अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको सातौं सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको सातौं सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको सातौं जिल्ला सम्मेलन पोखरामा सम्पन्न भएको छ ।  सम्मेलनले लोकेन्द्र राईको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति निर्वाचन गरेको छ ।

सम्मेलनको प्रमुख अतिथिका रुपमा रहेकी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कमरेड उमा भुजेल शिलुले मजदूर विना कुनै पनि राजनीतिक व्यवस्था टिक्न नसक्ने भएकाले मजदुरकै श्रम शोषण गरेर बाँचिराखेको दलाल संसदीय व्यवस्था मजदुरमारा भएकै कारण अब नेपालमा धेरै टिक्न नसक्ने बताइन् । सम्पूर्ण श्रमजीवीहरुको कुशल नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गरिरहेको भन्दै जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद अनिवार्य भएको नेतृ भुजेलले बताइन् ।


त्यसैगरी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव श्याम सेन्चुरीले आफ्नो संगठन कुनै पनि हालतमा पुँजीपति मालिकहरुसँगको संघर्षबाट पछि नहट्ने बताउदै सम्पूर्ण मजदूरहरुको अधिकारको विरुद्धमा आएको विधेयकको विरोध गर्नुपर्ने बताए । कार्यक्रममा कास्की जिल्ला विशेष समितिका सदस्य प्रकाश मल्ल, सेक्रेटरी गोकुल पराजुली, कार्यालय सचिव काजी गुरुङ लगायत जिल्लाका नेताहरु, जबसका प्रदेश तथा जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चुनुशिल्पा साँस्कृतिक परिवारले आफ्नो साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।


यसैबीच उक्त कार्यक्रमकै बीचमा विभिन्न पार्टीसँग आबद्ध र स्वतन्त्र गरी १६ जना युवाहरु नेकपमा ध्रुवीकृत भएका छन् । सयौंको सङ्ख्यामा रहेका मजदुरहरु पृथ्वीचोकबाट बाजागाजासहित ¥याली सुरु गरी सृजनाचोक, जिरो किलोमिटर हुँदै कार्यक्रम हलमा प्रवेश गरेका थिए । कार्यक्रमको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक लेखनाथ सापकोटाले गरेका थिए भने सञ्चालन बलराम तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :