नेकपा निकट जवस/मोर्चाद्वारा नेपाल आयल निगम तुलसीपुर इन्धन डिपो कार्यालय घेराउ

नेकपा निकट जवस/मोर्चाद्वारा नेपाल आयल निगम तुलसीपुर इन्धन डिपो कार्यालय घेराउ

दाङः नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस/मोर्चाहरुले नेपाल आयल निगमको दाङ स्थित तुलसीपुर इन्धन डिपो कार्यालय घेराउ गरेका छन् ।

शुक्रवार १ घण्टा इन्धन डिपो कार्याल घेराउ पछिको विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता नलिए अझ कडा संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेशका इन्चार्ज दिपकले शान्तिपूर्ण ढंगले मुल्यबृद्धि फिर्ताको आन्दोलनलाई नटेरे आयल निगमलाई जनताले ध्वस्त पार्ने चेतावनी दिए । उनले भने, `दलाल सत्ताले जनताको शान्तिपूर्ण आन्दोलनमार्फत मुल्यबृद्धि फिर्ताको माग सुनुवाइ नगरे जनताले यो भ्रष्ट आयल निगममा आगो लगाउँने छन् ।`
नेता बिष्टले ८४ रुपैयाँमा किनेको पेट्रोल १४२ रुपैयाँमा बेच्दा समेत घाटा हुन्छ भनेर आयल निगमले जनताको आँखामा छारो हालेको समेत बताए ।
उनले दलाल सत्ताले जनताको धैर्यता तोड्न खोजिरहेको बताउदै जुन दिन आफुहरुको धैर्यताको सिमा तोडिन्छ सत्ताले आन्दोलन थेग्न नसक्ने चेतावनी समेत दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरजले नेपाली जनताको उठिबास गराउने गरि गरिएको मुल्यबृद्धि, महंगी, भ्रस्टाचार, कमिसनखोरका विरुद्ध आफुहरु जुनसुकै मूल्य चुकाउन तयार भएको तर दलाल पुजीवादी सत्ताको हर्कत सहेर नबस्ने बताए । उनले राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा दलाल सत्ता रत्तिभर जिम्मेवार नभएकोप्रति कडा आक्रोश प्रकट गर्दै नेता सुरजले दलाल पुजीवादी राज्यसत्ता रहेसम्म वास्तविक शान्ति, समृद्धि र स्वाधीनता प्राप्त नहुने जिकिर समेत गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज मनोजले नेपाली श्रमजीवी लाखौं युवाहरु यतिबेला मुल्यबृद्धिको विरोधमा सडकमा संघर्ष गरिरहेको बताए । उनले युवाहरुको आन्दोलनप्रति राज्य बारम्बार बेखबर बनिरहेको स्मरण गर्दै मुल्यबृद्धि तत्काल खारेज नगरे भ्रष्ट आयल निगमले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिए । नेता मनोजले आफुहरुले शान्तिपूर्ण ढंगले उच्च लोकतान्त्रिक पद्धति प्रयोग गरि जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवादको एजेन्डा लिएर अघि बढेकाले एकपटक नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिनुपर्ने बताए ।
आयल निगम घेराउ पछिको विरोध सभा कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :