जनताको विश्वासलाई कुठाराघात गर्नु हुँदैन, क्रान्ति सफल हुन्छ : विप्लव

जनताको विश्वासलाई कुठाराघात गर्नु हुँदैन, क्रान्ति सफल हुन्छ : विप्लव

भरतपुर (चितवन) : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाले विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवाद स्थापना गर्ने विषयमा कुनै पनि समस्या नरहेको बताएका छन् । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा पार्टीको १२ औँ केन्द्रीय समिति बैठकपछि चितवनमा केन्द्रीय समितिले आयोजना गरेको केन्द्रीय सदस्य, विशेष समिति, केन्द्रीय विभाग र जिल्ला सेक्रेटरीसहित तीन सयभन्दा बढी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै महासचिव विप्लवले ‘प्रतिक्रियावादी सत्ताले आफ्नो रक्षाका लागि गराउने चुनावको विषयलाई लिएर हामीले टाउको दुखाउनु हुँदैन । हामी क्रान्तिका विषयमा चिन्तित हुनुपर्छ । हामी क्रान्ति जित्ने दिशातर्फ अग्रसर भएका छौँ ।’

एकीकृत जनक्रान्तिको कार्यदिशासँगै पार्टीले सम्पत्तिको स्वामित्व, राजनीतिक प्रणाली, शासकीय स्वरुपका विषयमा पनि बहस अघि बढाएको प्रष्ट पार्दै महासचिव विप्लवले समाजवाद, उच्च चेतनाको अभिव्यक्ति भएको र राजनीतिक रुपमा देश नेकपाकै पक्षमा रहेको धारणा राखे । पार्टी उत्पादनमा निर्भर हुँदै गएको र केही समयमै यो अवस्था अझ राम्रो हुँदै जाने महासचिव विप्लवले बताए ।

एकध्रुवीय विश्वमा क्रान्ति सम्भव छैन भन्दै प्रचण्ड–बाबुराम क्रान्तिबाट भागेको समयमा नेकपाले श्रमिक वर्गमा क्रान्तिप्रति आशा र विश्वास जगाएको बताउँदै जनता, क्रान्तिको आशा र विश्वास अनुसार राजनीतिलाई सङ्गठनमा रुपान्तरण गरेर क्रान्तिलाई उचाइँमा उठाउनुपर्ने महासचिवको भनाइ थियो । एमसीसीविरुद्ध नेकपाले सञ्चालन गरेको आन्दोलन साम्राज्यवाद र दलाल पुँजीवाद दुवैका विरुद्धको आन्दोलन भएकाले यो एकीकृत जनक्रान्तिको सफलतासँग गाँसिएको विषय रहेको उनले बताए ।

क्रान्तिप्रति धोका नहुने कुरामा दृढ विश्वास दिलाउँदै महासचिव विप्लवले भने, ‘दलाल पुँजीवादले गराउने चुनावको विषयमा क्रान्तिकारीहरुबीच मतभिन्नता आउनु हुँदैन । एमसीसी विरोधी र पक्षधरता बीचमा ध्रुवीकरण गराउनुपर्छ । जनताले नेकपालाई आशाको दृष्टिले हेरेका छन् । जनताको आशा र विश्वासमा घात गर्नु हुँदैन ।’

महासचिवले नेता–कार्यकर्ताले राखेको जिज्ञासा पनि शान्त पारेका थिए । बैठक आजै सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :