एमसीसी सम्झौताको विरोधमा आठ दलको प्रदर्शन र सभा

एमसीसी सम्झौताको विरोधमा आठ दलको प्रदर्शन र सभा

अत्तरिया (कैलाली): सत्ता गठबन्धनमा रहेका पार्टीले षड्यन्त्रपूर्वक संसद्बाट एमसीसी सम्झौता पारित गर्न लागेपछि उक्त सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीलगायत आठ दल÷मोर्चाले कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरेका छन् । एमसीसीविरोधी जुलुस अत्तरियाको पूर्वी सडकबाट सुरु भई बजार परिक्रमा गरेर महेन्द्रनगर सडकको बरपीपल गल्लीमा गएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य डबल शाहले अमेरिकी साम्राज्यवादका दलालहरूले एमसीसी परियोजना राष्ट्रको हितमा रहेको र देशको विकासको निमित्त आवश्यक भएको भनेर नेपाली जनतामा भ्रम पैदा गरे पनि सिङ्गो नेपाली जनमत यसका विरुद्ध रहेको बताए । उनले आजभन्दा २६ वर्षअगाडि महाकाली सन्धिको समयमा पनि सडकमा आन्दोलन चल्दै गर्दा उक्त सन्धि देशको हितका लागि भएको र अर्बौं डलर नेपाल भित्रिने आश्वासन दिँदै नेपाली जनतालाई भ्रममा पारी सन्धिसम्झौता गर्ने शेरबहादुर देउवा, केपी ओली, माधव नेपालहरू यति बेला पनि सरकारमा रहेको बताए । त्यही सन्धिका कारण भारतीय सेनाले महाकालीमा नेपालीको हत्या गरिरहेको, भारतीय सेनाले नेपालीमाथि कुटपिट तथा अत्याचार गरिरहँदा पनि नेपालका शासक मौन बस्न बाध्य भएको उनले बताए । उनले भने, ‘त्योभन्दा पनि खतरनाक राष्ट्रघाती एमसीसी सम्झौता आज बहसको विषय बनिरहेको छ । एमसीसी राष्ट्रको हितमा रहेको, अनुदान आउने र विकास हुने विकास परियजना हो भनेर अमेरिकी दलाल शासकहरू बोलिरहेका छन् ।’
विकास परियोजना, सहयोग र अनुदान हो भने जसरी युरोपेली युनियन र अन्य मुलुकहरूबाट आएजसरी नै आउनुपर्ने उनको भनाइ थियो । ‘एउटा विदेशी परियोजना आउँदा किन दुईतिहाइले अनुमोदन गर्नुपर्ने ?’, उनले प्रश्न गरे । नेपालको संविधान, राजनीतिक, सांस्कृतिक र प्राकृतिक स्रोतसाधनलाई कब्जा गरी नेपालको संविधान, ऐन र कानुनभन्दा माथि बनाएर ल्याइएको एमसीसी परियोजना नेपालको हितमा नभएकाले तत्काल खारेज गर्नुपर्ने नेकपा नेता शाहले बताए ।
वैज्ञानिक समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश सदस्य द्रोण अवस्थीले एमसीसी परियोजना लागू भएपछि अमेरिका आफू मालिक बन्ने र आफ्नो सेना नेपाल प्रबेश गराएर चीनलगायत आफ्ना प्रतिस्पर्धी मुलुकहरूसँग लड्न नेपाललाई युद्धभूमि बनाउने रणनीति रहेको बताए । नेपाल र नेपालीका लागि घातक एमसीसी सम्झौताका विरुद्ध आफ्नो मातृभूमि र आत्मसम्मानको रक्षाका लागि नेपाली जनताले सङ्घर्ष गर्नुपर्ने उनले बताए ।


देशभक्त जनतान्त्रिक मोर्चाका सुदूरपश्चिम प्रदेश सदस्य टङ्क कोइरालाले यो नेपाली जनताले गरेको सङ्घर्षको सानो झिल्को मात्र भएको र एमसीसी खारेजीका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पनि नेपाली जनता तयार रहेको बताए ।
राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष दयारामले एमसीसीजस्तो खतरनाक परियोजनाका नाममा अमेरिकाको सैन्य रणनीति आउने र नेपाली जनतामाथि अमेरिकी साम्राज्यवादले हस्तक्षेप गर्ने बताए । त्यसका विरुद्ध ३ करोड नेपाली सडकमा उत्रिन तयार रहेको उनको भनाइ थियो ।
नेकपा मसाल कैलालीका प्रवक्ता निलम शाहीले प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता गर्न लागेको राष्ट्रघाती एमसीसीमार्फत विश्वसाम्राज्यवादको नायक अमेरिकाले नेपालजस्तो शान्तिपूर्ण देशलाई अफगानिस्तान बनाउन लागेको बताए । अमेरिकाले नेपालमा सैनिक क्याम्प खडा गर्ने चेष्टा गरिरहेको बेला नेपाली जनता र देशभक्त पार्टीहरुले यसलाई चुनौती दिँदै देशव्यापी आन्दोलन चर्काउनुपर्ने उनले बताए । एमसीसी खारेज नभएमा सिंहदरबार घेराउ गर्न र एमसीसी पास गर्नेहरूको चिहान खन्न पछि नपर्ने चेतावनी उनले दिए ।
नेकपा मालेका केन्द्रीय सदस्य परक रावलले नेपालका दलाल शासकहरुले जनतालाई विभिन्न प्रलोभनमा पारी चुनाव जित्ने र आफ्नो तानाशाही लाद्ने प्रवृत्ति दोहो¥याउँदै एमसीसी परियोजना लादेर नेपाललाई अमेरिकी युद्धमैदान बनाउने खेल खेलिरहेको बताए । यसका विरुद्ध नेपाली जनता निरन्तर सङघर्षमा लामबद्ध हुनुपर्ने उनको भनाइ थियो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज रामबहादुर केसीले पनि कोणसभालाई सम्बोधन गरेका थिए ।
संयुक्त विरोध प्रदर्शन र कोणसभालाई राष्ट्रिय जनमोर्चा कैलालीका उपाध्यक्ष जयबहादुर विकले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :