एमसीसीका विषयमा चीन र अमेरिकाबीच वाक्युद्ध !

‘बलजफ्ती कूटनीति’ को विरोध गर्छौं : चीन, खुला बहस गरौं, हिंसा स्वीकार्य छैन : अमेरिका

एमसीसीका विषयमा चीन र अमेरिकाबीच वाक्युद्ध !

काठमाडौँ : अमेरिकी साम्राज्यवादले नेपालमा सहयोगका नाउँमा एमसीसी नाउँको परियोजना संसद्बाटै पारित गराएर लाद्न गरेको प्रयत्नका विषयमा चीनले आपत्ति प्रकट गरेको छ भने अमेरिकाले एमसीसीविरुद्ध सडकमा व्यक्त जनमतलाई कथित हिंसाको संज्ञा दिएको छ । एमसीसीविरोधी आन्दोलनमा जनसहभागिता व्यापक बन्दै गएको समयमा शुक्रबार आन्दोलन भाँड्ने उद्देश्यले अज्ञात समूहले कलङ्की क्षेत्रमा कुकर बम आतंक मच्चाएको थियो । यही समयमा अमेरिकाले नेपालको सडक आन्दोलनलाई हिंसाको संज्ञा दिएको हो ।

चीनले एमसीसीलाई आधार बनाएर अमेरिकाले नेपालमा ‘बलजफ्ती कूटनीति’ गरेको भन्दै विरोध गरेको छ । मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन नभए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग नलिएको बुझ्ने अमेरिकी चेतावनीलाई चीनले ‘बलजफ्ती कूटनीति’ भनेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले आफूहरू ‘बलजफ्ती कूटनीति’ को विपक्षमा रहेको बताएका छन् ।

‘अन्तर्राष्ट्रिय समुदायको नेपालसँग सहकार्य, नेपालको अर्थतन्त्र विकास र जीविकामा सुधारका लागि गर्ने सहयोगको चीन स्वागत गर्छ’, प्रवक्ता वेनबिङले भनेका छन्, ‘तर यो नेपाली जनताको चाहना र राजनीतिक सर्तबिना हुनुपर्छ ।’

‘नेपालको असल छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नो विकासपथ छनोट गर्न सहयोग जारी राख्छ र आफ्नो देशको हितअनुकूल निर्णय लिने र जनताको इच्छा प्रदर्शित हुनुलाई समर्थन गर्छ ।’

अमेरिकाले आफ्नो सहयोग परियोजना एमसीसी अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात् १६ फागुनसम्म समय दिएको छ । दलहरूबीच सहमति जुट्न नसकेपछि २७ माघमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी वली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेर आफ्नो अनुदान सहयोग स्थगित गराएको बुझ्ने चेतावनी दिएका थिए ।

यसैबीच अमेरिकी राजदूत र्यान्डी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने चेतावनी दिएका छन् । शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट ट्विट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक्स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलिया समर्थक हौँ । एमसीसीका विषयमा पनि हाम्रो धारणा त्यही हो ।’

उनले एमसीसीबारे हिंसा भड्काउने विचारहरू स्वीकार्न नसकिने बताएका छन् । ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छूट हुनुपर्छ’, ट्विटमा उनले भनेका छन्, ‘तर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :