वर्गीय दृष्टिकोणकै प्रतिबिम्ब तीज

विषय प्रारम्भ

आध्यात्मवादी दृष्टिकोणबाट निर्देशित काल्पनिक कथामा आधारित शासक वर्गीय सत्ता संरक्षणका लागि निर्माण गरिएको संस्कृतिको एउटा रूप हो तीज । सारमा शासकीय सत्ता टिकाइराख्ने उत्पीडित मूल रूपमा महिलामाथि लादिएको शोषणको दमनको हथकण्डा हो यो । सामन्तवादी मान्यताअनुसार महिलालाई दास, खेलौना, बच्चा जन्माउने मेसिन, यौनचाहना पूरा गर्ने उपकरण पितृसत्ताले बनाएको छ । पुँजीवादी मान्यताअनुसार उत्तरआधुनिकतावादी साम्राज्यवादी संस्कृतिले महिला स्वतन्त्रताका नाममा अराजकता, विकृति–विसङ्गती र विशुद्ध माहिलावादी बनाइदिएको छ । हिन्दु धर्ममा आधारित भए पनि तीजको आधुनिकीकरणका नाममा यसलाई अझ बढी मलजल गरेको छ ।

महिलाभित्र पनि धनी र गरिब वर्गका बीचमा अन्तरविरोध चर्कंदै गएको छ । धनी महिलाहरूको लवाइ, खुवाइ, तामझाम, फेसन सो, गहना प्रदर्शन गर्ने, होटेल बुक गरेर विभिन्न परिकारका भोजन, मिष्ठान्न र महँगो रक्सीका बोतलमा रमाउँदै एकअर्कामा चर्को प्रतिस्पर्धा गरेको देखिन्छ । गरिब महिलाहरू यिनीहरूका सामु निरीह र लज्जित महसुस गर्नुपर्ने अवस्था हुँदा ऋण गरेर पनि धनी महिलाको सिको गर्नुपर्ने बाध्यात्मक स्थिति उत्पन्न भएको छ । महिलामा देखिएको यो असमानता वर्गीय अन्तरविरोधकै समाधान हो । त्यसैले वर्गीय सत्ताको समस्या समाधान नगरी बहुसङ्ख्यक उत्पीडित वर्गको समस्या समाधान हुँदैन ।

यसर्थ एक्काईसौँ शताब्दीका युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षित महिलाहरूको पहिलो दायित्व दलाल संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नु हो । दोस्रो सत्ता परिवर्तनसँगै बहुसङ्ख्यक जनताको मनोभावना सम्बोधन हुने सहज र सरल संस्कार र संस्कृति निर्माण गर्न जरुरी छ । अनि मात्र वास्तविक समानता पैदा हुन्छ । यहाँ तीज के हो ? यसको उत्पत्ति कसरी भयो ? वैज्ञानिक युगका महिलाहरूको भूमिका के हुने भन्नेबारेमा चर्चा गर्न खोजिएको छ ।

हरितालिका तीजको उत्पत्ति

पौराणिक मान्यताअनुसार काल्पनिक कथामा आधारित हरत+हालिकाबाट हरितालिका शब्द बनेको हो । हिन्दी भाषामा हरत भनेको अपहरण र हालिका भनेको संगिनीहरू भन्ने बुझिन्छ । उक्त काल्पनिक कथाका आधारमा परापूर्व कालमा माता गौरीले सतीदेवीको निधनपछि हिमालय पर्वतकी पत्नी मेनकाको गर्भबाट पार्वतीका रूपमा जन्म लिइन् । सानै उमेरदेखि पार्वतीले महादेव पति पाऊँ भनी चिसो समयमा पानीमा उभिएर, गर्मीयाममा अग्निको छेउमा बसेर १२ वर्षसम्म पातपतिङ्गर खाएर कठोर तपस्या गरिन् । उनको यस्तो निष्ठाबाट प्रभावित भई भगवान् विष्णुले पार्वतीका बुबासँग आफूसँग विवाहका लागि मागे र हिमालय धेरै खुसी भएर आफ्नी छोरीलाई सुनाए । पार्वती धेरै दुःखी भइन् । पार्वतीको जीवनमा सङ्कट आयो । बुबाको कुरा नमानौँ जन्म दिने बुबाको अपमान हुने, मानौँ विष्णु मनपरेको छैन । शिवजी पति पाउन त्यत्रो तपस्या गरेको । त्यसैले पार्वती विष्णुसँग विवाह गर्नुभन्दा आफ्नो प्राण त्याग गर्ने निर्णयमा पुगिन् । त्यो कुरा आफ्ना सङ्गीहरूसँग सुनाइन् । तिनका सङ्गीहरूले भदणै महिनाको शुक्ल पक्षको तृतीया तिथिको दिन पार्वतीलाई अपहरणको शैलीमा अनकन्टार जङ्गलमा पुर्याँ । त्यहाँ पार्वतीले शिवलिङ्ग बनाएर तपस्या गरिन् । त्यसबाट प्रभावित भई जोगीको भेषमा शिवजी आई बरदान दिए– म तिम्रो पतिका रूपमा आउनेछु । पछि हिमालय पर्वतले बाध्य भएर ज्वाइँ स्वीकार्नुपर्ने अवस्था आयो ।

यो सुन्दा प्रारम्भिक चरणमा पार्वतीले आफ्नो बुबासँग गरेको विद्रोह हो । यसलाई प्रगतिशील कदम नै मान्न सकिन्छ । तर बिस्तारै समाज विकास र विस्तारसँगै सत्ता संरक्षणको साधनमा परिणत हुन पुग्यो ।

कसरी तीज उत्पीडनको साधनमा परिणत भयो ?

समाज विकासको प्रक्रियासँगै मूल रूपमा महिलामा रहेको सहनशीलता र कोमलताको फाइदा उठाएर मातृसत्ताको विघटन गर्दै पितृसत्ताको स्थापना भएको थियो । त्यही सत्ताका शासक वर्गको अधिनायकताको राज्यसत्ता बलियो बनाउन उत्पीडित वर्गमाथि विभिन्न नामका उत्पीडनका स्वरूपहरू खडा गरियो । सांस्कृतिक रङको लेपन लगाएर धर्मको आड लिएर आफ्नो लुटको स्वर्ग टिकाउन महिलामाथि शोषण, दमन र उत्पीडन आवश्यक भएकाले विभिन्न चाडपर्वको सहारा लिएको पाइन्छ । एउटा नमुना हरितालिका तीज पनि हो । यो न कुनै सत्यमा आधारित छ, न त कसैले आफ्नो आँखाले देखेको छ । काल्पनिक कथाका आधारमा महिलहरूमाथि लादिएको शोषणको एउटा रूप हो । हिन्दु धर्मको पौराणिक कथाका अनुसार विवाह नगरेकी कन्या केटीले तीजको व्रत लिए राम्रो पति पाउने, विवाह गरेकी महिलाले व्रत लिँदा श्रीमान्को आयु लामो हुने, त्यसैले पानी नखाएर निराहार व्रत बस्नुपर्ने, तीजको दिन श्रीमान्को खुट्टा धोएर पानी खानुपर्ने मान्यता छ । अर्को पौराणिक कथामा भनिएको छ, ‘तीजको व्रतको दिनमा जो महिला सुत्छ त्यो अर्को जन्ममा अजिङ्गर बन्छ । जसले दूध पिउँछ सर्पिनी बन्छ । जो व्रत बस्दैन, त्यो बिधुवा बन्दछ । जसले सखर खान्छ त्यो झिँगा भन्छ । जसले मासु खान्छ त्यो बघिनी बन्छ । जसले पानी पिउँछ त्यो माछा बन्छ । जसले अन्न खान्छ त्यो सँुगुर बन्छ । जसले फलपूmल खान्छ त्यो बाख्रा बन्छ । त्यसैले शिव, पार्वती, गणेशको मूर्ति बनाएर पूजाआराधना गर्नुपर्छ भन्ने परम्परागत मान्यता छ ।

तथाकथित हिन्दु धर्म–संस्कृतिमा आधारित सामन्ती पितृसत्तावादी चिन्तनले ग्रसित महिलाहरूमाथि लादिएको उत्पीडनको एउटा हथकण्डा हो । यसले महिला समुदायलाई निम्नतीन वर्गमा विभाजित गरिदिएको छ :

१) हुने खाने वर्ग

यो वर्गका महिलाहरू तीज आउनु एक महिना अगाडिदेखि सुन्दरी हुने, फेसन सो गर्ने, ठूल्ठूला गहनाहरू प्रदशन गर्ने, ठूला होटेल बुक गरेर महँगो रक्सी र विभिन्न परिकारको मिष्ठान्न भोजनमा रमाउने एकअर्कामा चर्काे प्रतिस्पर्धा गरेको देखिन्छ ।

२) हुँदा खाने वर्ग

यो वर्गका महिलाहरूले पनि सकिनसकी हुनेखाने वर्गका महिलाको सिको गरिरहेका छन् । यो वर्गका महिलाहरू जता बलिया उतै ढलिया हुन्छन् ।

३) गरिब वर्ग : यो वर्गका महिलाहरूको पीडा अचानाको पिर खुकुरीलाई थाहा हुँदैन भनेजस्तै, यिनीहरू आफ्नो भाग्यलाई सराप्दै भन्ने गर्छन् :

जता धन त्यतै मन यो मान्छेको जात पनि
मेरो भाग्य यस्तै रैछ छोड्यौ साथ पनि

यस्ता गीत गाउँदै एकअर्कासँग दुःख पोख्दै आँसु झारेर रोइरहेका हुन्छन् । आज महिलाहरूको असमानताको जड नै पितृसत्तावादी वर्गीय राज्यसत्ता नै हो । अब नेपाली महिलाले आफ्नो भाग्यलाई सरापेर बस्ने कि समस्याको पहिचान गरी सङ्घर्षमा उत्रेर आफ्नो अधिकार प्राप्त गर्ने भन्ने प्रश्न नै मुख्य बनेको छ ।

वैज्ञानिक युगका महिलाको दायित्व

युग परिवर्तनका संवाहक अग्रगामी समाज रूपान्तरणको प्रतिनिधित्व गर्ने नेपाली समाजका युवा, विद्यार्थी, बौद्धिक, शिक्षित महिलाहरूले, ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’ झैँ गरेर यथास्थितिमै रुमल्लिनेभन्दा पहिले म को हुँ ? भनेर आफूलाई बुझ्न सक्नुपर्छ । दोस्रो हाम्रो समाजलाई बुझ्नुपर्छ । समाजको प्रधान समस्याको पहिचान गर्न सक्नुपर्छ । तेस्रो समाज बदल्ने सङ्घर्षमा आफूलाई तयार गर्नुपर्छ । ‘रूढिवादी परम्परावादी धर्म, संस्कार र संकृतिका सामु लम्पसार पर्नुभन्दा अग्रगामी परिवर्तनको खोज र अनुसन्धानमा सङ्र्घषशील हुनु उत्तम हुन्छ’ कमरेड माओले युवाहरूलाई संबोधन गर्दै भन्नुभएको छ, ‘युवाहरू हो, तिमी बिहान उदाउँदो सूर्य हौ, हामी अस्ताउँदा सूर्य हौँ । उदाउँदो सूर्यलाई हत्केलाले छेकेर पनि छेकिन्न, रोकेर पनि रोकिन्न । यो संसार तिम्रो पनि हो हाम्रो पनि हो । अन्तिममा त तिमीहरूकै हो ।’ त्यसैले हामी युवा विद्यार्थीले समाजका समस्यालाई सिरानी हालेर सुत्नु हुँदैन । उदाउँदो सूयजस्तै तेज दिन सक्नुपर्छ ।

एक्काईंसौँ शताब्दीको विज्ञान र प्रविधिको युगमा पनि हाम्रा दिदीबहिनीहरू बलात्कारजस्तो जघन्य अपराधको सिकार भएर हत्या गरिएका छन् । एकजना पुरुषले यौनतृष्णा मेट्न नपाउँदा एसिड प्रहारबाट घायल भएर अस्पतालको शैयामा छट्पटाइरहेका छन् । रोजगारीको बहानामा विदेशका कोठीहरूमा बेचिएका छन् । भ्रष्टाचार, करवृद्धि र महँगीले आमा–दिदीहरूको ढाड भाँचिएको छ । आज पनि रूढिवादी, धार्मिक र अन्धविश्वासको चङ्गुलमा फसेका छन् । कुनै टाढाको कुरा होइन, हाम्रो आँखाअगाडि काला सर्पहरू मडारिइरहेको देखेर पनि हामी वैज्ञानिक युगका महिलाहरू सुतिरहेका छौंँ । उठौँ, जागौँ, उदाउँदो सूर्यको किरणलाई अन्यायका विरुद्ध अग्निज्वालामा परिणत गर्दै सुनौलो बिहानीको सपनाका लागि अगाडि बढ्न जरुरी छ । तपाईँ युवा, विद्यार्थीहरू उदाए संसार उदाउनेवाला छ, तपाईंहरू अस्ताए संसार अस्ताउनेवाला छ । त्यसैले, ‘विज्ञानको युगमा पनि अत्याचारी फासिवादी कालो शासनको पर्दाभित्र बुझी बुझि बुझ पचाएर बस्नु भनेको जिउँदो लास हुने सिवाय केही होइन ।’ परिवर्तनका संवाहक युवा विद्यार्थीहरूले अधिकार प्राप्तिका लागि कर्तव्यको पनि प्रत्यभूति गर्दै अहिलेको मुख्य अन्तरविरोध र भनेको पुँजीवादी संसदीय व्यवस्था र नेपाली जनताबीचको अन्तरविरोध नै हो । यसको समाधानका लागि पुँजीवादी दलाल संसदिय व्यवस्थाको अन्त्य र बैज्ञानिक समाजवादी व्यवस्था स्थापनाले मात्रै समानता, स्वतन्त्रता, स्वधिनता, मुक्ति र परिर्वतन सम्भव छ । यसका लागि आजका युवाहरूले आफूलाई तयार गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :