दाङमा राष्ट्रघाती एमसीसी पारित विरुद्ध क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा प्रदर्शन 

दाङमा राष्ट्रघाती एमसीसी पारित विरुद्ध क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा प्रदर्शन 

घोराही: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव डिल्ली वलीले आफुहरुसँग भौतिक हतियार नभएको बताएका छन् ।
सोमबार घोराहीमा राष्ट्रघाती एमसीसी सम्झौता पारित तथा मजदुर विरोधी सरकार विरुद्धको प्रदर्शन सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । नेता डिल्लीले राज्यले आफुहरुले हतियार लुकाएको आशंका गरेको प्रसंगमा बोल्दै भने,– ‘हामीसँग भौतिक हतियार छैन । हामीसँग वैचारिक हतियार छ त्यो एकीकृत जनक्रान्ति हो ।’                     
नेता डिल्लीले राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि तागतमा एमसीसी लागु हुन नदिने जिकिर समेत गरेका थिए । उनले संसदबाट पास भएको एमसीसी परियोजना नेपाली जनताले कार्यान्वयन हुन नदिने र राज्यले बलजफ्ती गरे बिद्रोह हुने चेतावनी दिएका हुन् ।
हिजो महान जनयुद्धका नायक प्रचण्ड आज खलनायक रुपमा परिणत भएको समेत उनको भनाइ थियो । उनले भने,– ‘पटकपटक राष्ट्रघात गरेको पार्टी कांग्रेससँग मिलेर हिजोका नायक र आजका खलनायक प्रचण्डले राष्ट्रघाती एमसीसीमा सहिछाप गरेर राष्ट्रघात गरेका छन् ।’

नेता डिल्लीले वर्तमान सरकारले मजदुरहरुको विरुद्धमा गरेका हर्कतहरुको निरन्तर भण्डाफोर गर्ने समेत बताएका हुन् । आज पनि मजदुरहरुले पारिश्रमिकको उचित ज्याला नपाउने, मजदुर माथि शोषण, दमन र उत्पीडन चलिरहेकाले यो व्यवस्थाबाट मजदुर हक, अधिकार स्थापित नहुने बताए । उनले सबैखाले शोषण, दमन, उत्पीडनबाट मुक्त हुन वास्तविक शान्ति, समृद्धि र स्वाधीनता प्राप्तिका लागि सम्पूर्ण श्रमिकहरु एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न लामबद्ध हुन अपिल समेत गरेका थिए ।
प्रदर्शन सभामा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का प्रतिनिधि मनिराम खनालले संसदमा ध्वनी मतद्वारा पास भएको एमसीसी परियोजना अवैधानिक र राष्ट्रघाती भएको बताए । उनले एमसीसी परियोजनामार्फत स्वतन्त्र देशलाई अमेरिकी उपनिवेश बनाउन खोजेको बताएका थिए । नेता खनालले एमसीसी परियोजना विकास परियोजना हो भनेर नेपालका दलालहरुले जनतालाई ढाटेको बताए । उनले भने,– ‘ एमसीसी परियोजना सहयोग परियोजना होइन । यो अमेरिकी सैन्य रणनीति हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग हो । एमसीसीमार्फत अमेरिका नेपाललाई रणमैदान बनाउन चाहन्छ ।’
यस्तै संयुक्त ट्रेड युनियन संघर्ष समिति दाङद्वारा आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य नरेन्द्र बन्जाडेले राष्ट्रघाती एमसीसी सम्झौता नेपाली जनताको प्रतिरोध संघर्षका बिच लागु हुन नसक्ने जिकिर गरेका थिए । नेता बन्जाडेले एमसीसी परियोजना नेपाली जनतालाई स्वीकार्य नभएकाले लागु हुन नसक्ने बताएका हुन् । उनले नेपाली जनताको तागतबाट एमसीसी खारेज गराएरै छाड्ने उद्घोष गरेका हुन् ।

नेता बन्जाडेले मजदुर विरोधी सरकार र राष्ट्रघाती एमसीसी सम्झौतालाई नेपाली जनताको प्रतिरोध संघर्षबाट सदाका लागि बिदा गरिने उद्घोष गरेका थिए ।

राष्ट्रघाती एमसीसी सम्झौता पारित तथा मजदुर विरोधी सरकार विरुद्ध प्रदर्शन सभा विप्लव नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङसहित राष्ट्रिय जनमोर्चा र नेकपा (क्रान्तिकारी माओवादी) निकट ट्रेड युनियनको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
संयुक्त ट्रेड युनियन संघर्ष समिति दाङद्वारा आयोजित प्रदर्शन सभाको सहजीकरण अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज संजयले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :