कञ्चनपुरमा किसान जागरण अभियान उद्घाटन

कञ्चनपुरमा किसान जागरण अभियान उद्घाटन

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ केन्द्रीय समितिको आयोजनामा राष्ट्रिय किसान जागरण अभियान २०७८ उद्घाटन गरिएको छ ।

अभियान उद्घाटन समारोहका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले असफल दलाल पुँजीवादी राज्यव्यवस्थाका कारण देशका किसानले दिन–प्रतिदिन शोषित–पीडित हुनुपरेको र यी सबै समस्याको निकास वैज्ञानिक समाजवादी व्यवस्थाले गर्ने बताए । सबै श्रमजीवी किसानहरूलाई जागृत गरेर यो संसदीय व्यवस्थाको विरुद्ध सशक्त सङ्घर्ष गर्ने मोर्चाका रूपमा खडा गर्नुपर्ने उनको भनाइ थियो । वैज्ञानिक समाजवाद स्थापना गर्न किसानहरूको महत्वपूर्ण भूमिका रहने भन्दै उनले अभियान सशक्त र प्रभावकारी तरिकाले अघि बढोस् भन्ने शुभकामना दिए ।

विशिष्ट अतिथि सङ्गठनका केन्द्रीय उपाध्यक्ष कालीबहादुर शाहीले सङ्गठनले एकीकृत जनक्रान्तिको कार्यदिशालाई वैज्ञानिक समाजवादसम्म पु¥याउन र सङ्गठनको कार्यनीतिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको बताए । जागरण अभियानमार्फत आमकिसानलाई जागृत गरेर समाजवादी जनमत तयार गर्नका लागि अभियानले प्रभावकारी भूमिका निर्वाह गर्ने उनको विश्वास थियो ।

त्यस अवसरमा नरेन्द्र राना क्षेत्रीको नेतृत्वमा किसान महासङ्घको १३ सदस्यीय जिल्ला समिति पनि गठन गरिएको छ ।
अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम संयोजक राम सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी र जवसका नेताहरू अतिथिका रुपमा सहभागी थिए भने सङ्गठनका डोटी जिल्ला संयोजक चन्द्र बोहोराले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :