राष्ट्रघाती एमसीसीविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन हुँदै

राष्ट्रघाती एमसीसीविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन हुँदै

मकवानपुर : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन हुने भएको छ । यतिखेर राज्यसरकार जनजिविकासँग जोडिएका विविध समस्याहरूको समाधान गर्नुतिर सोच्नुको सट्टा देश र जनताको हित विपरीत रहेको राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न लागिपरिरहेको छ । देउवा सरकारको यस देशद्रोही कदमको विरुद्ध मकवानपुरमा विरोध प्रदर्शन गर्न लागिएको जानकारी प्राप्त भएको छ । कार्यक्रम मङ्गलबार दिउँसो बुद्धचोकमा हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी मकवानपुरसहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले सोमबार संयुक्त प्रेस विज्ञप्तिमर्फत उक्त कार्यक्रमको घोषणा गरेको हो । एमसीसी सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रको विरुद्ध नेपाली जनता हर्दम आन्दोलित भैरहँदा पनि पछिल्लो समयमा शेरबहादुर देउवा सरकारले संसदको आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाएकोले मकवानपुरका विभिन्न ६ वटा कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त आन्दोलनमा रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै गत मङ्सिर २८ गते नै एमसीसी सम्झौता संसदबाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाएको बैठकबाट जुनसुकै अवस्थाबाट पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार उभिएको छ । देउवा सरकारको त्यस किसिमको हर्कतलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेको र उक्त सङ्घर्षको कार्यक्रम भव्य रुपमा सफल पार्नको लागि आम कम्युनिस्ट, क्रान्तिकारी, बुद्धिजीवी, लोकतन्त्रवादी, देशभक्त र सारा नेपाली जनसमुदायमा विज्ञप्तिमार्फत हार्दिक अपिल गरेको छ ।

त्यस्तै उक्त संयुक्त प्रेस विज्ञप्तिमार्फत राष्ट्रघाती एमसीसी परियोजनालाई अमेरिकी जो वाइडेन सरकारले तत्काल फिर्ता नलिए र देउवा सरकारले खारेज नगरे आगामी दिनमा कडा आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।

संयुक्त प्रेस विज्ञप्तिमा सहभागी पार्टी तथा मोर्चाहरु : नेपाल कम्युनिस्ट पार्टी मकवानपुर इन्चार्ज नयन, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) मकवानपुर इन्चार्ज सागर, नेपाल कम्युनिस्ट पार्टी (मसाल) मकवानपुर प्रवक्ता रामहरि धिताल, नेपाल कम्युनिस्ट पार्टी (माले) मकवानपुर उपसचिव हरिकृष्ण अधिकारी, नेपाल कम्युनिस्ट पार्टी मकवानपुर प्रतिनिधि मान नाथ तिमल्सिना, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुर सचिव यदु कुमार विश्वकर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर संयोजक महेश सिग्देल र राष्ट्रिय जनसरोकार मञ्च नेपाल मकवानपुर संयोजक उमेश गुणी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :