चिकित्सा शिक्षाको समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न

चिकित्सा शिक्षाको समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले चिकित्सा शिक्षाको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको छ ।

कार्यक्रममा विभिन्न वक्ताहरूले चिकित्सा शिक्षामा देखिएको विकृति, भ्रष्टाचार, निजीकरण र राजनीतिकरणको बारेमा प्रष्टाउँदै वर्तमान अवस्थामा यसको सम्पूर्ण क्षेत्राधिकार ठूलाठूला माफिया र दलाल संसदिय पुजीवादीहरुको हातमा पुगेको बताएका छन् ।

साथै अब बेलैमा यसलाई नियन्त्रण नगरिए अझ समस्या जटिल बन्ने भन्दै वक्ताहरूले आफ्नो भनाई राखेका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नको कारण आजको समस्याहरू देखा परेको बताइन् । सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको उनले बताइन् ।

काठमाडौँ विश्वविद्यालयका प्रशासकीय अधिकृत दीपक दाहालले चिकित्सा शिक्षा ऐन व्यवहारिक हुन नसकेको बताए । चिकित्सा शिक्षा ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने उनले बताए । 

अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले राज्यले चिकित्सा शिक्षामा स्पष्ट नीति र योजना बनाई स्रोत र लगानी बढाउनुपर्ने बताए । उनले निजी मेडिकल कलेजहरू राष्ट्रियकरण गरी राज्यले सञ्चालन गर्नुपर्ने धारणा राखे । गरिब तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने पनि उनले बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज चिरन पुन मिलन, वरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायतले बाेलेका थिए । अखिल (क्रान्तिकारी) विद्यार्थीका नेता एवम् कार्यकर्ता, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :