अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङमा पञ्चराम

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङमा पञ्चराम

घोराही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङ जिल्लाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले पञ्चराम नेपालीको अध्यक्षमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भिमबहादुर बुढाथोकी, सचिवमा विष्णु सुवेदी, सह–सचिबमा बालकृष्ण खरेल, कोषाध्यक्षमा खुसलाल चौधरी, सदस्यहरूमा देबीराम बिक, धनिराम चौधरी, खुशीरा यादब, टेकबहादुर वली, वसन्त चौधरी, खिम रावल, भिमकान्त देबकोटालगायत चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज शीतलले महासंघ एउटा किसानहरूको छाता सङ्गठन भएको बताए । उनले किसानहरूको क्षेत्र फराकिलो भएकाले जिल्लामा महासंघको आवश्यकता रहेको बताउँदै सबै किसानहरूलाई सङ्गठित गर्नका लागि जिल्ला भित्रका पालिकाहरूमा घटक सङ्गठनहरू निर्माण गर्नुपर्ने प्रष्ट पारे । वर्गीय समाजमा वर्ग बिभाजित हुने र किसानका समस्या हल गर्न सङ्गठनको सबैभन्दा प्रमुख हतियार मानव भएको हुँदा गाउँ–गाउँ, बस्ती–बस्तीमा किसानका सङ्गठनहरू बनाउनुपर्ने नेता शीतलको भनाई थियो ।

पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशाबाट नेपालमा वैज्ञानिक समाजवाद निर्माण गर्ने रणनीतिका साथ अगाडि बढिरहेको उनले जिकिर गरे । नेपालमा संसदीय पार्टीहरू असफल भएसँगै तिनका संसदीय व्यवस्था र राज्यसत्ता पनि असफल सिद्ध भएको हुँदा यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने उनले बताए । अहिले पार्टीले जनमतसङ्ग्रहको कार्यनीति लिएर अगाडि बढेको हुँदा संसदीय व्यवस्था ठीक कि वैज्ञानिक समाजवाद ठीक भन्ने अधिकार जनतालाई दिनुपर्ने उनले प्रष्ट्याए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष कालिबहादुर शाहीले ६५ प्रतिशत भन्दा बढी किसानहरू नेपालमा रहेको बताए । किसानका समस्याहरू अहिलेसम्म उस्तै रहेका र अनुदान के हो भनेर थाहा नहुने गरेको उनले प्रष्ट पारे । किसानमा चेतनाको कमिले गर्दा एकता हुन नसकेको हुँदा अब किसानका हक र अधिकार स्थापना गर्नका लागि सहिद हुन तयार रहनुपर्ने उनको भनाई थियो । नेपालमा दलालीकरणको अन्त्य नभएसम्म कृषि प्रधान देश नहुनेसमेत उनले उल्लेख गरे ।

नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदीपले दलाल पुँजीवादी र भुमाफियाको स्वामित्वमा रहेको जमिन किसानको हातमा ल्याउनुपर्ने बताए । सङ्गठनले जिल्ला भित्रका किसानलाई सङ्गठित गर्ने र पार्टीको कुरा जनतामाझ सङ्गठनमार्फत लैजानुपर्नेमा जोड दिए । पार्टीले असफल संसदीय व्यवस्थाको विकल्पमा जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने भएकाले सङ्गठनले जनतामा पार्टीका कुरा स्पष्ट रुपमा राख्नुपर्ने नेता प्रदीपले प्रष्ट पारे । वैज्ञानिक समाजवादबाट मात्र किसानका समस्या र अधिकार पूरा हुने उनको भनाई थियो ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनीका इन्चार्ज दीपक विष्ट, अखिल नेपाल कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष नरबहादुर रोका, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशव थापा, अनेम संघ (क्रान्तिकारी) दाङका अध्यक्ष रेखा रोका, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज अम्मर खड्का, राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सदस्य मङ्गल चौधरी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य मङ्गल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का सल्यानका गिरदिल बस्नेत, राष्ट्रिय थारु मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष चुलुवा चौधरी, श्रमिक समुदाय मोर्चा नेपाल दाङका सदस्य रामप्रसाद, जनपत्रकार सङ्गठन नेपाल दाङ जिल्ला उपाध्यक्ष जङ्गबहादुर रेउले, अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघ दाङका उपाध्यक्ष दिनेश नेपाली र युवा सङ्गठन नेपाल दाङ जिल्ला सचिवालय सदस्य पदम चन्दले शुभकामना मन्तव्य राखेका थिए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का दाङका संयोजक पोषण बस्नेतको अध्यक्षता एवम् नेकपाका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज शीतलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेकपा घोराही नगर इन्चार्ज निर्मल, अन्य पालिका इन्चार्जहरू तथा जिल्लाका जनवर्गीय सङ्गठनका अध्यक्ष/प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

भिमबहादुरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विष्णुप्रसाद सुबेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :