वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र सहिद–बेपत्ता योद्धाहरूको सपना साकार पार्छ : विषम

वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र सहिद–बेपत्ता योद्धाहरूको सपना साकार पार्छ : विषम

काठमाडौँ: सहिद तथा बेपत्ता योद्धाहरूको सपना पूरा गर्न जनताको व्यवस्था स्थापना गर्न निरन्तर सङ्घर्षमा लाग्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन, नेपाल केन्द्रीय समिति र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपाल केन्द्रीय समितिले काठमाडौँमा बुधबार आयोजना गरेको सहिद तथा बेपत्ता योद्धाहरूको योगदान र राज्यको दायित्वविषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले यो व्यवस्थाबाट सहिद–बेपत्ता योद्धाहरूको योगदान संस्थागत हुन नसक्ने भन्दै अब सहिदहरूका सपना साकार पार्न सङ्घर्ष गर्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले सहिद–बेपत्ता योद्धाहरूले जुन उद्देश्यले बलिदान गरे त्यो उद्देश्य प्राप्त नभएको बताए । सहिद–बेपत्ता योद्धाहरूले यो दलाल संसदीय व्यवस्थाका लागि नभई जनताको राज्यसत्ता वैज्ञानिक समाजवादी व्यवस्थाका लागि बलिदान गरेको उनको भनाइ थियो । नेकपा नेता विषमले सहिद–बेपत्ता योद्धाहरूले जुन उद्देश्यका साथ बलिदान गरे त्यो राज्यसत्ता स्थापना गर्न आफ्नो पार्टी अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरे ।


नेता विषमले अहिलेको राज्यसत्ता सहिद–बेपत्ता र उत्पीडित वर्गका पक्षमा नरहेकाले र जनयुद्धबाट आएको नेतृत्वले विचलनमा गएर वर्ग फेरेकाले सहिद–बेपत्ताहरूको बलिदानको कदर नभएको प्रस्ट पारे । उनले यो राज्यले सहिद–बेपत्ता योद्धाहरूको दायित्व नलिएको र नलिने पनि बताए । अब यो व्यवस्था असफल भएकाले यसको विकल्पका रूपमा आफूहरूले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि जनमतसङ्ग्रहको कार्यनीति लिएको उनले बताए । अहिलेको राजनीतिक सङ्कटको समाधान जनमतसङ्ग्रह नै भएको ठोकुवा गर्दै उनले अब न्यायको छिनोफानो जनताले गर्न पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘इतिहासका निर्माता जनता हुन् । अहिलेको दलाल संसदीय पुँजीवादी व्यवस्था ठीक कि वैज्ञानिक समाजवाद ठीक भन्ने विषयमा जनताले छिनाफानो गर्न पाउनुपर्छ । व्यवस्थाको छिनोफानो गर्ने न्यायाधीश जनता हुन पाउनुपर्छ । त्यसैले जनमतसङ्ग्रह आवश्यक छ । दलाल पुँजीवादविरुद्ध वैज्ञानिक समाजवाद स्थापना गर्न सबै कम्युनिस्टहरू साझा एजेन्डा बनाएर एक ठाउँमा उभिन सक्नुपर्छ ।’
एमसीसीको प्रसङ्ग उठाउँदै नेकपा नेता विषमले आफ्नो पार्टीको सङ्घर्षका कारण संसद्बाट एमसीसी पारित गर्न खोज्ने संसद्वादी दलका नेताहरूले शङ्खे कीराले झैँ टाउको भित्र लुकाएको तर पूरै पछाडि हटिनसकेकाले अझै जनता जागरुक हुनुपर्ने बताए ।

कार्यक्रममा बेपत्ता छानबिन आयोगका केन्द्रीय सदस्य विश्वप्रकाश भण्डारी र सत्य निरूपण तथा मेलमिलाप आयोगका प्रवक्ता मुना दाहालले ऐन अपूरो रहेको र संशोधन नहुँदा आयोगले सोचेअनुरूप काम गर्न नसकेको बताए ।

नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले आफूहरू जुन वर्गका लागि लडेको उक्त वर्गमा नभएको कुरा स्वीकार गरे । आफू अहिले जुन पार्टीमा भए पनि हिजोको विरासत भुल्न नसक्ने भन्दै फेरि पनि कम्युनिस्टहरू एक ठाउँमा आउने वातावरण बन्छ कि भन्नेमा आशावादी रहेको उनले बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य दिनेश शर्माले जुन प्रतिबद्धताका साथ सहिदहरूले आफ्नो जीवन गुमाएका थिए त्यो व्यवस्था प्राप्त भए मात्र सहिद परिवारहरूले गर्व महसुस गर्ने बताए ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राज्यले ठीक ढङ्गले सहिद–बेपत्ता योद्धा परिवारलाई सम्बोधन गर्न नसक्दा यो समस्या आएको बताए ।

उक्त कार्यक्रममा जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटर, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामा र बेपत्ता योद्धा परिवार समाजका महासचिव राम भण्डारीले यो राज्यले सहिद–बेपत्ता योद्धाहरूको योगदान संस्थागत गर्न नसकेको, सहिद–बेपत्ता योद्धा परिवारको सम्मान र दायित्व बहन गर्न नसकेकाले अब सहिद–बेपत्ता योद्धाहरूको सपना पूरा गर्न जनताको व्यवस्था स्थापना गर्न सङ्घर्षमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीकी कार्यकारिणी सदस्य हिसिला यमी, मानवअधिकारवादी चरण प्रसाईं, बहिर्गमित जनमुक्ति सेना संघर्ष समितिका इन्चार्ज असीम लिम्बूलगायतले बोलेका थिए ।

बेपत्ता योद्धा परिवार समाज नेपाल केन्द्रीय समितिकी इन्चार्ज सावित्रा दुरा ‘आस्था’ को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहिद परिवार सङ्गठन नेपाल केन्द्रीय समितिकी अध्यक्ष खुमा सुवेदीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :