दलाल पुँजीवादप्रति कसैको विश्वास छैन : प्रकाण्ड

दलाल पुँजीवादप्रति कसैको विश्वास छैन : प्रकाण्ड

भरतपुर (चितवन) : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले यो दलाल पुँजीवादी व्यवस्थाप्रति कसैको पनि विश्वास नरहेको बताएका छन् । पार्टीको १२ औँ पूर्ण बैठकपछि चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणमा उपस्थित पार्टी नेता–कार्यकर्ताका बीच प्रवक्ता प्रकाण्डले अवसरवादी, पलायनवादी र संशोधनवादीहरसँग विद्रोह गरी एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यदिशा प्रवर्तन गर्ने नेता र नेतृत्वलाई निरन्तर विश्वास र सहयोग गरिरहनुपर्ने पनि बताए ।

संसारमै र नेपालमा पनि अरू नेताबाट भएको प्रतिक्रान्तिभन्दा प्रचण्ड–बाबुराम भट्टराईले कम्युनिस्ट आन्दोलनमाथि गरेको गद्दारी र प्रतिक्रान्ति ठूलो रहेको र नेकपाले नै यसलाई उल्ट्याएर क्रान्ति सम्पन्न गर्ने विश्वास प्रवक्ता प्रकाण्डले व्यक्त गरे । उनले भने, ‘एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादप्रति हाम्रो पार्टी दृढ छ । क्रान्ति आँट, साहस इच्छाशक्ति र बलिदानले आगोसँग खेल्ने कुरा हो । यसका लागि हामी तयार छौँ ।’

पार्टीले चुनावमा भाग नलिने र देशभक्त तथा एमसीसी विरोधीहरुलाई सहयोग गर्नसक्ने पार्टी निर्णय प्रष्ट पार्दै उनले भने, ‘यो हाम्रो कार्यनीति मात्र हो । मोहनविक्रम सिंहको जस्तो रणनीतिक विषय होइन ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :