राष्ट्रघाती एमसीसीविरूद्व रूपन्देहीमा र्यालीसहित कोणसभा सम्पन्न

राष्ट्रघाती एमसीसीविरूद्व रूपन्देहीमा र्यालीसहित कोणसभा सम्पन्न

काठमाडौँ : सरकारले संसदमा एमसीसी सम्झौता टेबल गर्न लागेपछि रूपन्देहीमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आयोजना गरेको एमसीसी विरुद्धको संयुक्त सङ्घर्ष कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पुष्पलाल पार्कबाट एमसीसीविरुद्ध नाराबाजीसहित सुरु भएको जुलुस ट्राफिकचोक, बिपीपथ, अमपरपथ हुँदै पुरानो बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले एमसीसी सम्झौता संसदमा टेबुल गरेर पास गरिए गम्भीर राष्ट्रघात हुने बताएका छन् । वक्ताहरूले एमसीसी देशको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताविरुद्ध भएको भन्दै यसको खारेजीको विकल्प नभएको बताएका छन् । कोणसभामा नेकपाका बुटवल उप–महानगर सेक्रेटरी विरेन्द्रले नेपालको प्राकृतिक स्रोत साधनमाथि कब्जा गर्ने उद्देश्यले एमसीसी नेपाल आउन खोजेको भन्दै यसको खारेजीको विकल्प नभएको बताए । उनले एमसीसी विकास सहयोगको नाममा सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने गरी आएको भन्दै नेपाललाई यसबाट बचाउन देशभक्त नेपालीहरू एक हुनुपर्ने बताए । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले एमसीसीका कारण देश दुई ध्रुवमा विभाजित भएको भन्दै राष्ट्रियताका पक्षधरहरूले स्वाधीनताको सङ्घर्षलाई तीब्र बनाउनुपर्ने बताए । उनले नेपालीहरूले साम्राज्यवादको गुलाम गर्ने जङ्गबहादुर प्रवृत्तिलाई आत्मसात गर्ने कि राष्ट्रियताका पक्षधर भीमसेन थापाको देशभक्त प्रवृत्तिलाई आत्मासात गर्ने ? गम्भीर प्रश्न उब्जिएको भन्दै हामी देश जोगाउन देशभक्तपूर्ण आन्दोलनमा एकीकृत हुनुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बमबहादुर खत्रीले एमसीसीविरुद्ध देशभक्त नेपालीहरूले वीरतापूर्ण सङ्घर्ष गरिरहेको भन्दै साम्राज्यवादका दलालहरूले देशभक्तहरूमाथि गरेको दमनविरुद्ध सङ्घर्षको विकल्प नभएको बताए । कार्यक्रममा नेकपा मालेका नेता गोपालमणि ज्ञवाली, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका लुम्बिनी प्रदेश सदस्यले एमसीसी सम्झौता संशोधन होइन खारेज गर्नुपर्ने बताएका छन् ।

कोणसभाको सञ्चालन नेकपाका खोमा तरामु मगरले गरेका थिए भने सङ्ग्रामी सांस्कृतिक परिवारले एमसीसीविरुद्ध गीत गाएको थियो । ८ दलीय मोर्चाको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा संयुक्त कोणसभा सम्पन्न भएको हो । यसअघि रुपन्देहीमा मोर्चाले एमसीसीविरुद्ध संयुक्त रुपमा निरन्तर सङ्घर्ष गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :