदाधिकारी र सम्पूर्ण तहका समितिहरू नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा समाहित भएको यसै संयुक्त विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :