प्रकृति सुन्दर सिर्जनानगर माया झन् गाढा भो

गीत

प्रकृति सुन्दर सिर्जनानगर माया झन् गाढा भो

दालिङ्गे शिरमा षोडषी हिँड्छन् जनताका गीत गाउँदै
ढ्वाङछाँगा छेउमा चरीले गाउँछे पिरती लगाउँदै
घाँसदाउरा गर्छन्, डोकामा भर्छन् ग्रामीण दम्पती
गाईं र भैँसी, बोका र बाख्रा ठूलो छ सम्पत्ति ।

अर्थुङ्गे घारी, घाँसैको भारी बनमारा फुलेको
मझुवा बन मुजुरको नाचले मन त्यसै भुलेको
देवीथान बनमा सतीबेर घारी हरियो धँगेरो
सल्ट्यारको चौर, मिर्गको दौड रमायो मन मेरो ।

साथमा छन् हरि, स्याउलाको भारी सानुले कसेको
जङ्गली बाटो, चिप्लो छ माटो मन उतै बसेको
ढाँडचौरको मकै लैजान बेसी डोकामा ठोसेको
स्याउला र मकै बोकेर हिँड्दा सम्झना थालेको ।

ती कान्छा दाजु, ढाँडचौरको घर चैतेको पँधेरो
खोरभरि बाख्रा, गाईभैँसी गोठमा चोरी भो मन मेरो
भुटेका मकै सिलबरे थालमा भट्मास मिसाको
पेटभरि खाइयो, छेउकुना लाइयो दोहोलो चिसाको ।

उपल्टारपारि उकालो बाटो त्यो मैनडाँडाको
प्रकृति सुन्दर सिर्जनानगर माया झन् गाढा भो
गाँडापानी र दालिङ्गे खोला कालापानी बनपाखा
तिमीलाई हेर्न, अङ्कमाल गर्न लालायित छन् आँखा ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :