नेकपा (बहुमत) का संयोजक कञ्चनलाई पोखरादेखि नै पछ्याउन लगाइएको र कपिलवस्तु कटेपछि गिरफ्तार गराइएको तथ्य सार्वजनिक

नेकपा (बहुमत) का संयोजक कञ्चनलाई पोखरादेखि नै पछ्याउन लगाइएको र कपिलवस्तु कटेपछि गिरफ्तार गराइएको तथ्य सार्वजनिक

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई बुधबार साँझ पोखराबाट हिँड्नासाथ प्रहरीलाई पछ्याउन सुराकी गरिएको र कपिलवस्तु कटिसकेपछि दाङ प्रवेश गर्नासाथ गिरफ्तार गर्न लगाइएका तथ्यहरू सार्वजनिक हुन थालेका छन् ।

नेकपा (बहुमत) का संयोजक कञ्चन पार्टी पुनर्गठनपछि बुधबार कास्की जिल्लाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भई पश्चिमतर्फ यात्रा सुरु गर्नासाथ प्रहरीलाई जानकारी गराइएको र पुतली चुनाव चिह्न लिएको विप्लव समूहका नेताहरू बसेको कपिलवस्तु जिल्ला कट्नासाथ गिरफ्तार गराइएको स्रोतले उल्लेख गरेको छ । स्मरणीय छ, नेकपा पुनर्गठन र पार्टीमाथि प्रतिबन्ध लाग्नुघिदेखि नै विप्लव समूहको उच्च हैसियतमा रहेका, आफूलाई लेखक, पत्रकार तथा बुद्धिजीवी दाबी गर्दै आएका एकजना पात्रले एउटा रहस्यमय सञ्चारमाध्यमलाई एक सुराकीको सहारा लिएर पार्टीका गोप्य सूचना बेच्दै आएका थिए ।

स्रोतहरूका अनुसार नेकपा (बहुमत) का संयोजक कञ्चन पोखराबाट पश्चिमतर्फ लाग्नासाथ जनआस्था नाउँको अनलाइनले ‘विप्लवबाट फुटेका नेताहरू ना. ५ ख ३३७८ नम्बरको गाडीमा रातारात पोखराबाट प्रस्थान, निगरानीको निर्देशन’ शीर्षकमा राती पौने एघार बजे समाचार सम्प्रेषण गरेको थियो । उक्त सूचना प्रहरी र सञ्चारमाध्यमलाई एकैसाथ विगतमा पार्टीका सूचना बेच्ने विप्लव समूह निकट तिनै पात्रहरूद्वारा गराइएको थियो । विप्लव समूहका नेताहरू बसोबास गर्ने कपिलवस्तु जिल्लामा गिरफ्तार गराउँदा पार्टीमाथि नै आक्षेप आउने ठानेर ती सुराकीहरूले दाङमा केही पात्रहरू तैनाथ गरेर उक्त जिल्ला प्रवेश गर्नासाथ गिरफ्तार गराएको तथ्य बिहीबार बिहानै उक्त समूह निकट व्यक्तिहरूले सामाजिक सञ्जालहरूबाट सूचना प्रवाह गरेको र नेता कञ्चनलाई थाहै नदिई साखुल्ले बनेर रोहबरमा बसेको देखाउनुले प्रमाणित भएको पनि स्रोतहरूले उल्लेख गरेका छन् ।

पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कञ्चनले विप्लवमा उग्र वामपन्थी खोलभित्रको दक्षिणपन्थी अवसरवाद देखिएको बताएका थिए । उनले एकीकृत जनक्रान्ति सारसङ्ग्रहवादी भएको, मूल नेतृत्व निम्नपुँजीवादी रोमान्टिसिज्म र आत्मसुरक्षावादका साथै निषेधात्मक संसद्वादी संशोधनवादमा फस्दै जुझारु अर्थवादी बनेर क्रान्तिकारी मार्ग छोडेका कारण आफूहरूले पार्टी पुनर्निर्माण गर्दै क्रान्तिको झन्डा उठाउनु परेको बताएका थिए ।

आश्वासन, प्रलोभन, धम्की, छलछाम गरी रोकिएका केही कार्यकर्ता पनि विद्रोह गर्दै क्रमशः नेकपा (बहुमत) मा लामबद्ध हुन थालेपछि विप्लव समूह नाङ्गिँदै गएको थियो । नेकपा (बहुमत) का नेताहरूलाई कथित लिनप्याओवादी भनेर बदनाम गर्ने योजना असफल बनेपछि बुधबार बुटवलमा बम विस्फोट गराएर पर्चा छरिएको गलत सूचना सञ्चारमाध्यमलाई दिएर पछि भूल सुधार गर्न लगाइएको थियो । इलाका प्रहरी कार्यालय भालुबाङको प्रहरीले पोखराबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख ३३७८ नं. को बसमा यात्रा गरिरहेका नेता कञ्चनसहित तीनजनालाई गिरफ्तार गरेको थियो । राष्ट्रिय स्तरमै विरोध हुनुका साथै नेकपा (बहुमत) का नेता सुदर्शनले बिनासर्त रिहा नगरिए सङ्घर्ष गर्ने चेतावनीसहितको प्रेस विज्ञप्ति जारी गरेपछि संयोजक कञ्चनलाई रिहा गर्न प्रहरी बाध्य बनेको छ । कञ्चनको गिरफ्तारी र रिहाइसँगै एउटा गिरोहको नेकपा (बहुमत) विरुद्धको षड्यन्त्र र कलाविहीन प्रहसन भद्दा रूपले पटाक्षेप भएको छ भने षड्यन्त्रकारीहरूको योजनाको पर्दा खुलेको छ ।

विप्लव समूहले बिहीबार नै केन्द्रीय कार्यालयको नाउँमा विज्ञप्ति जारी गर्दै कञ्चन गिरफ्तारीकाण्डमा उक्त समूहका अनिल शर्माको नाउँ जोडिए पनि उनको हात नरहेको भन्दै चोर्को खुट्टा काट् भन्दा चोरले पहिले खुट्टा तानेझैँ गरेर आफू चोखिन खोजे पनि घटनाक्रमहरूले नेता कञ्चनको गिरफ्तारी योजनाबद्ध र षड्यन्त्रपूर्ण रहेकोमा कुनै द्विविधा राख्ने ठाउँ देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :