संसद्‌बाट एमसीसी पारित गरिए देशमा गृहयुद्ध हुने चेतावनी

संसद्‌बाट एमसीसी पारित गरिए देशमा गृहयुद्ध हुने चेतावनी

काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र दुईवटा मोर्चाको आयोजनामा आज पनि संसद् भवन अगाडि नयाँबानेश्वरमा प्रदर्शन भएको छ । संयुक्त विरोध प्रदर्शनलाई सम्बोधन गर्दै कुनै वक्ताले नेपालको संसद्‌बाट पास गर्ने कुचेष्टा गर्न खोजे जिउँदो नछाड्ने चेतावनी दिए भने कुनै वक्ताले देशमा गृहयुद्ध हुने चेतावनी दिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ ले एमसीसी पारित गरेमा नेपाली जनताले ‘शेरबहादुर देउवालगायत राष्ट्रघात गर्नेहरूको टाउको काटेर बानेश्वरको सडकमा फुटबल खेल्ने’ चेतावनी दिए । संसद्‌मा एमसीसी टेबल भएमा फ्रान्सका राजा लुई सोह्रौँको हालत बनाइदिने उनको चेतावनी थियो ।

नेकपा नेता पुनले भने, ‘देउवाजी ! तपाईंको इतिहास राम्रो छैन । तपाईं निरङ्कुश हुनुहुन्छ । इतिहासले एउटा मौका दिएको छ । राष्ट्रघाती र जनघाती काम नगर्नुहोस् । मर्ने बेलामा जनताको आन्दोलनमार्फत बहिर्गमित हुँदै देश छोड्ने स्थिति नआओस् । अहिले जनतामाथि तिमीहरूको आदेशमा दमन गर्ने सुरक्षाकर्मीहरूले पनि त्यतिखेर जनतालाई साथ दिनेछन् । त्यस्तो हालत हुनुभन्दा एमसीसी फिर्ता पठाउनुमै सबैको भलाइ छ ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि सडकमा आउन आग्रह गरे । ‘माओवादी केन्द्रका केही साथीहरूलाई पनि फाट्टफुट्ट सडकमा देखेको छु । कि सर्लक्कै सडकमा आउनुहोस्, नाटक नदेखाउनुहोस्’, उनले भने, ‘राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सत्ता छोडेर जनताको बीचमा आउनुहोस् ।’

देश गृहयुद्धमा जान सक्छ : गजुरेल

कार्यक्रममा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने बताए । उनले नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गराउने षड्यन्त्रमा लागिरहेकाले एमसीसी पारित भएमा देशमा विकराल अवस्था उत्पन्न हुने पनि बताए ।

नेता गजुरेलले कतिपयले एमसीसीलाई ५० करोड डलरमा मात्रै सीमित गरिरहेको भन्दै युद्धलाई पैसाले रोक्न नसकिने प्रस्ट पारे । उनले प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्नेमा जोड दिए ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सडक र संसद्‌मा एमसीसीबारे आन्दोलन गरिरहेको बताइन् । उनले एमसीसी राष्ट्रघाती रहेकाले कुनै पनि हालतमा पारित गर्न नदिने बताइन् । उनले एमसीसीमा अनन्तकालसम्म नेपाललाई बन्देज बनाउने कुरा समावेश भएकाले यो नेपाली जनतालाई स्वीकार्य नहुने बताइन् ।

विरोध सभालाई नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य दिनेश शर्मालगायत विभिन्न पार्टी र मोर्चाका नेताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :