अनेमसङ्घ क्रान्तिकारीको वैचारिक प्रशिक्षण काभ्रेमा सम्पन्न

अनेमसङ्घ क्रान्तिकारीको वैचारिक प्रशिक्षण काभ्रेमा सम्पन्न

काभ्रे : अखिल नेपाल महिला संघ क्रान्तिकारी उपत्यका र पूर्वी ताम्सालिङका जिल्लाहरूको संयुक्त प्रशिक्षण सम्पन्न भएको छ । काभ्रेको मन्दनदेवपुर नगरपालिकाको नयाँ गाउँमा दुई दिनसम्म चलेको प्रशिक्षण समापनपछि स्थानीय जनताले फूलमाला लगाएर भव्य बिदाई गरेका छन् । समापन कार्यक्रममा उपस्थित स्थानीय जनताले क्रान्तिलाई बिजयमा पुर्याउन शुभकामनासमेत दिएका छन् ।

समापन कार्यक्रममा केन्द्रीय सदस्य एवम् काभ्रे इन्चार्ज आधारले पार्टी र जबस मोर्चा बीचको सम्बन्धबारे चर्चा गर्दै क्रान्तिकारी पार्टीका लागि क्रान्तिकारी, विचार, नेतृत्व र सङ्गठन आवश्यक हुने भन्दै प्रशिक्षणले यसलाई वैचारिक मद्दत गर्ने बताए । उनले जबस मोर्चा पार्टी र क्रान्तिका लागि महत्वपूर्ण सङ्गठन भएको भन्दै यसलाई अझ सांगठनिक रुपले बलियो बनाउनुपर्ने बताए ।

सङ्गठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले प्रशिक्षणमा सहभागीहरूले महिला उत्पीडनविरुद्ध सङ्घर्षको नेतृत्व गर्ने विश्वास लिँदै प्रशिक्षणबाट प्राप्त ज्ञानलाई जनतासित जोड्नुपर्ने बताइन् । यस्तै सङ्गठनकी केन्द्रीय उपाध्यक्ष धीरेन्द्र उपाध्यायले सङ्गठनले देशव्यापी चलाएको प्रशिक्षण र सांगठनिक अभियानबारे प्रष्ट पारेकी थिइन् ।

मन्दनदेवपुर नगर सेक्रेटरी शुक्रले समेत बोलेका थिए । सङ्गठनले दुई वटा व्युरो उपत्यका र पूर्वी ताम्सालिङमा ८ मार्चसम्म सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णयसमेत भएको सङ्गठनकी सचिव उषा मगरले बताइन् । समापन कार्यक्रममा प्रत्येक जिल्लाबाट सहभागी एकएक जना प्रशिक्षार्थीहरूले अनुभूति मन्तव्य राखेका थिए ।

दुईदिने प्रशिक्षणमा सङ्गठनका केन्द्रीय अध्यक्ष बन्धु चन्दले महिला आन्दोलनको इतिहास, उपाध्यक्ष धीरेन्द्र उपाध्यायले वैज्ञानिक समाजवादमा महिलाहरूको भूमिका, महासचिव राजकुमारी शाहीले सङ्गठनात्मक सिद्धान्त, सचिव उषा मगरले महिला र संस्कृति बिषयमा प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रमका अध्यक्षता सहिद परिवार निर्मला खत्री र सञ्चालन सङ्गठनकी केन्द्रीय सदस्य पवित्राले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :