एमसीसी सम्झौताको विरुद्धमा नवलपुरमा संयुक्त संघर्ष समितिको विरोध प्रदर्शन

एमसीसी सम्झौताको विरुद्धमा नवलपुरमा संयुक्त संघर्ष समितिको विरोध प्रदर्शन

कावासोती : राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दलले नवलपुरको सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि एमसीसीको विरुद्धमा शसक्त रुपमा विरोध प्रदर्शन गरिएको नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य विश्वासले जानकारी दिए । प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलका नेता कार्यकर्ताका साथै स्थानिय जनताको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य अनुकुलले एमसीसी सम्झौता लागू गरि सरकारले देशमा अमेरिकी सेनाको क्याम्प खडा गर्न खोजेको आरोप लगाए । त्यस्तै कार्यक्रमका अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य विश्वासले राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पास गरिएमा एमसीसी पक्षधर नेताहरूलाई जनताले धुलिसात बनाउने बताए । कावासोती फलफूल चोकबाट सुरु भएको विरोध र्याली राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, विदेशी दलालहरू होशियार लगायतका नारा लगाउँदै सभापति चोकमा आई कोणसभामा परिणत भएको थियो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपुरले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । आफूहरूले एमसीसी सम्झौता राष्ट्रघाती रहेको हुनाले राष्ट्रघाती सम्झौता गरेर देश चलाउन नहुने भन्दै चन्दा उठाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाई प्रतिकात्मक विरोध गरेको सङ्गठनका जिल्ला अध्यक्ष अविनाशले बताए । एमसीसी परियोजना खारेज गरियोस्, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि नियन्त्रण गरियोस्, युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गरियोस्, कालोबजारी नियन्त्रण गरियोस्, बढदो लागू औषध दुर्व्यसन नियन्त्रण गरियोस् लगायतका मागहरू ज्ञापनपत्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :