पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास

पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास

विषय प्रवेश
निकै महत्त्वपूर्ण र जनसरोकारको विषयका सन्दर्भमा आज हामी छलफलमा जुटिरहेका छौँ । अहिले हाम्रो देश निकै कठिन र जटिल मोडमा छ । एकातिर राष्ट्रिय स्वाधीनताको सवाल निकै सङ्गीन बनेको छ भने अर्कोतिर जनजीविकाको सवाल निकै निर्मम, सङ्कटग्रस्त र कहालीलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । चौतर्फी मूल्यवृद्धि, जताततै भ्रष्टाचार, कमिसनखोर, कालोबजारी, तस्करीको बिगबिगी नै छ । अनेकौँ काण्डहरूले गर्दा मुलुक बर्बादीको दिशातर्फ कुदिरहेको छ । देशमा लुटपाट, हत्या, हिंसा, बलात्कारले सीमा नाघेको छ । लाखौँ युवाहरू विदेश पलायन, शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सुरक्षा झनै कष्टपूर्ण र दयनीय बन्दै गएको छ । यो परिवेशमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवसहरूको आयोजना सम्पन्न हुन लागिरहेको यो अन्तरक्रिया कार्यक्रम निकै महत्त्वपूर्ण र समय सान्दर्भिक बन्नेछ । निकै प्रवुद्ध, अध्ययनशील र ज्ञाता अतिथि वक्ता ज्यूहरूको आवश्यक दृष्टिकोण र सुझावहरूले अवश्य यो अन्तरक्रिया कार्यक्रमलाई झनै सार्थक र आन्दोलनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने नै छ ।

‘पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास’
आजको मुख्य विषय यही हो । नेपाल आयल निगम लि. केन्द्रीय कार्यालय, टेकु, काठमाडौले अन्तिम मिति २०७८ माघ १८ गते निगमका सहप्रवक्ता पुष्कर कार्कीको हस्ताक्षरमा प्रेस विज्ञप्ति नै जारी गरेर अन्तिम पटक पेट्रोलियम पदार्थमा निर्धक्क मूल्यवृद्धि ग¥यो र मङ्गलबार राती १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएको छ, आदि आदि । यसको सन्दर्भमा नेपाल आयल निगमको तर्फबाट आफ्नो धारणा यहाँ पनि प्रस्तुत गर्नु हुने नै छ । पेट्रोलियम पदार्थमाथि भएको यो मूल्यवृद्धिले राष्ट्र र नागरिक जनजीविकाको बहुआयामिक पक्षहरूसँग पुगेर स्वतः टकराउने छ । यसको मारले चौतर्फी क्षेत्र प्रभावित हुने नै छन् । यो सही छ कि छैन ? स्वाभाविक रूपमा यसले कैयौँ प्रश्नहरू उठान गराएको छ ।
(१) के पेट्रोलियम पदार्थमाथि वेपर्वाह यस प्रकारको मूल्यवृद्धि अनिवार्य नै भएको हो ?
(२) अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजन गर्दा यस प्रकारको अवस्था सिर्जना गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना भएकै हो ?
(३) के आजको अवस्थामा एक सरकारी व्यापारिक संस्थाहरूले जहिल्यै घाटा व्यहोर्नुपर्ने र त्यसको बोझ जनताले खेप्नुपर्ने नै हुन्छ ?
(४) के यस प्रकारको मूल्यवृद्धिमा चुवाहट, बिचौलिया चलखेल, भ्रष्टाचार, कमिसनखोर, तस्करी, कालोबजारियाहरूको कुनै भूमिका छैन ?
(५) यस प्रकारको अवस्था सिर्जना हुन दलाल पुँजीवादी राज्यसत्ताको गैरजिम्मेवार नागरिक नीतिको कुनै भूमिका रहँदैन ?
(६) के यस प्रकारको मूल्यवृद्धि हुनुमा निगमका कर्मचारीहरूको दैनिक भत्ता, मासिक भत्ता, वार्षिक भत्ता, औषधी भत्ता, भ्रमण भत्ता, सुरक्षा भत्ता, टेक्निसियन र हेल्पर भत्ता, बिरामी भत्ता, चाडपर्व भत्ता, पोसाक भत्ता, घर भत्ता, खाजा भत्ता, यातायात भत्ता, पेट्रोलियम जोखिम भत्ता सुनिनसक्नु भत्तैभत्ताको कुनै भूमिका छैन ?
(७) के यस प्रकारको मूल्यवृद्धि हुनुमा आयल निगमका कर्मचारीहरूलाई वर्षैपिच्छे बाँडिने बोनसले कुनै भूमिका खेलेको छैन ?
(८) के यस प्रकारको मूल्यवृद्धिमा खरिद मूल्य, करसहितको कुल लागत, बिक्री मूल्य र नाफा–घाटाको असमान अवस्थाको विवरण हेर्दा त्यहाँ कुनै चलखेलको भूमिका छैन ? (अर्थात् गत १५ मङ्सिरमा नेपाल आयल निगमले तयार पारेको विवरणअनुसार रु. ७६.३३ मा किनेको १ लिटर पेट्रोललाई रु. १३६ मा बिक्री गर्दा, वा रु. ७६.५५ मा किनेको १ लिटर डिजललाई रु. ११९ मा बिक्री गर्दासमेत राष्ट्र र आयल निगमलाई घाटा र जनतालाई सास्ती हुनुको कारक र छुपेरुस्तम तत्त्व कुन र के हो ?) ।
(९) कार्य सम्पन्न गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै यो वर्ष २०७८ मा मात्रै १ लिटर पेट्रोललाई वैशाख ४ मा रु. १२१, जेठ २ गते रु. १२३, जेठ २२ गते रु. १२५, असार ९ गते रु. १२७, असार २२ गते रु. १२९, भदौ ७ गते रु. १३०, कात्तिक १२ गते रु. १३३, कात्तिक २५ गते १३६ र माघ १८ गते रु. १४२ मा र १ लिटर मट्टीतेललाई त्यसैगरी वैशाख ४ गते रु. १०४, जेठ २ गते रु. १०६, जेठ २२ गते रु. १०८, असार ९ गते ११०, असार २२ गते रु. ११२, भदौ ७ गते रु. ११३, कात्तिक १२ गते रु. ११६, कात्तिक २५ गते रु. ११९ र माघ १८ गते १२५ हुनेगरी र त्यसै अनुपातमा अन्य पेट्रोलियम पदार्थहरूलाई बिक्री गर्ने सरकार र आयल निगमको गैरजिम्मेवार तरिका र दुनियाँलाई चकित पार्ने कार्यशैली के स्वाभाविक र वस्तुपरक छ वा देखिन्छन् ?
(१०) आयल निगमबाट राज्य वा सरकार सञ्चालकहरूलाई सिधै कमिसन, भागबण्डा वा आर्थिक चलखेलले के कति प्रभाव पारेको छ र त्यसको भूमिका मूल्यवृद्धिमा पर्छ वा पर्दैन ?
(११) के पेट्रोलियम पदार्थमा सस्तो मार्केट, कच्चा पदार्थहरूको आफैँ आयात र तेलको उत्पादन गर्ने प्रक्रियाको सुरुवात, कतिपय कम्पनीहरूमा उठाइने शुल्क आदिलाई राज्यले जिम्मेवार ढङ्गले भूमिका खेल्ने कुराले यो स्थितिमा सुधार आउन नसक्ने नै अवस्था किन बन्छ होला ?
(१२) के पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा राज्य र दायित्व, सरकार र जनताको सुव्यवस्था, सरकार सञ्चालन गर्ने पार्टी र नागरिकप्रति खेल्नुपर्ने भूमिका र उत्तरदायित्व मरेतुल्य, मूकदर्शक, गैरजिम्मेवार, दलाल र बिचौलिया प्रकारको भूमिकाले कुनै अर्थ र महत्त्व राख्नु पर्दैन ?
(१३) के पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा साम्राज्यवादी दलाल अर्थनीति र संसारभर सञ्चालित कर्पोरेट पुँजीवादको कुनै भूमिका छैन ?
(१४) के यसो हुनुमा मानवीय संवेदनशीलता, सामाजिक नैतिकता र सामाजिक आचरण मानवीय अनुशासन सम्पूर्ण रूपमा मरिसकेको अवस्थामा पुगेकै हो ?
(१५) पेट्रोलियम पदार्थको विकल्पहरू छन् वा छैनन् ? त्यसतर्फ सम्बन्धित पक्ष र निकायको ध्यान छ वा छैन ? न्युनीकरणका विकल्पहरूको खोजी गर्नुपर्छ वा पर्दैन ? आदि विषय समेत आउँछन् ।

त्यसैले, यस्ता अनेकौँ प्रश्नहरूको उत्तर वा हल जनताले खोज्नुपर्ने आवश्यकता छ कि छैन ? यसमा नागरिक र जिम्मेवार राजनीतिक पार्टीहरू त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको भूमिका मूकदर्शक बन्छ कि बन्दैन ? त्यसो गर्नु सही हुन्छ कि हुँदैन ? यस प्रकारको गतिविधिमा राज्यको मूकदर्शकपन के सही हो ? आकासिँदो मूल्यवृद्धिलाई तत्काल खारेज गर्न माथि उल्लिखित विषयहरूमा सुधार वा सच्चाएर वा देखिएका उल्लिखित विकृतिहरूलाई अन्त्य गरेर वा उत्तरदायित्वमा जिम्मेवार बन्न र बढेको मूल्यवृद्धिलाई खारेज गर्न उपयुक्त हुन्छ कि हुँदैन ?

यस्तो गैरजिम्मेवार राज्यव्यवस्था, अनुत्तरदायी राज्यको अर्थनीतिको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था र वैज्ञानिक समाजवादी अर्थनीतिको माग गर्नु असान्दर्भिक र अवस्तुवादी दृष्टिकोण हुन्छ र ? यथास्थितिवादमा देखिएको र भोगिएको प्रणाली र नीतिहरूलाई आमूल परिवर्तन गरेर नयाँ, वैज्ञानिक र जनउत्तरदायी निकासको सन्दर्भमा छलफल गर्नु र दृष्टिकोण राख्नु के अनुचित हुन्छ र ? यथास्थितिवादी समस्याहरूलाई हल गर्न वैज्ञानिक र अग्रगामी निकासको सम्भावनाबारे छलफल गर्नु अपराध हो र ? वा, आजको सान्दर्भिक आवश्यकता त्यही हो ? यो नै आजको महत्त्वपूर्ण विषय हुन् । ‘पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास’ बारेमा छलफल गर्दा आजको ज्वलन्त प्रश्न यही हो । यसैभित्र उपयुक्त निकासका सम्भावना छन् ।

(नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवसले आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य कमरेड चिरन पुन ‘मिलन’ द्वारा २०७८ माघ २५ मा काठमाडौ प्रस्तुत आधार नोट)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :