प्रधानमन्त्री, मुख्यमन्त्री कार्यालयमा धर्ना र आयल निगम घेराउदेखि चक्काजामसम्म सशक्त आन्दोलन

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध नेकपा (बहुमत) ले गर्यो सङ्घर्ष घोषणा

प्रधानमन्त्री, मुख्यमन्त्री कार्यालयमा धर्ना र आयल निगम घेराउदेखि चक्काजामसम्म सशक्त आन्दोलन

काठमाडौँ : नेकपा (बहुमत) ले सरकारले पेट्रोलिमय पदार्थलगायत उपभोग्य साधनमाथि निरन्तर गरिरहेको मूल्य वृद्धिको विरोध गर्दै जेठ १० देखि २२ गतेसम्म पहिलो चरणको सङ्घर्ष घोषणा गरेको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले सोमबार विज्ञप्ति जारी गर्दै जेठ १० गते देशभर सिठी जुलुस, १२ गते छड्के जुलुससहित कोणसभा, १४ गते देशैभरिका आयल निगम कार्यालयहरूमा धर्ना, १६ गते काठमाडौँमा प्रधानमन्त्री निवास बालुवाटार र सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना, १८ गते सिंहदरबार र पालिका कार्यालयहरूमा धर्ना, २० गते देशव्यापी मशाल जुलुस र जेठ २२ गते १० देखि ११ बजेसम्म चक्काजामको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धन सरकार गठन भएको पछिल्लो ७ महिनामा पेट्रोलियम पदार्थको मूल्य १० पटक बढाइएको छ । संसदीय व्यवस्थाअन्तर्गतको स्थानीय चुनावपछिका १० दिनमा २ पटक गरी पेट्रोलमा मात्र रु. १०–१० गरी रु. २० बढाइएको छ । त्यसैगरी डिजेल, मट्टीतेल, खाना पकाउने ग्याँसको मूल्य पनि त्यही अनुपातमा बढाइएको छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय स्तरमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले यसरी मूल्य वृद्धि गर्नु परेको कुतर्क प्रस्तुत गरेको छ जब कि अन्तर्राष्ट्रिय तेल–बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दाबढ्दै पनि आयल निगमकै तथ्याङ्कअनुसार पेट्रोलमा प्रतिलिटर रु ६३.२३, डिजेलमा रु.४५.९१ केवल कर÷शुल्क, ढुवानी खर्च, निगमको प्रशासनिक खर्च, बिमा खर्च, निगमको प्राविधिक नोक्सानी, बिक्रेता कमिसनजस्ता विभिन्न शीर्षक खडा गरेर वास्तविक मूल्यमा बोझ थोपरिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसरी विभिन्न शीर्षक बनाएर चर्को मूल्यमा उपभोक्तालाई पेट्रोलियम पदार्थ किन्न बाध्य पार्नु भनेको जनतामाथि दलाल संसदीय व्यवस्थाले लुटखसोट गर्नु हो । यसअघि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा हाम्रो पार्टीले भनेको थियो– पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा यातायात, ढुवानी, औद्योगिक तथा कृषि उत्पादन, स्वास्थ्य र शिक्षामा खर्च पनि स्वतः बढ्ने भएकाले यो बृद्धिले आमजनजीवन नै नकारात्मक रूपले प्रभावित हुन पुगेको छ । जनताले दैनिक जीवन गुजार्नका लागि मात्र पनि आफूसँग भएको चलअचल सम्पत्ति बेच्नुपर्दा गरिबीको सङ्ख्या बढ्दै गएको छ । तसर्थ हाम्रो पार्टी सरकारलाई पेट्रोलियम पदार्थलगायत सबै उपभोग्य वस्तुको मूल्य तुरुन्त घटाउन जोडदार माग गर्दछ । सरकारले बेलगाम पेट्रोलियम पदार्थको मूल्य बढाएकाले हाम्रो पार्टीले तपसिलका आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । उक्त कार्यक्रममा आमजनताको सहयोग, समर्थन र सक्रिय सहभागिता रहने अपेक्षा पनि राखेका छौँ ।’

तत्कालीन सङ्घर्षका कार्यक्रमहरू

२०७९ जेठ १० गते सिठी जुलुस
२०७९ जेठ १२ गते छड्के जुलुससहित कोणसभा
२०७९ जेठ १४ गते देशैभरिका आयल निगम कार्यालयहरूमा धर्ना
२०७९ जेठ १६ गते काठमाडौँमा प्रधानमन्त्री निवास बालुवाटार र सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना
२०७९ जेठ १८ गते सिंहदरबार र पालिका कार्यालयहरूमा धर्ना
२०७९ जेठ २० गते देशव्यापी मशाल जुलुस
२०७९ जेठ २२ गते १० देखि ११ बजेसम्म चक्काजाम

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :