गुन्डागर्दी नरोकिए उचित जबाफ दिने नेकपाको चेतावनी

गुन्डागर्दी नरोकिए उचित जबाफ दिने नेकपाको चेतावनी

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै दिनानुदिन समाजमा बढ्दै गएका हरकिसिमका गुन्डागर्दी नियन्त्रण नभए सामाजिक रूपमा उचित जबाफ दिने चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मिटर ब्याजी बारा जिल्ला निवासी हाल हेटौँडा १० कर्रामा बस्दै आएकी सुलेसा सोनारबाट ठगिएकी पीडित पक्ष रमिला बरालको पटकपटकको आग्रहपछि हिजो मिति २०७८ माग १६ गते १ः३० बजे दुवै पक्षलाई झिकाई छलफल गराउने सिलसिलामा पीडित पक्ष नआइपुग्दै आवेशमा आई पीडक पक्षद्वारा गुन्डागर्दी ढङ्गले पार्टी कार्यालयमा बाहिरबाट ढुङ्गा प्रहारको दुष्प्रयास भयो जुन निन्दनीय, अपराधपूर्ण र दण्डनीय हो ।’

विज्ञप्तिमा भनिएको छ, ‘जनताको वैकल्पिक शक्तिका रूपमा उदय भइरहेको हाम्रो जनप्रिय पार्टीे नेपाल कम्युनिस्ट पार्टी हाल सञ्चालित राज्यव्यवस्थाका कारण देशमा व्याप्त राष्ट्रघात, घूसखोरी, भ्रष्टाचार, कालोबजारी, महँगी, विकृति, विसङ्गति, बलात्कार, लागूपदार्थ दुर्व्यसनी, गुन्डागर्दी, ठगीलगायत सबै किसिमको अपराध अन्त्य गर्न चाहन्छ । यसका लागि जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना अपरिहार्य छ ।’

विज्ञप्तिमा न्याय महँगो भएको, दलाल पुँजीवादी सत्ता, सरकार र संसद्‌वादी पार्टीहरूको राष्ट्रघाती, जनविरोधी, भ्रष्टाचारी, दलाल चरित्रले गर्दा देश आजसम्म स्वाधीन हुन नसकेको, न्यायालयबाट पीडित सर्वसाधारणले न्याय नपाएको, राजनीतिक संरक्षणकै कारण नेपाल प्रहरीले अपराध र गुन्डागर्दी पूर्ण रूपमा नियन्त्रण गर्न नसकेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको जिम्मा लिएको यो राज्यले सर्वसाधारण जनतालाई उचित राहत र पूर्ण न्याय दिन नसकेकै कारण आज ठगिएका, हेपिएका, अन्यायमा परेका आमसर्वसाधारण नागरिक न्याय खोज्दै केही झिनो आशाका साथ विप्लव नेतृत्वको नेकपाको कार्यालयमा आउन बाध्य छन् । यो स्वाभाविक हो ।’

विवादका दुवै पक्षलाई छलफलका लागि बोलाउँदा पीडित पक्ष नआइपुग्दै पीडक पक्ष आवेशमा आई बाहिरबाट गुन्डागर्दी शैलीमा ढुङ्गा प्रहार गर्ने दुष्प्रयास गरेको भन्दै नेकपाले उक्त घटना निन्दनीय, अपराधपूर्ण र दण्डनीय भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :