इलाममा युवा अभियानको समिक्षात्मक बैठक सम्पन्न

इलाममा युवा अभियानको समिक्षात्मक बैठक सम्पन्न

 

इलामः जनमतसंग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान मूल नाराका साथ जनताको बिचमा होमिएको युवा संगठन नेपालको केन्द्रीय अभियान अन्तर्गत २ नम्बर टोलिको समीक्षा इलामको माइ नगरपालिका स्थित बगौंचा गाँउमा शुक्रबार सम्पन्न भएको छ ।

समीक्षा बैठकले अभियान उद्घाटनदेखि आजको दिनसम्म भएका संगठनात्मक उपलब्धी, प्रचारात्मक उपलब्धी र राजनीतिक छलफल र भेटघाटसँग सम्बन्धित उपलब्धीहरुको विषयमा समीक्षा गरेको थियो । इलाममा संचालित अभियानको सुरुवातमा बनेको योजना सफल हुँदै गएको, अभियान उपलब्धीमूलक रहेको निष्कर्ष बैठकले निकालेको थियो ।

समिक्षा बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंह, युवा संगठन नेपालको महासचिव बिदुशी, इलाम पार्टीका सेक्रेटरी मौसम, पार्टीका जिल्ला सदस्य तथा सहिद परिवारका जिल्ला संयोजक बिमल आचार्य र अभियान टोलिका प्रमुख दिपको उपस्थिती रहेको थियो ।

बैठकमा सुमनसिंहले यो अभियानले युवा संगठन नेपालको केन्द्रदेखि स्थानिय तहसम्म सुदृढ गर्ने बताए । उनले यो अभियानले सम्पूर्ण अभियान्ताहरुलाई मार्क्सवादी दृष्टिकोण निर्माण गर्न मद्दत गर्ने र यसले एकीकृत जनक्रान्तिको स्कुललाई थप समृद्ध गर्ने बताए । सिंहले युवा अभियान्ताहरु युग प्रवर्तक बन्नुपर्ने पार्टीको संश्लेषण रहेको बताए । उनले यतिबेला विश्वमै समाजवादी धारा र पुजीवादी धारा बिचको अन्तर्बिरोध उत्कर्षमा पुगेको र नेपालमा अहिले एमसीसीको मामलामा देखिएको संघर्ष पनि त्यसकै एक रुप भएको बताए । उनले अब संसारमै समाजवादी आर्थिक प्रणाली निर्माण हुनु अनिवार्य बनेको र यो सन्दर्भमा यसको वैज्ञानिक सश्लेषण गरेको आफ्नो पार्टी, नेताहरु, र यसका आम कार्यकर्ताहरु युग प्रवर्तक भएको बताए । उनले सबै अभियान्ताहरुलाई जिम्मेवार भएर लाग्न निर्देशन गरे ।

समिक्षा बैठकमा संगठनको महासचिव बिदुशीले काठमाडौँ सम्पूर्ण प्रबृतिहरुको केन्द्र भएता पनि मुख्य गरेर दलाल पुजीवादको केन्द्र सबै हिसाबले पूर्व नै भएकाले पूर्वबाट दलाल पुजीवादलाई भत्काउन सक्दा मात्र वैज्ञानिक समाजवाद निर्माण हुने ढोका खोलिने बताइन् । उनले पूर्वका सचेत प्रगतिशिल क्रान्तिकारी जनताले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद निर्माणार्थ पार्टीले अगाडि सारेको जनमतसंग्रहको प्रस्तावलाई स्वागत गरेकाले पूर्वबाट दलाल पुजीवादलाई जनताको तागतले सजिलै भत्काउन सकिने बताइन् ।

समिक्षा बैठकमा अभियान प्रमुख दिपले गतिविधिको रिपोर्ट राखेका थिए । १८२ जना युवालाई संगठित गरेको, १३ वटा संगठन निर्माण गरेको, १५२ वटा भित्तेलेखन गरेको, ३३ वटा राजनीतिक भेटघाट गरेको, एक सहिद स्मृति प्रतीक्षालय निर्माणमा श्रमदान गरेको, रक्तदान गरेको, ४५ वटा जनताको घरमा बसेर छलफल गरेको रिपोर्ट राखेका थिए । बैठकमा इलाम जिल्ला पार्टीका सेक्रेटरी मौसमले अभियान उत्साहपूर्वक चलिरहेको र यसले इलाममा एउटा जागरण पैदा गर्ने विश्वास लिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :