नेकपासहित ६ पार्टी र २ मोर्चाद्वारा एमसीसी विरुद्ध कपिलवस्तु जिल्ला प्रशासन कार्यालय घेराउ

नेकपासहित ६ पार्टी र २ मोर्चाद्वारा एमसीसी विरुद्ध कपिलवस्तु जिल्ला प्रशासन कार्यालय घेराउ

कपिलवस्तु: अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विरुद्ध नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा बिहीबार कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय तौलिहवा घेराउ  गरेका छन् । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै कार्यालय घेराउ गरिएको हो ।

उक्त विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले विकास परियोजनाको रूपमा नेपाल भित्रिरहेको एमसीसी परियोजना राष्ट्र र राष्ट्रियताको हिततमा नभई अमेरिकनहरूले बनाएको दीर्घकालीन सैन्य रणनीतिको अंग रहेको र यो हाम्रो देश नेपालका लागि घातक रहेको उनले बताए । नेपालको प्राकृतिक सम्पदा, भूगोल, प्राकृतिक स्रोत साधनहरू यूरेनियम, जल र ऊर्जामाथि नेपालका महत्वपूर्ण खनिज पदार्थ साथै सिङ्गो राष्ट्रियतामाथि हस्तक्षेप गर्ने उद्देश्यसहित लागु हुन लागेको एमसीसी सम्झौता खारेज हुनुपर्नेमा नेता भुसालले जोड दिए ।

उनले भने,“संसदवादी दलालहरुले गर्ने राष्ट्रहित विपरितका एजेण्डाहरुलाई दीर्घकालीन निकास दिनको लागि यो दलाल संसदीय व्यवस्था को अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ । एमसीसी र यस्ता राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदायहरू एक ठाउँमा उभिएर आन्दोलनमा उत्रन जरुरी छ ।”
यो राष्ट्रघाती एमसीसी सम्झौता खारेज नहुँदासम्म पार्टी निरन्तर आन्दोलनको मोर्चामा रहने उनले बताए । त्यसैगरी संयुक्त मोर्चाको तर्फबाट सहभागी राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट लगायत अन्य सबैले पनि उक्त सम्झौता जसरी पनि खारेज हुनुपर्ने माग गर्दै आन्दोलन निरन्तर जाने उनीहरूको निचोड थियो ।

उक्त विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादी नेता धनेश्वर पोख्रलले यो देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो पार्टीले यो सम्झौता खारेज नगर्दासम्म निरन्तर संघर्ष गर्ने बताए । उनले भने, “आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा कांग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले MCC सम्झौता लागू गर्नमा पनि कांग्रेस पार्टी मुख्य भूमिका रहेको छ ।  कुनै पनि हालतमा यो सम्झौतालाई लागू हुन नदिने उनले बताए । उनले भने, `अमेरिकाले विकासको नाममा नेपाल प्राकृतिक स्रोत साधनको दोहन गर्ने लक्ष्यसहित नेपाल भित्रिने योजना बनाएको छ,  यो देशका न्यायप्रेमी आम युवा विद्यार्थीहरुले उक्त सम्झौता खारेज गर्नु पर्नेछ ।´

त्यसका लागि आफ्नो संगठन जस्तोसुकै किसिमको प्रतिरोध गर्न तयार रहेको नेता पोख्रेलले बताए ।

सयुक्त रुपमा गरिएकाे उक्त बिरोध प्रदर्शन राष्ट्रघाती MCC सम्झौता खारेज गर, MCC चाहिँदैन – देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दावाद, संयुक्त आन्दोलन जिन्दावाद जस्ता नारा जुलुससहित तौलिहवाको बुद्धचोक  हुँदै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गेटमा गई कोणसभामा परिणत भएको थियो ।        

विरोध प्रदर्शनमा राष्ट्रिय जनमोर्चाका नेता शिव पौडेल, मानव अधिकारकर्मी राम दयाल ठाकुर लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमकाे संचालन नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :