राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै मकवानपुरमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै मकवानपुरमा विरोध प्रदर्शन

मकवानपुरः नेपाली जनता र देशको हित विपरित रहेको एमसीसी सम्झौता खारेजीको माग गर्दै मकवानपुरमा विरोध प्रदर्शन गरिएको छ । मकवानपुरका विभिन्न क्षेत्रमा रहेका राष्ट्रवादी, प्रगतिशील, क्रान्तिकारी तथा परिवर्तनकारी, सच्चा देशभक्त नागरिकका साथै विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु एमसीसीको विरोध गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा विरोधमा उत्रिएका हुन् ।

एमसिसी सम्झौता खारेजीको माग सहितको विविध नाराहरु लगाउँदै हेटौंडाको चारै दिशाबाट आएको र्याली बुद्धचोक हुँदै सिमाचोकमा पुगि कोणसभामा परिणत भएको थियो । देशको निकट भविष्य खलबलाउने गरि हाम्रो राष्ट्र र राष्ट्रियतालाई धुजाधुजा पार्न गिद्दे आँखे दृष्टिकोणले आएको अमेरिकी परियोजना एमसीसी सम्झौता कुनै पनि हालतमा पारित नगर्न र नगराउन दमदार मागसहित संयुक्त मोर्चाले मकवानपुरमा विरोध प्रदर्शन गरेको हो ।
उक्त विरोध र्याली तथा प्रदर्शन कार्यक्रमको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न ६ दल र २ मोर्चाले गरेका थिए ।
विरोध सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले विकासका लागि सहयोगको खोल ओढाइ भित्र्याउन थालेको एमसीसी सम्झौताको कारण नेपालको सांस्कृतिक, लैंगिक, भौगोलिक लगायतको विविध क्षेत्रमा अमेरिकाको नांगो हस्तक्षेप भइ हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामा आँच आउने र भविष्यमा हाम्रो देश एक उजाड लाग्दो अस्तव्यस्त रणमैदानमा परिणत हुने भएकोले यो सम्झौता पूर्ण रूपमा खारेज गरिनुपर्ने बताए । देशको विकास र समृद्धिका लागि राष्ट्रघाती एमसीसीको विकल्प खोज्न सक्ने भएकोले यो सम्झौता अमेरिकी सरकारले तत्काल फिर्ता लैजानुपर्ने र नेपाल सरकारले खारेज गर्नुपर्ने बताए । यदि हामी जनताको माग विपरित सरकारले जबर्जस्त पारित गरि लागू गराउने कुचेष्टा गर्छ र नेपालको सफा र खुला आकाशमा कालो बादल फिँजाउने काम गरिन्छ भने त्यसपछिको दुष्परिणाम ढिलो चाँडो सरकार आफैले व्यहोर्नुपर्ने उनले चेतावनी दिए ।

यसरी सहयोगको नाममा आउन थालेको एमसीसी परियोजना नामक अमेरिकी साम्राज्यवादी हस्तक्षेपको विरुद्धमा आयोजित विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रममा देशको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता सदैव जीवन्त राखिनुपर्छ भन्ने राष्ट्रवादी, देशभक्त पुलिस प्रशासन, पत्रकार, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, युवा तथा आम मकवानपुरका नागरिकले साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :