एमसीसी सम्झौताविरुद्ध कञ्चनपुरमा प्रदर्शन

एमसीसी सम्झौताविरुद्ध कञ्चनपुरमा प्रदर्शन

कञ्चनपुर: अमेरिकी अनुदान एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले मङ्गलबार महेन्द्रनगरमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।

उक्त विरोधसभामा सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले एमसीसी अमेरिकी सहयोग नभएर राज्यको स्वाभिमान, स्वाधीनता र सार्वभौमसत्तालाई आफ्नो कब्जामा लिने खेल रहेको बताए । कुनै पनि हालतमा एमसीसी पास गर्न नदिइने पनि उनले बताए । संसद्वादी दलहरूले राष्ट्रको हितविपरीत यस परियोजनालाई जबर्जस्ती अगाडि बढाउन खोजे पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी उनले दिए । आफ्नो देशको अस्तित्वरक्षाका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, राष्ट्रवादी, न्यायप्रेमी जनसमुदायले यो राष्ट्रघाती सम्झौताविरुद्ध आन्दोलित हुन पनि उनले आग्रह गरे ।

अर्का वक्ता नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य हरिप्रसाद सुवेदीले पनि देश र जनताको अहितमा रहेको एमसीसी खारेज हुनुपर्ने बताए । एमसीसी सम्झौताको विरोधमा सबै राष्ट्रवादी पार्टीहरू एकजुट भएर जोडदार ढङ्गले आन्दोलनमा उत्रनुपर्ने उनले बताए । सभाको सञ्चालन नेकपाका जिल्ला सचिव रमेश परियारले गरेका थिए । कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता र सर्वसाधारणको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :