समाजवाद र महिला

समाजवाद र महिला

‘परिणामस्वरूप अत्यन्तै गडबड भयो र त्यसलाई ठीक गर्नका लागि एउटै मात्र मार्ग बाँकी रह्यो– मातृ अधिकारको ठाउँमा पितृ अधिकार कायम गरियोस् र यस ढङ्गले धेरथोर गडबढी दूर भयो पनि । समग्रमा यो ज्यादै स्वाभाविक सङ्क्रमणजस्तो देखिन्छ ।’

काल मार्क्स

‘मातृ–अधिकारको उन्मूलन नारी जातिका लागि विश्व–ऐतिहासिक महत्वको पराजय थियो । अब घरभित्र पनि पुरुषले आफ्नो आधिपत्य जमायो । नारीलाई पदच्यूत गरियो र दासत्वमा जकडियो । वीरकालका र त्यसभन्दा पनि बढी शास्त्रीय कालका युनानीहरूमा नारीको यो पतीत हैसियत स्पष्टसँग देखियो । पछि बिस्तारैबिस्तारै किसिमकिसिमका आवरणले ढाकेर तथा सजाएर र आंशिक रूपमा थोरै नरम रूप दिएर त्यसलाई पेस गर्न लागियो तर यो गिरावट कहिल्यै पूरा भएन ।’

एङ्गेल्स, परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति

महिला वर्गमा भएको सहनशीलता र कोमलताको फाइदा उठाउँदै प्राकृतिक रूपमा प्राप्त मातृ अधिकार षड्यन्त्रमूलक ढङ्गले बल प्रयोगबिना नै स्वाभाविक रूपमा मातृ उत्तराधिकारीको प्रथालाई उल्ट्याइयो र त्यसको ठाउँमा पैतृक उतराधिकारी प्रथा स्थापित भयो जसका कारण महिलामाथि पुरुषको एकल अधिकार कायम हुनु, श्रम विभाजनमा–उत्पादनशील श्रममा पुरुष हुनु, अनुत्पादनशील श्रममा महिला हुनु, उत्पादनका साधन र स्रोतमा निजी स्वामित्व कायम हुनु आदी रह्यो । इतिहासमा पितृसत्ताले दिएको धोका र षड्यन्त्रको अन्त्य गर्न कति क्रान्ति भए, कति सङ्घर्षहरू भए, सयौँको सङ्ख्यामा महिलाहरूले बलिदान दिए तर सामान्य सुधार मात्रै भयो । नारी जातिमाथि भएको अपमानजनक पराजयलाई विजयमा बदल्न कसैले सकेको छैन । अब यसको विकल्प विश्वका बहुसङ्ख्यक सर्वहारा श्रमजीवी वर्गमाथि शोषण, दमन र एकाधिकारवादी प्रभुत्व जमाएर रहेको दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको उदयबाट मात्रै आम सर्वहारा श्रमजीवी वर्गको मुिक्त सम्भव छ । स्वतः वर्गको मुक्तिसँगै महिला मुक्ति अनिवार्य हुन आउँछ ।

दलाल पुँजीवादी व्यवस्था के हो ?

‘पुँजीवादी व्यवस्थामा कम पुँजी भएका वर्गका महिलाहरूको संसार उनीहरूको घर हो जब कि सर्वहारा महिलाहरूको घर पूरा विश्व हो । निरङ्कुश, क्रूरता, दुःखहरू र खुसीले भरिएको संसार हो ।’  –रोजा लक्जमबर्ग

दलाल पुँजीवादी व्यवस्था भनेको बहुसङ्ख्यक सर्वहारा श्रमजीवी जनताको रगत, पसिना र श्रमको शोषणद्वारा आर्जित पुँजी सीमित व्यक्तिको हातमा केन्द्रित गरी बहुसङ्ख्यक जनतामाथि शासन गर्ने र मालिकको चाकडी गर्ने एकखालको परजीवी पुँजीवाद हो । यसले विश्वका सीमित पुँजीपति वर्गका कम्पनीहरूमार्फत अति एकाधिकारवादी र अति केन्द्रित तरिकाले विश्व–समुदायमा लूट मच्चाइरहेको छ । हुँदाहुँदा राज्यसत्ता नै नियन्त्रणमा लगेको छ । यसले महिला वर्गमा एनजीओ, आईएनजीओमार्फत रूपमा औपचारिक समानताको गुलियो नारा फलाकेको छ । सारमा दोस्रो दर्जाको नागरिकको तक्मा भिराइदिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा अधिकारविहीन चरम उत्पीडनको सिकार बनाएको छ ।

समानताको नारामा फैलाइएका खराबीहरू

१) अनुत्पादनशील श्रममा कैद गर्नु

मातृप्रधान समाजअन्तर्गत महिलाहरूले नै उत्पादन (वितरण) को नियन्त्रण गर्दथे । आधुनिक ढङ्गको खेतीपातीमा महिलाहरूको नै प्रमुख भूमिका हुन्थ्यो । जब जनावरका बथान वा अन्य सम्पत्तिका कारण कबिलामा क्रान्ति भयो, गोत्रको सामूहिक स्वामित्वबाट अलगअलग परिवारमा मुखियाहरूको निजी सम्पत्तिमा परिणत भयो । त्यसको मालिक पुरुष नै हुन थाल्यो । त्यसपछि श्रम विभाजनमा जीवनका लागि चाहिने आवश्यक साधन जुटाउने, उत्पादन गर्ने, त्यसको स्वामी पनि पुरुष नै बन्न थाले । महिलाले उपभोगको हिस्सा लिए पनि स्वामित्वमा कुनै पनि हिस्सा थिएन । पुरुषले आफूलाई स्थापित गर्यो । महिला वर्गलाई दोस्रो दर्जामा धकेलिदियो । महिला घरेलु कामकाजमा मात्र सीमित भई । अब उसका लागि संसार चुलो, चौको, घर, श्रीमान्को सेवा, बच्चाको पालनपोषण मात्रै हुन गयो । सामाजिक उत्पादनका सबै क्षेत्रबाट निकाला गरियो । मूल्यहीन श्रममा कैद गरियो । आजको पुँजीवादी युगसम्म पनि महिला यही अन्यायको सिकार भएका छन् ।

२) वेश्यावृत्तिको विकास गर्नु

‘जहिलेदेखि समाज वर्गमा बाँडियो तहिलेदेखि नै अनिवार्य रूपले वेश्यावृत्ति पनि सुरु भयो । प्रस्ट छ जबसम्म धनसम्पत्तिका आधारमा अरूलाई किन्ने, कज्याउने र उसको शोषण गर्ने शोषक वर्ग रहनेछ तबसम्म वेश्यावृत्ति पनि अनिवार्य रूपमा रहनेछ । –एङ्गेल्स

आदिम वर्गविहीन गण समाजमा वेश्यावृत्ति भन्ने शब्द जन्मेको थिएन । दासयुगबाट नै वेश्यावृत्ति जन्मेको हो र सामन्ती युगमा हाँगा हाली पुँजीवादी युगमा फलेफुलेको हो । यसका जन्मदाता गरिब जनता नभई शोषक वर्ग नै हुन् । संसारमा ठूला पुँजीपति देश र पुँजीपति वर्गले आफ्नो व्यापारका लागि र राज्यले पनि कर असुलीका लागि निश्चित इलाका नै छुट्ट्याएका छन् । वेश्यावृत्ति महिलाहरूको कमजोरी नभई पुँजीवादी राज्य व्यवस्थाको कमजोरी हो । यसको मूल कारण आर्थिक कठिनाइ हो । आर्थिक सङ्कटले ग्रस्त भएका महिलाहरू अरू कुनै सम्मानजनक पेसा पाउन नसकी आफ्नो इच्छाबिना परपुरुषलाई पैसाका निम्ति शरीर सुम्पन्न बाध्य छन् । व्यापारीले समाजमा जोसँग जे छ त्यही बेचेर खान्छ । वस्तु हुनेले वस्तु बेच्छ, दिमाख हुनेले बुद्धि बेच्छ, शरीर हुनेले शरीर बेच्छ ।

३) पुँजीपतिले विलासिताको साधन बनाउनु

पुँजीपतिहरूले महिलाहरूलाई पुँजी आर्जन गर्ने आफ्नो भोगविलास र मनोरञ्जनको कठपुतलीभन्दा अरू केही ठान्दैनन् । आफ्ना सामान बिक्री गर्न विज्ञापनको साधन बनाएका छन् । नाइट क्लब, डान्स बार, दोहोरी साँझ, सिनेमाहरूमा मदिरा सेवन गराई ग्राहक आकर्षित गरी व्यापार गर्ने माध्यम बनाएका छन् । यो महिलामाथिको शारीरिक र मानसिक शोषण हो । पुँजीपतिहरूले गरिब महिलाका कोख भाडामा लिएर बच्चा जन्माउने र विदेशमा बच्चा बिक्री गर्ने गरिरहेका छन् । आफ्ना ‘आइमाई’ को सौन्दर्य बिग्रिन्छ भनेर गरिब महिलाहरूलाई दूध चुसाउन, बच्चा स्याहारसुसार गर्ने धाईआमा बनाएका छन् । यो पनि पुँजीपतिको विलासिताका लागि हो भने गरिब महिलाको आर्थिक कठिनाइ हो । पुँजीवादीहरू छाडावादलाई महिला स्वतन्त्रताको पराकाष्ठा सम्झन्छन् ।

महिलाहरूले जुनसुकै व्यवस्थामा पनि आफ्नो शरीरमाथिको अधिकार आफैले कायम गर्न सकेनन् किनकि दासयुगमा कमाराकमारीका रूपमा रहे र मालिकका दासी बने, मालिककै अधिकार कायम रह्यो । सामन्तवादी युगमा सामन्तका नोकर बने, सामन्तकै आधिपत्य रह्यो । पुँजीवादी युगमा जोसँग पैसा छ उसकै अधिकार रह्यो । यो महिलाहरूको कमजोरी नभएर बाध्यता थियो । सत्ताविहीन, सम्पत्तिविहीन, रोजगारविहीन भएपछि पुँजीवादी समाजमा जे आफूसँग छ त्यही बेचेर खाने कुरा अन्यथा थिएन । अब यसको उचित समाधान वैज्ञानिक समाजवादी व्यवस्थाले दिनेछ ।

४) वस्तुझैँ खरिदबिक्री गर्नु

पुँजीवादी व्यवस्थाले महिलाहरूलाई मानवताका आधारमा कुनै नागरिकमाथि राज्यले पूरा गर्ने दायित्वभन्दा आफ्नो मुनाफाका लागि छोरीचेलीलाई खरिदबिक्री गर्ने चलन स्थापित गरेको छ । विदेशका कोठीहरूमा गरिब महिलाको शरीर बिक्री भएको छ । पुँजीपतिहरूले घरमा यौनदासीका रूपमा प्रयोग गरिरहेका छन् । प्रेमका आधारमा विवाह गर्नेभन्दा पुँजीका आधारमा विवाह गर्ने बस्तुभाउझैँ मूल्य तोक्ने चलन छ । त्यो कम भयो भने विवाह नगर्ने र गरे पनि दाइजो कम भयो भनेर मानसिक र शारीरिक यातना दिने गरिन्छ । यही कारणले कयौँ महिलाले आत्महत्या गर्नुपरेको छ । यस्तो खरिदबिक्री गर्ने चलन मानवताविरोधी हर्कत हो । विश्वसुन्दरी, उपभोग्य वस्तुको विज्ञापन, ब्रान्ड एम्बेस्डरजस्ता सन्दर्भ यसैका उपज हुन् ।

५) समान श्रम र असमान ज्याला हुनु

अहिलेको पुँजीवादी व्यवस्थाले महिला र पुरुषमा पनि ठूलो विभेद गरेको छ । कुनै मजदुर महिला ज्यालादारी श्रम गर्छ, पुरुष पनि ज्यालादारी श्रम गर्छ, काम एउटै हो तर ज्याला पुरुषलाई बढी र महिलालाई कम दिने चलन छ । यो असाध्यै अन्यायपूर्ण छ । महिलाले घरमा गर्ने काम र कुनै जागिरदार पुरुषले गर्ने काममा ठूलो अन्तर छ । श्रम हेर्दा पुरुषको मानसिक श्रम छ, मूल्य छ तर त्योभन्दा जटिल काम महिलाको छ तर त्यो मूल्यविहीन छ । बाहिर पुँजीवादी व्यवस्थाका मतियारहरूले महिला समानताका लागि लगाएको नारा बकबास मात्र हो ।

६) धार्मिक, सांस्कृतिक शोषण हुनु

प्राकृतिक सत्तामा आधारित मानव समाजले आफ्नो रक्षाका लागि प्रकृति (सूर्य, चन्द्रमा, वरपीपल, पानी, हावा) को पूजा गर्दथ्यो । त्यतिबेला जात, धर्म, ईश्वर, भगवान् भन्ने केही थिएन । जब वर्गविभाजित समाजको उदय भयो, शासक वर्गले आफ्नो सत्ता रक्षाको साधनका रूपमा धर्मको विकास गर्यो । कालान्तरमा धर्म नै उत्पीडित वर्गमाथि शोषण, दमनको हतियार बन्यो । अहिले महिलाहरूमा हिन्दु, क्रिस्चियन, बौद्ध, मुस्लिम, इसाई धर्मका नाममा दमन, शोषण र उत्पीडन भइरहेको छ । जुनसुकै संस्कारसँग धर्मलाई जोडेर भगवान्, ईश्वर, हल्लाह, परमेश्वरको नाम नलिएर सन्तोष नहुने अवस्था छ । यो अध्यात्मवादी दृष्टिकोण हो । धर्म उसको कानुन हो । यो विचार र कानुनका विरुद्ध उत्पीडित वर्गले सङ्घर्षद्वारा विजय प्राप्त नगरी महिला मुक्ति सम्भव छैन ।

वैज्ञानिक समाजवादी व्यवस्था भनेको हो ?

‘महिलाहरूको आन्दोलनको मुख्य उद्देश्य महिलाहरूको औपचारिक समानताका लागि मात्र होइन, आर्थिक तथा सामाजिक समानताका लागि पनि लड्नु हो । मुख्य काम महिलाहरूलाई सामाजिक रूपले उत्पादक श्रममा तान्नु हो, उनीहरूलाई घरेलु दासत्वबाट निकाल्नु हो, भान्से एवम् धाईको निरन्तर चाकडी तथा अलग वातावरणको तिरर्थक एवम् अपमानजनक सेवाबाट मुक्त गर्नु हो । –लेनिन ४ मार्च– १९२०

पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्य व्यवस्थाले पैदा गरेका वर्गीय अन्तरविरोध, जातीय, क्षेत्रीय, धार्मिक र लैङ्गिक रूपमा गरिएका दमन र उत्पीडनको अन्त्य गर्दै उत्पादनका साधनमा सामूहिक स्वामित्व कायम गर्ने पूर्ण समानतामा आधारित व्यवस्था हो । महिला वर्गमा पितृसत्ताको उदयदेखि पुँजीवादी युगसम्म लादिएका सबैखाले उत्पीडन, शोषण र दमनको अन्त्य गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा पूर्ण समान अधिकार प्रधान गर्ने व्यवस्था नै वैज्ञानिक समाजवादी व्यवस्था हो । यो व्यवस्थाले महिलाहरूका क्षेत्रमा हल गर्नुपर्ने केही सवालहरू निम्न छन् :

१) सम्पत्तिमाथि स्वामित्वको सवाल

जति बेला मानव समाजमा सामूहिक स्वामित्वमा आधारित सम्पत्ति थियो त्यति बेला मातृप्रधान समाज थियो । महिला र पुरुषको समान ढङ्गले उत्पादन गर्ने, उपभोग गर्ने, श्रम विभाजन पनि सामान ढङ्गले गरिएको थियो । कसैले कसैमाथि शोषण, दमन र उत्पीडन गर्ने भन्ने थिएन । जब निजी स्वामित्वमा आधारित सम्पत्तिको विकास भयो मातृप्रधान समाजको अन्त्य भई पितृसत्ताको उदय भयो त्यति बेलादेखि महिला वर्ग दोस्रो दर्जाको नागरिकमा परिणत भयो । महिलामाथि अनेकौँ शोषण, दमन, उत्पीडनका तानाबाना बुनिए । इतिहासमा पहिलो दासी पनि महिला र अन्तिम दासी पनि महिला हुन पुगे । त्यसैले महिला मुक्तिको मुख्य र पहिलो सवाल निजी स्वामित्वमा आधारित सम्पत्तिको अन्त्य र सामूहिक स्वामित्वमा आधारित सम्पत्तिको विकास गर्नुपर्छ । उत्पादनका साधन–स्रोतमा सामूहिक स्वामित्व हुनुपर्छ । सम्पूर्ण सम्पत्ति राज्यको हुनुपर्छ । उत्पादन, उपभोग र वितरणमा समानता कायम हुनपर्छ अनि बास्तविक महिला मुक्ति सम्भव छ ।

२) राजनीतिक सत्ताको सवाल

‘राज्य भनेको उत्पीडित वर्गको दमनका निम्ति चाहिने विशेष शक्ति हो ।’ –एङ्गेल्स

‘सत्ताका लागि भएको सङ्घर्षमा जितको ग्यारेन्टी उदारवादीहरूद्वारा सिनेटर तथा मेयर छान्नमा मद्दत गरेर प्राप्त हुँदैन, बरु सर्वहारा जनसमुदायको सङ्घर्षमा भाग लिने तयारीबाट प्राप्त हुन्छ ।’ –रोजा लक्जमबर्ग

दलाल पुँजीपति वर्गले बहुसङ्ख्यक सर्वहारा श्रमजीवी वर्गमाथि सत्ताको विशेष शक्तिद्वारा शोषण र दमनको नीति अवलम्बन गरेको छ । बहुसङ्ख्यक सर्वहारा श्रमजीवी जनताले पनि बल प्रयोगको माध्ययमबाट सर्वहारा वर्गको अधिनायकत्वसहितको राज्यसत्ता स्थापना गर्न जरुरी छ । अझै इतिहासको पहिलो सर्वहारा वर्ग महिला हो । यसलाई षड्यन्त्रपूर्ण ढङ्गले पितृसत्ताले अधिकारच्यूत गरी दासमा परिणत गर्यो । आफू सत्तामा विराजमान भयो । यसको क्षतिपूर्तिसहित राज्यसत्ताको बागडोर आफ्नो हातमा लिन जरुरी छ । दलाल संसदीय व्यवस्थाले सङ्घर्षको बलमा कानुनमा दर्ज भएको ३३ प्रतिशत महिला प्रतिनिधित्व पनि कार्यान्वयनमा हिचकिचाइरहेको छ । सेरेमोनियल राष्ट्रपति, केही उपमेयर, केही सांसद दिँदैमा महिला मुक्ति हुँदैन । वास्तविक महिला मुक्तिका लागि पहिलो–सीमित दलाल पुँजीपति वर्गको आधिपत्य रहेको राजनीतिक अधिकारलाई बहुसङ्ख्यक सर्वहारा श्रमजीवी जनताको हातमा अधिकार स्थापित गर्नु पर्दछ । दोस्रो– राज्यसत्ताका सम्पूर्ण अङ्गमा उम्मेदवार छनोट गर्दा जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नु पर्दछ । तेस्रो– पार्टीले महिलालाई विश्वासका साथ चौतर्फी नेतृत्व विकास गर्नुपर्छ, पार्टी र सत्तामा बनेका महिलासम्बन्धी नीति र कानुनहरूलाई हुबहु व्यवहारमा कार्यान्वयन गर्नुपर्दछ । चौथो– महिलाहरूलाई नेतृत्वमा विकास गर्न वैचारिक, राजनीतिक स्कुल, प्रशिक्षण सञ्चालन गर्नु पर्दछ ।

३) श्रममा समानताको अधिकार

कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालन हुने वैज्ञानिक समाजवादी व्यवस्थामा समान श्रम र समान ज्याला निर्धारण हुनेछ । घरेलु काम मिलिजुली महिला र पुरुषले समान ढङ्गले गर्नु पर्नेछ । बच्चाबच्चीहरूको व्यवस्थापन, शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनेछ । एउटा परिवारले दुईटा मात्रै सन्तान जन्माउने कानुन हुनेछ । यो व्यवस्थामा क्षमताअनुसारको काम, कामअनुसारको दामको ग्यारेन्टी हुनेछ । महिला आर्थिक रूपमा आत्मनिर्भर हुनेबित्तिकै महिलामा लादिने शोषण–उत्पीडन अन्त्य हुनेछ ।

४) सामाजिक सुरक्षाको अधिकार

वैज्ञानिक समाजवादी व्यवस्थामा सामाजिक सुरक्षासम्बन्धी विशेष कानुन राज्यले बनाउनेछ । सामूहिक बलात्कारजस्तो जघन्य अपराधको सिकार भई मर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । समाजमा यस्ता घटना भएमा राज्यले दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नेछ । पैसाका आधारमा गरिने विवाहलाई खारेज गर्नेछ । प्रेमका आधारमा गरिने विवाहलाई मान्यता दिनेछ । दाइजोप्रथा पूर्ण रूपले अन्त्य गरिनेछ । दाइजो कम भएका कारण मर्नुपर्ने अवस्था आउनेछैन । छाउपडी प्रथा, घुम्टोप्रथा, तलाकप्रथा, जारीप्रथा पूर्ण रूपमा अन्त्य हुनेछ । बेरोजगारीका कारण देहव्यापार गर्नुपर्ने अवस्था उत्पन्न हुनेछैन । समाजमा शान्तिसुरक्षामा खलल पुग्ने, अराजकता, दण्डहीनता पूर्ण रूपले अन्त्य हुनेछ । जाँड, रक्सी, जुवा, तास, लागूपदार्थको उपभोग राज्यले नियन्त्रण गर्नेछ । समाजमा जन्म संस्कार, मृत्यु संस्कार र विवाह संस्कारलाई सहज, सरल र सस्तो बनाइनेछ ।

५) शरीरमाथिको अधिकार

महिलाहरूले जुनसुकै व्यवस्थामा पनि आफ्नो शरीरमाथिको अधिकार आफैले कायम गर्न सकेनन् किनक दासयुगमा कमाराकमारीका रूपमा रहे र मालिकका दासी बने, मालिककै अधिकार कायम रह्यो । सामन्तवादी युगमा सामन्तका नोकर बने, सामन्तकै आधिपत्य रह्यो । पुँजीवादी युगमा जोसँग पैसा छ उसकै अधिकार रह्यो । यो महिलाहरूको कमजोरी नभएर बाध्यता थियो । सत्ताविहीन, सम्पत्तिविहीन, रोजगारविहीन भएपछि पुँजीवादी समाजमा जे आफूसँग छ त्यही बेचेर खाने कुरा अन्यथा थिएन । अब यसको उचित समाधान वैज्ञानिक समाजवादी व्यवस्थाले दिनेछ । सत्तामाथि समान अधिकार, सम्पत्तिमाथिको स्वामित्वमा समान अधिकार, रोजगारीको पूर्ण सुनिश्चितता हुनेबित्तिकै महिलाहरूको आफ्नो शरीरमाथिको आत्मनिर्णयको अधिकार पनि सुनिश्चित हुनेछ ।

६) चुलोचौकोको पारिवारिक कामबाट मुक्त गर्ने

चुलोचौकोको पारिवारिक कामको बहानामा महिलाहरूलाई कज्याउन र चार पर्खालभित्र कैदी बन्दी बनाउने काम गरिरहेको छ । यसबाट पूर्ण रूपमा मुक्त नभई महिला अधिकारका कुरा गर्नु कोरा आदर्श मात्रै हुनेछ । त्यसैले अबको समाजवादी व्यवस्थामा यस्तो कैदी जीवनबाट महिलाहरूलाई पूर्ण रूपमा मुक्त गरी सामाजिक उत्पादनका क्षेत्रमा सरिक गराउन पर्दछ ।

अतः महिला मुक्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्था मात्रै सबै व्यवस्थाभन्दा उन्नत व्यवस्था साबित भएको छ । पितृ सत्ताको उदयदेखि पुँजीवादी युगसम्म महिलामाथि लादिएका सबैखालका शोषण, दमन र उत्पीडनको अन्त्य गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा पूर्ण समानतामा आधारित राज्य व्यवस्था नै वैज्ञानिक समाजवादी राज्य व्यवस्था हो । यो व्यवस्था प्राप्तिका लागि महिला वर्गले अन्तिम सङ्घर्षमा आफूलाई तयार गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :