अभियानका चार अनुभूति

अभियानका चार अनुभूति

केन्द्रीय समितिको बैठकपछि हामी देशभरि कार्यक्रममा सहभागी बन्यौँ । देशभरि कार्यक्रममा पुग्दा सहिद परिवार, बन्दी कमरेड, नेता–कार्यकर्ता र शुभचिन्तकहरूसँग भेट्ने मौका मिल्यो । उहाँहरूका सोचाइ, चासो, चिन्ता र सुझावहरू सुन्दा चार फरक अनुभूति भए जुन अनुभूतिहरू क्रान्ति, पार्टी र व्यक्तिगत जीवनका लागि निकै महत्वपूर्ण भएको महसुस भएको छ ।

हामीले कार्यक्रममा जाँदा जतिसक्यो सहिद परिवारसँग भेट्ने र छलफल गर्ने नीति बनाएका छौँ । पार्टी दुईबर्से प्रतिबन्ध, १२ जना कमरेडहरूको बलिदान र दलाल पुँजीवादी संसदीय व्यवस्थासँगको सङ्घर्षबीच जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिद परिवारसँग भेट्दा छुट्टै अनुभूति भयो । काठमाडौँ जाँदा सहिद कमरेड प्रज्वलकी बहिनी, दीपेन्द्रकी जीवनसाथी, सहिद निरन्तरकी जीवनसाथी, दाङ जाँदा सहिद महानकी जीवनसाथी, कैलालीमा सहिद रामबहादुरकी जीवनसाथी, म्याग्दी जाँदा कमरेड जगतका छोरा, सर्लाही जाँदा सहिद कमरेड कुमार पौडेलका बाबा–आमा, जीवनसाथी र बुहारी, सुनसरी पुग्दा सहिद कमरेड तीर्थ घिमिरेका बाबा, भोजपुर जाँदा सहिद कमरेड नीरकुमारकी जीवनसाथीसँग भेट्ने सुअवसर मिल्यो । सबै सहिद परिवारहरूले पार्टीलाई चारवटा सुझावहरू दिनुभयो : पहिलो, पार्टीले क्रान्ति अगाडि बढाएकोमा खुसी र सन्तोष व्यक्त गर्दै जस्तोसुकै अवस्थामा पनि क्रान्तिलाई सफलतासम्म पुर्याउनुपर्छ, दोस्रो, सबै सहिद तथा बेपत्ता योद्धा परिवार र घाइतेहरूको आशा यो पार्टी र यसका नेताहरूसँग मात्र रहेकाले सहिदहरूको सपना पूरा गर्ने जिम्मा पार्टीले लिनुपर्छ, तेस्रो, कुनै पनि स्थितिमा जनताले पहिलेजस्तो धोका नपाऊन् र चौथो, क्रान्तिमा योगदान गर्ने सहिद, बेपत्ता, घाइते, जनताको रेखदेख गर्ने कार्य पार्टीले गर्नुपर्छ । यी सबै सुझाव र सल्लाहमा हामी निकैपटक भावुक मात्र भएनौँ क्रान्ति, सहिद, बेपत्ता, घाइते, श्रमिक जनता र देशप्रतिको उच्च जिम्मेवारीबोध पनि गर्यौँ । हामीले गम्भीरतापूर्वक उहाँहरूका सुझाव र अपेक्षा पूरा गर्ने प्रतिबद्धता राख्यौँ ।

देशभरिका कार्यकर्तालाई के भन्न चाहन्छौँ भने पार्टीले कुनै पनि हालतमा आफ्नो मार्ग, उद्देश्य र लक्ष्य बदल्नेछैन, बरु सबै कमरेडहरू आफ्नो जिम्मेवारी पूरा गर्न आआफ्नो कार्यक्षेत्रमा पूरा जोस र उत्साहका साथ सक्रिय बनौँ । हामी संसद्वादीहरूजस्तो आलोचनामा रमाउने र निराशामा बाँच्ने प्रवृत्तिबाट बचेर समाजलाई अग्रगामी प्रवाहमा हुइँक्याउन समर्पित हुनुपर्छ ।

यो अभियानमा काठमाडौँ, कैलाली, म्याग्दी, मकवानपुर भीमफेदी, सुनसरी झुम्का, विराटनगर, इलाम, सङ्खुवासभा, भोजपुर, खोटाङमा बन्दी जीवन बिताइरहनुभएका बन्दी कमरेडहरूसँग भेट गर्यौँ । बन्दी कमरेडहरूले पनि क्रान्ति र पार्टीका सन्दर्भमा प्रायः तीनवटा सुझावहरू दिनुभयो : पहिलो, पार्टीले अगाडि बढाएको एकीकृत जनक्रान्तिको कार्यदिशा र कार्यनीति सही भएकाले आफूहरू खुसी रहेको, क्रान्ति र जनतालाई कुनै पनि अवस्थामा धोका नहोस्, तेस्रो, पार्टीलाई झुकाउन राज्यले षड्यन्त्र गरिरहेकाले कुनै पनि गलत सम्झौतामा नपरेर क्रान्ति बढाआ्स्, आफूहरू बरु कतिन्जेल बस्नुपर्छ तयार छौँ । त्यसमा एकजना बहिनीले निकै भावुक हुँदै भन्नुभयो, ‘यो कलिलो उमेर जेलमा छ । पार्टीले क्रान्ति बढाओस् । अझै कति बस्नुपर्छ, म तयार छु ।’ उहाँलगायत घाइते कमरेडहरूले बन्दी जीवनबाट दिनुभएका सुझाव र बलिदान गर्न तयार भएको दृढता राख्दा हामी भावुक भयौँ । जेलका बन्दी योद्धाहरूसँग हामीले पनि पार्टीका तर्फबाट क्रान्ति, पार्टी, श्रमिक जनता, राष्ट्र र वैज्ञानिक समाजवादभन्दा अर्को कुनै स्वार्थ नभएको दृष्टिकोण प्रस्तुत गर्यौँ । साथै कमरेडहरूलाई छुटाउन राज्यसँग ३ बुँदे सहमतिअनुसारको पहल गरिरहेको तर कुनै पनि दबाबमा नपर्ने प्रतिबद्धता प्रकट गर्यौँ ।

कार्यक्रममा नेता र कार्यकर्ता कमरेडहरूसँग पनि निकै गहन छलफलहरू भए । प्रशिक्षणमा प्रायः कमरेडहरूले चारवटा विषयमा चासो राख्नुभयो : पहिलो, पार्टी आमजनताको आशा–भरोसामा बदलिँदै गएको, क्रान्तिकारीहरूलाई एकताबद्ध बनाउँदै क्रान्तिलाई नयाँ उचाइमा उठाउनुपर्ने, तेस्रो, जनतामा क्रान्तिबारे चिन्ता रहेकाले विगतका समस्याहरू आउन नदिने गरी क्रान्तिलाई अगाडि बढाउनुपर्ने, विदेशी साम्राज्यवादी, पुँजीवादी घेराबन्दीका विरुद्ध उचितखालको प्रतिरोध सङ्घर्ष चलाउँदै राष्ट्रियताको रक्षा गर्नेमा जोड दिनुपर्ने, जनताका दैनिक समस्यालाई पनि राहत र समाधान दिन पहल गर्नुपर्ने र आफूहरू पार्टीको योजनामा दुःखकष्ट गर्न तयार रहेको । कमरेडहरूका धारणा, सुझावले के बताउँथे भने पार्टी जनताका बीचमा पुग्दैछ । जनताहरू देशभरि क्रान्तिकारी झन्डावरिपरि गोलबन्द बन्दै गएका छन् र मेहनत गर्दै जाँदा यो निकै छिटो फैलिने सम्भावना छ । त्यसैगरी पार्टीले जनता र राष्ट्रका मामिलामा निकै होस पुर्याएर कार्य गर्नु पर्नेछ । कार्यदक्षता विकास गर्दा किसान, मजदुर, विद्यार्थी, युवा, मधेसी, जनजाति, महिला, श्रमिक समुदाय, मुस्लिम समुदाय पार्टी र क्रान्तिवरिपरि गोलबन्द बन्ने प्रस्ट चित्र देखिन्छ । हामीले कमरेडहरूलाई पार्टीको विचार, कार्यदिशा, कार्यनीति र योजनाहरूमा केन्द्रित गर्यौँ । साथै कमरेडहरूका सुझाव, अपेक्षा र चिन्तालाई दृढताका साथ मनन गर्दै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्यौँ ।

अभियानमा एउटा नौलो पाटो के देखियो भने बास बस्ने, खाना खाने र चिया पिउने ठाउँमा चिन्ने बुद्धिजीवी, वाम व्यक्तित्व, प्रजातन्त्रवादी, कम्युनिस्ट, पाका, अनुभवी नेता, विशेषतः माओवादी आन्दोलनका नेताहरूले आफ्ना भावना र अपेक्षाहरू खुलेर राख्नुभयो । प्रायः सबैका तीनवटा सुझाव र अपेक्षा आए : पहिलो, नेपालको राजनीति र कम्युनिस्ट आन्दोलन अप्ठ्यारो ठाउँमा आएको छ । यसको निकासका लागि सबै कम्युनिस्टहरूलाई एकताबद्ध बनाउँदै व्यवस्था परिवर्तन गर्नेतिर जानुपर्यो । दोस्रो, सबैलाई हेरियो तर पार लागेन । एकपटक नेकपा र यसका नेताहरूले जनचाहनाको नेतृत्व लिनुपर्यो । तेस्रो, देशको रक्षा पनि यही पार्टीले मात्र गर्नसक्ने भएकाले सबैलाई मिलाएर लानुपर्यो । केहीले त पाका कम्युनिस्ट नेताहरूलाई तीतो वाक्यले सराप्दै भन्नुभयो– यो कपाल यिनै कम्युनिस्ट पार्टी र नेताहरूलाई साथ दिँदादिँदै फुल्यो तर यिनको बुद्धि कहिल्यै खुलेन । एकपटक तपाईंहरूलाई हेर्ने हो । हामीेले उहाँहरूलाई श्रमिक जनता, देश र कम्युनिस्ट आन्दोलनको नेतृत्व सम्भव भएसम्म नयाँ आधार र विचारसहित दिने विश्वास दिलायौँ ।

हामी क्रान्तिको अभियानमा होमिँदा आफ्नो मुटुमा जनता र देशको हितबाहेक केहीलाई राखेका छैनौँ । हाम्रो पार्टीको चाहना र लक्ष्य भनेको जम्माजम्मी देशलाई विदेशी साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप, अतिक्रमणबाट मुक्त गर्ने, जनतालाई लुटेर रमाइरहेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई फेर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने मात्र हो । हामीलाई कुनै देखावटी सङ्घर्ष गरेर तुच्छ स्वार्थ पूरा गर्नु छैन ।

समग्रमा चारथरी पात्रहरूका रूपमा केही फरक तर सार एउटै बोकेका धारणा, सुझाव, अपेक्षा सुनियो र बुझ्न पाइयो । विषयहरू सुन्दा र बुझ्दा अगाडिको वस्तु एउटै भएपछि त्यसलाई बुझ्ने मूल पक्ष एकै खालको बन्दो रहेछ भन्ने महसुस भयो । हामीले देशको अवस्था, समस्या र निकासबारे जसरी सोचिरहेका छौँ धेरैले त्यसरी नै सोच्न खोजेको पाइयो । हुनत वस्तु नै चेतना र धारणा निर्माणको पहिलो स्रोत भएकाले सोचाइहरू नजिक हुनु स्वाभाविक नै हुने भयो तर मामिलाहरूलाई विभिन्न तरिकाले विश्लेषण गर्ने र गिजोल्ने कार्य भइरहेको अवस्थामा हामीले सोचेकै तरिकाले सोचिहाल्छन् भन्ने हुँदैन । खासगरी संसद्‌वादी पार्टी र विश्लेषकहरूले सोच्ने तरिकामा पनि नागरिकहरू पुग्न सक्छन् भन्ने लाग्थ्यो तर देशको उन्नति र अग्रगमनलाई केन्द्रमा राखेर सोच्दा एकै ठाउँमा भइँदो रहेछ भन्ने लाग्यो ।

क्रान्तिका महान् सहिद तथा बेपत्ता परिवार, घाइते योद्धा, कार्यकर्तालाई भन्ने लामो कुरा छैन, छोटो छ– हामीमा केही पद, पैसा, कुर्सी, निजी स्वार्थको मात्र लोभ हुन्थ्यो भने हामीले जीवनलाई जनयुद्धमा जस्तै एकीकृत जनक्रान्तिको धारमा होम्नुपर्ने थिएन र छैन । हामी यो क्रान्तिमा होमिनुअघि नै दर्जनौँ कमरेडहरू सांसद र मन्त्री थियौँ । अझ प्रचण्ड–बाबुरामसँग २०६९ सालमा विद्रोह गर्दा सबैभन्दा धेरै सभासद्हरू नै हामीसँग हुनुहुन्थ्यो । केही करोड रुपैयाँ त्यतिबेलै प्राप्त थियो । निजी सुविधाका कुनै पनि अवसर कमरेडहरूसँग थिए । कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने हजारौँ योग्य कमरेडहरू हुनुहुन्थ्यो जो अहिले पनि हुनुहुन्छ । हामी एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुको एउटै उद्देश्य छ, त्यो हो– सर्वहारा वर्गीय क्रान्ति पूरा गर्नु, दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई अन्त्य गर्नु र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु । जुन लक्ष्यका लागि हाम्रा प्रिय आफन्त र कमरेडहरूले जीवन बलिदान गरे, त्यही लक्ष्य पूरा गर्नु र उनीहरूका सपना पूरा गर्नु । त्यसैले तपाईंहरू ढुक्क हुनुहोस्, क्रान्तिलाई पूरा गर्ने दायित्वबाट नेकपा र यसका नेताहरू कदापि पछि हट्ने छैनन् ।

अभियानमा जाँदा चार अनुभूति, एक सार पाएका छौँ । यसको सार हो– देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नु, जनतालाई दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाबाट मुक्त गर्दै देशमा जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु । यही सारमा इतिहासदेखिका महान् सहिदहरूको सपना जोडिएको छ । यसैमा पार्टी र नेताहरूको ऐतिहासिक जिम्मेवारी निर्भर रहेको छ । यो सारलाई हामी एकीकृत जनक्रान्तिको महान् यात्रामा अनवरत बोकिरहनेछौँ ।

देशभरिका कार्यकर्तालाई के भन्न चाहन्छौँ भने पार्टीले कुनै पनि हालतमा आफ्नो मार्ग, उद्देश्य र लक्ष्य बदल्नेछैन, बरु सबै कमरेडहरू आफ्नो जिम्मेवारी पूरा गर्न आआफ्नो कार्यक्षेत्रमा पूरा जोस र उत्साहका साथ सक्रिय बनौँ । हामी संसद्‌वादीहरूजस्तो आलोचनामा रमाउने र निराशामा बाँच्ने प्रवृत्तिबाट बचेर समाजलाई अग्रगामी प्रवाहमा हुइँक्याउन समर्पित हुनुपर्छ ।

देशका बुद्धिजीवी, कम्युनिस्ट समर्थक व्यक्तित्व, प्रगतिशील लोकतन्त्रवादी, देशभक्त मित्रहरूलाई भन्न चाहन्छौँ– हामी क्रान्तिको अभियानमा होमिँदा आफ्नो मुटुमा जनता र देशको हितबाहेक केहीलाई राखेका छैनौँ । हाम्रो पार्टीको चाहना र लक्ष्य भनेको जम्माजम्मी देशलाई विदेशी साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप, अतिक्रमणबाट मुक्त गर्ने, जनतालाई लुटेर रमाइरहेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई फेर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने मात्र हो । हामीलाई कुनै देखावटी सङ्घर्ष गरेर तुच्छ स्वार्थ पूरा गर्नु छैन । त्यसैले यो सङ्घर्ष र राजनीतिक कार्यमा जो मित्रहरू सहभागी बन्न आउन चाहनुहुन्छ, उहाँहरू जोकोहीसँग बलियो सहकार्य गर्न हामी तयार नै छौँ र हुनेछौँ । देशलाई अग्रगमन र रूपान्तरणको मार्गमा बढाउने कार्यमा हाम्रो कुनै सङ्कीर्णता, जडता र अहम् छैन र हुने कुरै छैन । यो एउटा महान् कार्य हो जसमा सबै अग्रगामी शक्तिहरू एक नभएसम्म र सहकार्यमा नआएसम्म पूरा गर्न सम्भव हुँदैन । एक न एक दिन एकताबद्ध भएर नै यो पूरा हुने र गरिने हो । तसर्थ तपाईंहरू नेकपासँग एकीकृत हुन सकिन्छ र स्वाधीन एवम् संमृद्ध देश निर्माणको यात्रामा निकै परसम्म पुग्न सकिन्छ भन्नेमा ढुक्क भए हुन्छ ।

समग्रमा उल्लेख गर्दा अभियानमा जाँदा चार अनुभूति, एक सार पाएका छौँ । यसको सार हो– देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नु, जनतालाई दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाबाट मुक्त गर्दै देशमा जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु । यही सारमा इतिहासदेखिका महान् सहिदहरूको सपना जोडिएको छ । यसैमा पार्टी र नेताहरूको ऐतिहासिक जिम्मेवारी निर्भर रहेको छ । यो सारलाई हामी एकीकृत जनक्रान्तिको महान् यात्रामा अनवरत बोकिरहनेछौँ ।

८ पुस, २०७८

प्रतिक्रिया दिनुहोस्