नेकपासहित ८ राजनीतिक दल/संगठनले बुटवलमा एमसीसीविरुद्ध विरोधसभा गर्ने

नेकपासहित ८ राजनीतिक दल/संगठनले बुटवलमा एमसीसीविरुद्ध विरोधसभा गर्ने

बुटवलः बुटवलमा एमसीसी सम्झौताविरुद्ध नेकपासहित ८ राजनीतिक दल संगठनले माघ २६ गते संयुक्त विरोध सभा गर्ने भएको छ । शुक्रबार बुटवलमा ८ राजनीतिक दलको संयुक्त बैठकले विरोध सभा गर्ने निर्णय गरेको छ ।

बुटवलको जेसिस चोकमा हुने विरोध सभामा सहभागिता जनाउनु हुन सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल समेत गरेको छ ।
बैठकपछि एक वक्तव्य जारी गर्दै देउवा नेतृत्वको गठबन्धन सरकारलाई अमेरिकी सरकारले एमसीसी अनुमोदन गर्न दवाव दिदै आएको भन्दै यो परियोजना तत्काल खारेज गर्न माग गरिएको छ । वक्तव्यमा एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिको अंग भएको भन्दै यो सम्झौता पारित गरिए नेपाल अमेरिकी साम्राज्यवादको क्रिडास्थल बन्ने बताइएको छ ।

संयुक्त वक्तव्यमा पेट्रोलियम पदार्थमा पटकपटक गरिएको मूल्यबृद्धि र दैनिक उपभोग्य वस्तुमा भएको चर्को महंगीले जनताको ढाड सेकिरहेको भन्दै सरकारले गरेको यसप्रकारको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज र चर्को महंगी नियन्त्रण गर्न माग गरिएको छ ।

वक्तव्यमा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रमा भएको सीमा अतिक्रमण र भारतले अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित नदीको वहाव परिवर्तन हुने गरी देशको विभिन्न स्थानहरुमा एकतर्फी बाँधहरु निर्माण गरिरहेको भन्दै नेपाल सरकारले यसबारे कुटनीतिक पहलकदमीद्धारा समस्या समाधान गर्नुको साटो मुखदर्शक बनेकोमा गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज कृति, नेकपा (क्रान्तिकारी माओवादी)का लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदी, नेकपा मसालका चेतनाथ आचार्य, नेकपा मालेका स्थायी समिति सदस्य गोपालमणी ज्ञवाली, नेकपा रुपन्देही सेक्रेटरी विश्वास, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी, देजमोका रामप्रसाद शर्मा, नेकपा (क्रान्तिकारी माओवादी) रुपन्देही सेक्रेटरी विनोद मरासिनी, नेकपा रुपन्देहीका बिरेन्द्र विक, खोमा तरामु मगरलगायतको उपस्थिति रहेको थियो ।

बैठकले विरोध सभाका लागी आवश्यक तयारीहरुको बाँडफाँड समेत गरेको छ । रुपन्देहीमा यसअघिदेखि नै एमसीसी सम्झौताविरुद्ध निरन्तर संयुक्त संघर्ष हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :