संसदीय राजनीतिको असफलता र क्रान्तिकारी ध्रुवीकरणको आवश्यकता

नेपाली राजनीति यति बेला बेस्सरी तरङ्गित भएको छ । विज्ञान र प्रविधिको आजको दुनियाँमा राजनीतिक महत्व होस् वा आर्थिक महत्वका विषयहरू हुन्, बुझेर वा नबुझेर त्यसका तरङ्गहरू गाउँगाउँ र टोलटोलसम्म पुग्ने गर्दछन् । अमेरिकी सहयोग भनिएको परियोजना MCC ले पनि अहिले गाउँ, सहर र टोलसम्मलाई प्रभावित गरेको छ । ठूलो शक्ति यो परियोजनाका विपक्षमा उभिएको छ भने केही मुठीभर नेताहरू यसका पक्षमा उभिएका छन् र संसद्‌बाट कथित व्याख्यात्मक टिप्पणीको जलप लगाएर पारित गरिएको छ । पूरै देश र जनता MCC को विपक्षमा आन्दोलित भैरहँदा पारित हुनु दुर्भाग्यपूर्ण नै मान्नुपर्छ । पारित भैसकेपछि आन्दोलनको स्वरूप बदलिएको छ तर आन्दोलन सकिएको छैन, अझै पूरै देश MCC का बिरुद्धको आन्दोलनमा छ । गाउँ, सहर र सडकमा सबैको स्वर एमसीसी खारेज गर भन्ने नाराले गुन्जिइरहेको छ । वामपन्थी, प्रगतिशील र राष्ट्रवादी शक्तिहरू एक भएर अन्दोलनमा केन्द्रित भएका छन् । अमेरिकी सहयोग भनिएको परियोजनाले नेपालमा विवाद मात्र उत्पन्न गरेको छैन, नेपालको समग्र राजनीतिलाई ध्रुवीकृत गर्दै लगेको छ । राष्ट्रवादी र दलाल, वामपन्थी, प्रगतिशील र दक्षिणपन्थी, क्रान्तिकारी र गैरक्रान्तिकारी गरेर बिस्तारै दुई ध्रुवमा कित्ताबन्दी गर्दै लगेको छ । राजनीतिमा पैदा हुदै गएको ध्रुवीकरण र कित्ताबन्दीले सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने त निश्चित नै छ । विगत लामो समयदेखि राष्ट्रघातीका नाममा कुख्याती कमाउँदै आएको नेपाली काङ्ग्रेसले राष्ट्रघाती अमेरिकी परियोजनाको कडा पक्षधर बन्दै संसद्‌मा वकालत गर्यो । प्रचण्ड र माधव नेपालसमेतलाई आफूसँगै राष्ट्रघातको साझेदार बनायो भने एमालेको पनि त्यसको साक्षी बस्नेबाहेकको भूमिका रहेन । काङ्ग्रेससँगै बाबुराममार्काका केही गनिएका बौद्धिक दलालहरू पनि यसका पक्षमा दह्रोसँग उभिए । यो कुनै आश्चर्यको कुरा भने हैन । राष्ट्रघाती एमसीसी परियोजनाले नेपालको राजनीतिमा दुई प्रकारको राजनीतिक स्थिति उत्पन्न गरेको छ । अहिले नेपालमा देखिएको निम्न स्थितिबारे चर्चा गरौँ ।

अमेरिकी परियोजना सही हो, यसमा कुनै शङ्का गर्नु पर्दैन । विदेशी लगानी नेपालजस्तो अल्पविकसित मुलुकका निम्ति स्वीकार्नु राम्रो हुन्छ । यसको नेतृत्व काङ्ग्रेसले गर्ने गरेको छ । कोसी सम्झौतादेखि आजसम्म राष्ट्र र जनताका नाममा धेरैपटक राष्ट्रघात गरेर बदनामी कमाएको काङ्गे्स यसपटक पनि राष्ट्रघात गरेर अमेरिकी सच्चा दलालका रूपमा आफूलाई चिनाउन सफल भएको छ । काङ्गे्सले भारतको दलाली गर्दा कोसी, गण्डक, महाकालीजस्ता नेपाली नदीहरू गुमाउनुपरेको तथ्य नेपाली जनतासामु ताजै छ । मूल नेतृत्वमा पुरानै अनुहार भए पनि अन्य तहमा आजको नयाँ युवापिँढी आइपुग्दासमेत नेपाली काङ्गे्स नसुध्रिनु उसकै लागि पनि ठूलो दुर्भाग्यको कु्रा हो । जनयुद्धमा जनतामा ठूलो दमन र हत्याकाण्डको नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली काङ्ग्रेस सामान्य तरिकाले त्यसको सोच र चिन्तनहरूमा बदलाव आउने सम्भावना देखिँदैन । जनयुद्धवाट आएको भनिएको नेतृत्व प्रचण्ड पनि अन्ततः काङ्ग्रेसी कित्तामा उभिएका छन् र एमसीसी पास गर्नु ठूलो गौरवको विषय बनाइरहेका छन् । काङ्ग्रेसीजनहरूसँगै दीपावली गरिरहेका छन् र विजयउत्सव मनाइरहेका छन् । राष्ट्रवादी जनताको छातीमा बुट बजारेर अँध्यारोमा पारित गरिएको सम्झौता नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनता, स्वाभिमान र हितविपरीत छ । सीमित नेताहरूको सत्तास्वार्थ र कमिसनको खेलमा गरिएको सम्झौता नेपाल र नेपाली जनताको मनमनबाट खारेज भएको छ । राष्ट्रघातीको पर्याय बनेको नेपाली काङ्ग्रेससँगै कथित नामधारी कम्युनिस्टहरू पनि नवकाङ्गे्सीझैँ बनेर त्यही बाटो पछ्याउनु नेपाली जनताका निम्ति दुःखद् कुरा हो । आफ्नै कार्यकर्ता खारेजीको अभियानमा बानेश्वरमा टाउको फुटाइरहेको बेला बीआईसीसी भवनभित्र जनता र आफ्नै क्रान्तिकारी चेत भएका कार्यकर्ताको अपमान गर्दै अमेरिकी साम्राज्यवादको सच्चा दलाल को बन्ने भन्ने प्रतिस्पर्धात्मक खेल खेल्दै नेपालको स्वाभिमान र स्वाधीनतालाई दाउमा राख्दै गरिएको सम्झौता नेपालको इतिहासमा कालो दिनका रूपमा अङ्कित हुनेछ । नेपाली जनताले एक दिन यसको समग्र हिसाबकिताब र मूल्य चुक्ता हुने गरी आन्दोलनको आँधीबेहरीको सृष्टि गर्नेछन् । त्यो आँधीबेहरीले दलाल व्यवस्था र दलाल पात्रको पनि अन्त्य गर्नेछ ।

सम्झौता नेपालको स्वाधीनता स्वाभिमानका विरुद्ध छ भन्ने संसद् भवनभित्र सानो तर सशक्त र बाहिर जोडदार शक्ति र आन्दोलन बन्यो । एमाले अन्ततः फेरि पनि न भाले न पोथीको जिम्मेवारीभन्दा माथि उठ्न सकेन । राष्ट्रघातमा देउवा, प्रचण्ड र नेपालले हस्ताक्षर गर्दै गर्दा उसलाई वेल घेरेर आफ्नो राजनीतिक स्वार्थमा भन्दा अर्को कुनै कुराले छोएन । तर केही क्रान्तिकारी सोचाइ र चिन्तन बोकेका सांसदहरू आफ्नो पार्टीभन्दा माथि उठेर नेपालको स्वाधीनताका पक्षमा खरो उत्रिए । बाहिरी जनताको नेतृत्व नेकपालगायत क्रान्तिकारी पार्टीहरूले गरिरहे । संसद् जनताको आवाज बुलन्द गर्ने थलो हैन, नेपालको स्वाधीनता बेच्ने थलोमा परिणत हुँदै गर्दा राष्ट्रवादी जनताले सडकबाट खबरदारी गरिरहे तर साम्राज्यवादका तल्लु र सत्ताको मात चढेका काङ्ग्रेस, माके, एसलगाएत दलहरूले नेपालको स्वाभिमानका विरुद्ध हस्ताक्षर गरिरहे । उनीहरूलाई जनताको खबरदारीभन्दा आफ्ना मालिक रिसाउने पो हुन् कि भन्ने चिन्ताले पिरोलेको देखियो । क्रान्तिकारी जनताको नेतृत्व नेकपालगायत राष्ट्रवादी दलहरूले कुनै कसर बाँकी नराखेर गरे । ठूलो जनसागरसहित प्रदर्शनहरू बानेश्वरमा चलिरहँदा सत्ताको मात र साम्राज्यवादका नेपाली दलालहरू संसद् भवनभित्र सित्तैँमा अमेरिकाले दिएको पैसा किन फिर्ता पठाउने ? अझै हामी चीन, भारतलगायत विश्वभर कचौरा लगेर माग्न जानुपर्छ भनेजस्ता तर्क गर्दै थिए । आफूलाई स्वाभिमानी नेपाली हैन, भिकारीका रूपमा चित्रण गर्दै रोस्टमबाट ठूलोठूलो स्वरमा कराउदै भिक मागेको शैली प्रस्तुत गर्दै थिए । संसद् भवनभित्र हुने राष्ट्रघात न जनताले रोक्न सक्थे, न त दलाल व्यवस्थाको संसद् भवनभित्र मर्यादित बहसबाट सही निष्कर्ष निस्कन सम्भव थियो ।

अबको विकल्प

क्रान्ति नै यसको सही र क्रान्तिकारी विकल्प हो । आज देश र नेपाली जनताले को राष्ट्रघाती, को दलाल भन्ने कुरा फेरि एकपटक प्रस्टसँग चिनेका छन् । नेपाली काङ्ग्रेस पुरानै राष्ट्रघातमा आफ्नो पहिचान बनाइसकेको पार्टी हो तर नेपाली जनता प्रचण्ड–नेपालहरूसँग केही भ्रममा थिए, त्यो कुरा एमसीसीले गर्दा छर्लङ्ग भएको छ । उनीहरूले लगाएको मुकुन्डो फेरि एकपटक उघ्रिएको छ । व्याख्यात्मक टिप्पणी नामको बर्कोले छोप्न खोजे पनि सबैले देख्ने गरी दलालीको पराकाष्टा नै हो भन्नेमा आज राष्ट्रवादी नेपाली जनता पुगेको देखिन्छ । नेपाली दलालहरूका विरुद्ध क्रान्तिकारी राष्ट्रवादी नेपालीले एक ढिक्का भएर क्रान्तिको उठान गर्नुपर्ने बेला आएको छ । जनताको मनमनबाट बहिष्कृत र खारेज गरिएको कथित एमसीसी सम्झौतालाई कार्यान्वयनको तहमा नपुग्दै स्थगनको स्थितिमा पुर्याउनुपर्छ । यस आन्दोलनले एमसीसी कार्यान्वयन स्थगन मात्र हैन, दलाल व्यवस्था र दलाल पात्रहरूलाई पनि छानेर दण्डित गर्ने बेला आएको छ । साम्राज्यवादी देशहरूको इच्छा पूरा गर्न नेपाली जनताको छातीमा बुट बजार्ने र नेपाली आमाको अस्मितासँग खेल्ने छूट स्वाभिमानी नेपालीले दिनु हुँदैन । नेपाल र नेपालीको स्वाभिमान पार्टीनेताको स्वार्थ र साम्राज्यवादी इच्छाहरूमा साट्न सकिँदैन । हाम्रो देश गरिब होला, हामी नेपाली गरिब हौँला तर हाम्रो गरिबीको मन साटेर बिक्री गर्ने छूट नेताहरूलाई छैन । नेपाल गरिब हुनुको कारण पनि नेपाली नेता र नेपालमा चलेको दलाल व्यवस्था नै हो । जनचाहनाअनुरूपको व्यवस्था र सही योजना नहुनु नै हाम्रो देश गरिब हुनुको परिणाम हो । यसमा नेपाली जनताको कमजोरी छैन र हुन सक्दैन । यो कमजोरी राज्यको र राज्य सञ्चालनमा बसेका पात्रहरूको हो ।

अन्त्यमा क्रान्ति जनताले किन गर्दछन्, किन मान्छे बलिदान गर्न तयार हुन्छ किनकि जनतामा जब अन्याय हुन्छ, जब स्वाभिमानमा ठेस पुग्छ, जब देशमा साम्राज्यवादी बुट बज्रन्छ र हस्तक्षेप बढ्ने गर्दछ अनि क्रान्ति हुन्छ, अनि मान्छे देशका लागि, आफ्नो स्वाभिमानका लागि बलिदान गर्न तयार हुन्छ । हो, आज नेपाली जनताले त्यही महसुुस गरेका छन् । आज नेपाली जनताको मुटुमा साम्राज्यवादी बुट बज्रिएको छ । साम्राज्यवादलाई परास्त गर्न क्रान्तिको उठान गर्नुपर्ने बेला आएको छ । क्रान्तिको विजय सबै राष्ट्रवादी क्रान्तिकारी कम्युनिस्टहरूको बृहत् मोर्चा र आमनेपाली जनताको एकताले मात्र सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :