जनगणतन्त्र कोरियाद्वारा सर्वाधिक क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण

क्षेप्यास्त्रको क्षमता ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी : प्रतिघन्टा ६,२०० किलोमिटर

जनगणतन्त्र कोरियाद्वारा सर्वाधिक क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौँ : समाजवादको रक्षाका लागि साम्राज्यवादसँग लडिरहेको जनगणतन्त्र कोरियाले सर्वाधिक क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । सर्वोच्च नेता मार्सल किम जोङ उनको उपस्थितिमै जनगणतन्त्र कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार स्रोतहरूले जनाएका छन् । जनगणतन्त्र कोरियाको आधिकारिक सञ्चारमाध्यम केसीएनएले मङ्गलबार प्रहार गरिएको क्षेप्यास्त्र कम्तीमा एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ । यसको निशानाको अन्तिम दूरी कतिसम्म हो भन्ने नजनाइए पनि यसले हजारौँ किलोमिटर दूरी तय गर्नसक्ने जनाइएको छ ।

जनगणतन्त्र कोरियाले यसअघि पनि हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो तर यो भने अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रहेको जनाइएको छ । स्रोतहरूका अनुसार यो तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण हो ।

अङ्ग्रेजी नयाँ वर्ष अर्थात् सन् २०२२ का अवसरमा देश र दुनियाँका समाजवादीहरूलाई सम्बोधन गर्दै सर्वोच्च नेता मार्सल किम जोङ उनले प्योङयाङको प्रतिरक्षालाई बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसको एक साताभित्रै दुईवटा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेर कोरियाले आफ्नो प्रतिबद्धता पूरा गरेको छ ।

जनगणतन्त्र कोरियाले मङ्गलबार प्रक्षेपण गरेको क्षेप्यास्त्रको पुष्टि गर्दै साम्राज्यवादको इसारामा चलिरहेका कोरियाका ‘शत्रु’ राष्ट्रहरू दक्षिणकोरिया र जापान दुवैले कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार भएको बताएका छन् ।

केसीएनए समाचार संस्थाले त्यसपछि उक्त क्षेप्यास्त्र हाइपरसोनिक भएको र त्यसमा उच्च गतिशीलता भएको व्याख्या गरेको थियो । कोरियाले यसअघि जनवरी ५ तारिखमा पनि सफलतापूर्वक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । अमेरिका, बेलायत, फ्रान्सलगायत साम्राज्यवादी मुलुकहरूले भने विगतमा झैँ जनगणतन्त्र कोरियाको कदमको विरोध गरिरहेकै छन् । ती देशहरूले गरेको कथित निन्दा र ‘अस्थिर कार्यहरू’ रोक्न गरेको आह्वान ‘हात्ती लम्किँदैछ, कुकुर भुक्दैछ’ साबित भएको छ ।

हाइपरसोनिक अस्त्रहरू प्रायः ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा निसानातर्फ कम उचाइ हुँदै जान्छन् तर तिनको गति भने ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी अर्थात् प्रतिघन्टा ६,२०० किलोमिटर हुनसक्ने बताइएको छ ।

केसीएनएले प्रसारण गरेका तस्बिरहरूमा सर्वोच्च नेता किम जोङ उन अन्य अधिकारीसँगै परीक्षणको अवलोकन गरिरहेको देख्न सकिन्छ ।

बीबीसीको सहयोगमा । दृष्टिकोण भने हाम्रो हो– सम्पादक ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :