आजदेखि सहिद सप्ताह २०७८ सुरु, नेकपाले विभन्न कार्यक्रम गरी मनाउँदै

आजदेखि सहिद सप्ताह २०७८ सुरु, नेकपाले विभन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौँ : आज अर्थात् १४ गतेदेखि सहिद सप्ताह २०७८ सुरु भएको छ । नेकपाले यस वर्ष पनि सहिद परिवारलाई सम्मानलगायत विभिन्न रचनात्मक कार्यक्रम गरी अभियानकै रूपमा सहिद सप्ताह मनाउने भएको छ । महान् जनयुद्धमा स्थापित भएको जनपर्व सहिद सप्ताह हरेक वर्षझैँ यस वर्ष पनि महान् सहिदहरूको स्मरण र सम्मानमा विविध कार्यक्रमका साथ मनाइने नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

विगत २ वर्षसम्म तत्कालीन केपी वली–पुष्कमल दाहाल गठबन्धन सरकारले नेकपामाथि प्रतिबन्ध लगाएकाले प्रतिबन्धकै बीच अभियानका रूपमा यो पर्व मनाइएको थियो भने यस वर्ष राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्ष उत्कर्षमा पुगेकाले आन्दोलनकै बीचमा सहिद सप्ताह मनाइने भएको हो । गतवर्ष सहिद सप्ताहको अन्तिम दिन फागुन २१ गते तत्कालीन केपी वली सरकार र नेकपाबीच तीनबुँदे राजनीतिक सहमति भएको थियो । सहिदहरूका सपना पूरा गर्ने वाचा र प्रतिबद्धतासहिद भएको उक्त तीनबुँदे सहमति सरकारले पूरा नगर्दा नेकपाका कयौँ नेता–कार्यकर्ता अझै जेलमा छन् भने नेकपाका नेता–कार्यकर्तामाथि लगाइएका झूट्टा मुद्दा पनि सरकारले खारेज गरेको छैन । यस वर्षको सहिद सप्ताहका सन्दर्भमा पनि यी विषय उठ्ने बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले यस वर्षको सहिद सप्ताह फागुन (१४—२१ गते) विभिन्न कार्यक्रमसहित मनाउने भएको छ । नेकपाले सहिद सप्ताहका अवसरमा सबै जिल्ला र क्षेत्रहरूमा सहिद–बेपत्ता परिवार अभिनन्दन, सहिद बेपत्ता परिवार भेटघाट, सहिद पार्क निर्माण, सहिद सङ्ग्रहालय शिलान्यास, सहिदको सम्मानमा वक्तृत्व कला, गीत÷कविता प्रतियोगिता, साहित्यिाक–सांस्कृतिक, खेलकुदलगायत विभिन्न सिर्जनात्मक कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

सहिद सप्ताहलाई नेपालको क्रान्तिकारी आन्दोलनमा भएका सहादतका विभिन्न कडीहरूलाई जोड्ने महत्वपूर्ण सन्दर्भका रूपमा लिने गरिएको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेको दिन फागुन १४ गते (२०५२) देखि तत्कालीन झापा विद्रोहका पाँच सहिद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठले सहादत प्राप्त गरेको दिन फागुन २१ गते (२०२९ साल) लगायत नेपालको वर्गसङ्घर्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरूको सम्मानमा हरेक वर्ष फागुन १४ देखि फागुन २१ गते सम्मको अवधिलाई सहिद सप्ताहका रूपमा मनाउने गरिन्छ । जनयुद्धले स्थापना गरेका जनताका महत्वपूर्ण पर्वहरू नेकपाले मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :