हतियार सुरक्षित गर्नु जनगणतन्त्र कोरियाको अधिकार हो : कञ्चन

हतियार सुरक्षित गर्नु जनगणतन्त्र कोरियाको अधिकार हो : कञ्चन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले हतियार राख्नु कुनै पनि राष्ट्रको अधिकार भएकाले जनगणतन्त्र कोरिया (उत्तरकोरिया) ले पनि यसमा श्रेष्ठता हासिल गर्नु उसको नैसर्गिक अधिकार भएको बताएका छन् ।

नेपाल–कोरिया लेखक–पत्रकार मञ्चद्वारा सोमबार कोरियाली श्रमिक जनताका महान् नेता किम इल सुङको एक सय दसौँ जन्मदिवसका सन्दर्भमा काठमाडौँमा आयोजित ‘कोरियाली समाजवाद र साम्राज्यवादविरुद्ध समाजवादले गरिरहेको प्रतिरोध’ विषयक अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेकपा नेता कञ्चनले पारमाणविक शस्त्रास्त्र विकास गरी पुँजीवादी साम्राज्य कायम राखिराखेका अमेरिका, बेलायत, फ्रान्स, जापान, रुसलगायत मुलुकले पारमाणविक हतियार नष्ट नगरेसम्म अविकसित, अल्पविकसित र समाजवादका लागि सङ्घर्षरत देशहरूको सुरक्षाको कुनै सुनिश्चितता नभएकाले जनगणतन्त्र कोरियालगायत समाजवाद भएका र समाजवादका लागि सङ्घर्ष गरिरहेका मुलुकले हतियार निर्माण गरी अफ्नो देश र जनताको सुरक्षा गर्नु अत्यावश्यक रहेको बताएका हुन् ।

‘जनतालाई सम्पत्तिको मालिक बनाउने, जनतामा भर पर्ने शिक्षा कोरियाली समाजवादले दिएको छ’, नेकपा नेता कञ्चनले भने, ‘साम्राज्यवादको नायक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पिठ्युँमा धाप मार्ने व्यक्ति र शक्ति जनगणतन्त्र कोरियाको राष्ट्रप्रमुख किम जोङ उन मात्र हो । त्यो समाजवादी व्यवस्था र कोरियाली जनताको शक्ति हो ।’

नेपालको दलाल पुँजीवादी सत्तालाई समाप्त पारी समाजवाद स्थापना गर्नुपर्ने र त्यसका लागि सबैखाले प्रतिक्रियावादी शक्ति, संशोधनवाद, सुधारवाद र अवसरवादहरूसँग निरन्तर लडेर क्रान्तिलाई विजयसम्म पुर्याउनुपर्नेमा नेता कञ्चनको जोड थियो । उनले भने, ‘नेपाली जनता र कोरियाली समाजवादका बीचमा नेपाल–कोरिया लेखक/पत्रकार मञ्च पक्का पुल बन्नेछ ।’

नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बधाई एवम् शुभकामना दिँदै नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् स्कुलिङ विभागका प्रमुख सुदर्शनले नेपालका समाजवादी लेखक, पत्रकार र संस्कृतिकर्मीहरूले कोरियाली समाजवादबारे अध्ययन गरी नेपाली क्रान्तिलाई समाजवादसम्म पुर्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि नेपालस्थित जनगणतन्त्र कोरियाली राजदूतावासका डीसीएम (कन्सुलर) किम जोङ ह्योकले नेपाल–कोरिया लेखक÷पत्रकार मञ्चले स्थापनाको एक दशकभित्रै समाजवादी कोरियाका बारेमा नेपाली जनतालाई राम्रो जानकारी दिएको र दुई देशका बीचमा राम्रो सम्बन्ध विकास गर्न ठूलो सहयोग पुर्याएको बताए । उनले मञ्चका नवनिर्वाचित सदस्यहरूलाई समाजवाद अध्ययन गर्न र लागू गर्न सदा उत्साहित भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि कञ्चन, विशिष्ट अतिथिहरू सुदर्शन, किम जोङ ह्योकले संयुक्त रूपमा समाजवादी कोरियाको इतिहास र वर्तमान झल्काउने वृत्तचित्र लोकार्पण गरेका थिए । सहभागीहरूले कोरियाली जनताले साम्राज्यवाविरुद्ध गरेको क्रान्ति र विकसित कोरियासम्बन्धी वृत्तचित्र अवलोकन गरेका थिए ।

नेपाल–कोरिया मैत्री सङ्घका महासचिव फणिन्द्र पन्तले साम्राज्यवादका विरुद्ध कठोर सङ्घर्ष गरेर स्वाधीन बनेको कोरियाले किम इल सुङको जुछे विचार, किम जोङ इलको सङ्गुन राजनीतिका माध्यमबाट कोरियालाई स्वतन्त्र र शक्तिशाली बनाइराखेको बताए । एक दशकभित्रै मञ्चले कोरियाली समाजवादको अध्ययन र प्रचारमा राम्रो काम गरेको भन्दै उनले धन्यवाद पनि प्रकट गरे ।

कार्यक्रममा अधिवक्ता कपिलचन्द्र पोखरेल, महिलानेत्री एवम् जनअधिकारकर्मी सरला रेग्मी, नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्घकी उपाध्यक्ष देवकला अधिकारी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलिया, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ, जनगणतन्त्र कोरियाली दूतावासका सुरक्षा प्रमुख पेक जिन ह्योक, रातो खबरका व्यवस्थापक झनक श्रेष्ठलगायत ५० भन्दा बढीको सहभागिता थियो ।

कार्यक्रममा घोषित मञ्चको पुनर्गठित कार्यसमितिमा संरक्षक शान्ता श्रेष्ठ, सल्लाहकारहरू सरला रेग्मी, प्राडा सुरेन्द्र केसी, पूर्णबहादुर सिंह, माणिक लामा, डा. रामप्रसाद ज्ञवाली, अध्यक्ष अशोक सुवेदी, उपाध्यक्षहरूमा विश्वम्भर लामिछाने, सुभास गजुरेल (कलाकार), अग्निराज पौडेल अराप (ललितकलाकर्मी, कवि), अम्बिका चन्द (लेखक, पत्रकार), नरेन्द्र भण्डारी (मूर्तिकार), महासचिव नरेन्द्र विक (युवा, विद्यार्थी), सचिव रणबहादुर विक (स्रष्टा, पत्रकार), सहसचिव उषाकिरण आजाद (स्रष्टा, विद्यार्थी), कोषाध्यक्ष प्रसिद्धा शर्मा (स्रष्टा, अध्यापक), सहकोषाध्यक्ष देवीप्रसाद तिम्सिना (मजदुर नेता) रहेका छन् । त्यसैगरी सदस्यहरूमा मोहनराज पाण्डेय (अतृप्त पाण्डेय, कवि), विनोद सुवेदी (शिक्षक), ठाकुरप्रसाद तिमिल्सिना (रसुवाली कवि, संस्कृतिकर्मी), शर्मिला कार्की (गृहिणी), मोहनविक्रम बस्नेत (भिडियोग्राफर, सम्पादक), मोहनलाल घिसिङ (संस्कृतिकर्मी), ढुण्डीराज अधिकारी (कलाकार, कवि, गीतकार), मुक्ति गैरे (पत्रकार, लेखक) र मुकुन्द श्रेष्ठ (युवा राजनीतिकर्मी) रहेका छन् ।

मञ्चले समाजवाद अध्ययन गर्ने, कोरियासँगको सम्बन्ध अझै विकास गर्ने र नेपालमा वैज्ञानिक समाजवाद स्थापनामा जोड दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :