नेकपा थबाङले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाउने

नेकपा थबाङले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाउने

रोल्पा: महान जनयुद्धको २७ वार्षिकोत्सवको अवसरमा नेपाल कम्युनिष्ट पार्टी थबाङले आयोजना गरेको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकोे छ । नेकपा थबाङका सेक्रेटरी अमित घर्तीमगरका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।
तत्कालिन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते जनयुद्धको थालनी गरेको दिनलाई थबाङले प्रत्येक वर्ष वार्षिकउत्सवका रुपमा मनाउदै आएको छ । माओवादीमा देखिएको विभाजन र विचलनका कारण पछिल्लो समय जनयुद्धलाई अन्यत्र फरक फरक ढँगले मनाउने गरे पनि थबाङले भने प्रत्येक वर्ष पर्वकै रुपमा जनयुद्ध दिवस मनाउने गरेको छ ।
थबाङले जनयुद्ध दिवसका अवसरमा ठुलो धनराशी खर्च गरेर विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना नियमित रुपमा गर्दै आएको छ ।    त्यसै शिलसिलाको निरन्तर स्वरुप नेकपा थबाङले यस वर्ष पनि पुरुष महिला भलिबल, लघु पुरुष म्याराथुन, व्याडमिन्टन, दोहोरी, एकल नृत्य, बुद्धिचाल (चेस) लगायतका प्रतियोगिताहरुको आयोजना गरेर सप्ताहव्यापी रुपमा जनयुद्ध दिवस मनाउने तयारी गरेको छ ।
प्रतियोगिताहरु मध्ये सबै भन्दा बढि पुरुष भलिबलमा प्रथम स्थान हासिल गर्नेले समुहले ५० हजार प्राप्त गर्ने छ भने सबै प्रतियोगिताहरुमा जम्मा १ लाख ९२ हजार बराबरको पुरस्कार राखेको छ । विभिन्न व्यवसायी र शुभचिन्तकहरुको सहयोगमा कार्यक्रम सम्पन्न गर्न लागिएको अयोजकले बताएको छ । स्मरण रहोस् गत वर्ष सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको समयमा समेत थबाङमा जनयुद्ध दिवस मनाइएको थियो । पार्टी माथि प्रतिबन्ध लगाइएको अवस्थामा प्रशासनसँग लामो छलफल पश्चात युवा संगठन नेपाल आयोजक राखेर जनयुद्ध दिवस मनाइएको थियो ।
यसका साथै नेकपा सुनछहरी गाउँ कमिटी रोल्पाले पनि व्याडमिन्टन प्रतियोगिता र चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । नेकपा सुनछहरीका इन्चार्ज हेमन्तका अनुसार माघ २९ र फागुन १ गते उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :