पार्टी फुटाएर चुनावमा गएका विप्लव–प्रकाण्डले आफ्नै मतसमेत दिन पाएनन्

दुवै नेताका आफ्नै वडामा समेत शर्मनाक पराजय

पार्टी फुटाएर चुनावमा गएका विप्लव–प्रकाण्डले आफ्नै मतसमेत दिन पाएनन्

काठमाडौँ : दलाल पुँजीवादी सत्ताले आफ्नो रक्षाका लागि गराएको निर्वाचनमा जान पार्टी नै फुटाएका नेत्रविक्रम चन्द विप्लव र खड्गबहादुर विकले आफ्नै वडामा समेत नराम्रो पराजय बेहोरेका छन् भने दुवैजनाले मतदानसमेत गर्न पाएनन् । पार्टीको निर्णयविपरीत केन्द्रीय सदस्यलाई नै पुतली चिह्न लिएर चुनावमा उठाएका विप्लव र प्रकाण्ड दुवैको जिल्लादेखि वडासम्म नराम्रो पराजय भएको छ । कुनै पनि केन्द्रीय सदस्यले चुनाव जित्न नसक्दा र चौथो वा पाँचौँ स्थानमा खुम्चिनुु पर्दा ‘चुनावसम्म मात्र हो’ भनेर अल्मल्याइएका कार्यकर्ता पनि आफूहरूलाई झुक्याइएको भन्दै विप्लव–प्रकाण्डप्रति आक्रोशित बनेका छन् ।

दलाल पुँजीवादी सत्ताले गराएको चुनावमा जान मरिहत्ते गर्ने प्रकाण्डले पार्टी केन्द्रीय समितिको बाह्रौँ बैठकअघि नै चुनावमा सबै पार्टी एक हुँदा पनि कालीकोटमा एक्लै जित्ने दाबी गरेका थिए । तर उनले वडामा समेत लज्जास्पद हार बेहोरेका छन् । पार्टीलाई संसदीय दलदलमा लगेर र पार्टी नै फुटाएर चुनावलाई प्रतिष्ठा र जीवनमरणको विषय बनाएका विप्लव र प्रकाण्ड दुवै चुनावमा भएको लज्जास्पद हारको समीक्षा गर्नतिर नभएर स्रोतहरूको व्यवस्थापनमै लिप्त रहेको उक्त समूहभित्र रहेका असन्तुष्ट सदस्यहरूले बताएका छन् । ती असन्तुष्ट सदस्यहरूले विद्रोहका लागि छलफल गरिरहेको पनि स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘विप्लव–प्रकाण्ड एकातिर पार्टीलाई संसद्वादी बनाउन चाहन्छन् भने अर्कातिर चुनावमा गएको देखाएर स्रोतहरू व्यवस्थापन गर्ने ध्याउन्नमा छन् ।’

प्रकाण्डको घर रहेको वडामै उनी निकट कट विक ‘अखडा’ ले २०० मत मात्र प्राप्त गरेका छन् । अरू वडामा पनि कहीँ सात, कतै १० मत मात्र प्राप्त भएको र सर्वसाधारणले उक्त समूहलाई तिरस्कार गरेको देखिएको छ । प्रकाण्डको घर रहेको तत्कालीन गाविस माल्कोटमा उनको समूहका विशाल विकले १२ मत प्राप्त गर्नुले पनि उक्त समूहको शर्मनाक पराजयलाई देखाएको छ ।

पार्टी फुटाएरै चुनावमा गएका नेत्रविक्रम चन्दले पनि आफ्नै घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा समेत शर्मनाक पराजय भोगेका छन् । उक्त वडामा माओवादी केन्द्रका रामगोपाल चौधरी (थारू) ले ७ सय ८२ मत ल्याएर अध्यक्षमा जित हासिल गर्दा पुतली चिह्न पाएका उक्त समूहका मालबहादुर घर्तीमगरले मात्र ५ सय १७ मत प्राप्त गरेका थिए ।

शिवराज नगरपालिकामा विप्लव नेतृत्वको नेकपाबाट भेषराज भुसाल नगर प्रमुख पदमा उम्मेदवार छन् । उनको अवस्था पनि नाजुक छ । विप्लवले त्यस क्षेत्रमा सक्दो शक्ति र स्रोतको प्रयोग गरेको बताइएको छ ।

त्यस्तै कालीकोटको सेरापाटा मतदान केन्द्रमा मतदान गर्न परिवारसहित पुगेका प्रकाण्डले मतदाता नामावलीमा नाउँ नै नभएपछि मत हाल्न पाएनन् । विप्लव पनि त्यसैगरी मत दिन नपाएर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :