महिला मुक्तिको पहिलो सर्त : वैज्ञानिक समाजवाद

महिला मुक्तिको पहिलो सर्त : वैज्ञानिक समाजवाद

‘समाजवाद स्थायी क्रान्तिको उद्घोष हो सामान्यतः वर्गविभेदको उन्मूलन गर्न त्यो वर्गविभेदमा आधारित रहने सम्पूर्ण उत्पादन सम्बन्ध उन्मूलन गर्न त्यो उत्पादन सम्बन्धअनुरूप रहने सम्पूर्ण सामाजिक सम्बन्ध उन्मूलन गर्न त्यो सामाजिक सम्बन्धको परिणामका रूपमा सम्पूर्ण विचारको क्रान्तिकारीकरण गर्न आवश्यक सङ्क्रमण बिन्दुका रूपमा सर्वहारा वर्गको अधिनायकत्व आवश्यक हुन्छ ।’

(मार्क्स फ्रान्समा वर्गसङ्घर्ष– १८४८–५० अङ्ग्रेजी प्रगति प्रकाशन मस्को) ।

‘समाजले उत्पादनका साधनमाथि अधिकार प्राप्त गर्नेछ तब माल उत्पादन समाप्त हुनेछ र यसको साथै उत्पादन गर्नेमाथि उत्पादनको प्रभुत्व पनि समाप्त हुनेछ । सामाजिक उत्पादनमा अराजकताको स्थान योजनावद्ध र सचेत संलग्नले ग्रहण गर्नेछ । त्यसपछि व्यक्तिहरूलाई आआफ्नो अस्तित्वका लागि सङ्घर्ष गर्नुपर्ने छैन । एउटा खास अर्थमा मानिसले पहिलोपटक बाँकी पशुजगत्बाट आफूलाई अन्तिम रूपमा अलग गर्नेछ र पाशविक अस्तित्वको परिस्थितिलाई छोडेर समग्र मानवअस्तित्वको परिस्थितिमा प्रवेश गर्नेछ । जीवनका ती समस्त परिस्थिति जसबाट मानिसको पर्यावरण तयार हुन्छ जसले अहिलेसम्म मानिसमाथि शासन गर्दै आएको थियो त्यो अब मानिसको प्रभुत्व एवम् नियन्त्रणमा आउनेछ र मानिस आफ्नो सामाजिक सङ्गठनको स्वयम् मालिक बन्ने हुनाले पहिलोपटक प्रकृतिको वास्तविक तथा चेतन–स्वामी बन्न जान्छ । अहिलेसम्म सामाजिक कार्यको नियमले प्राकृतिक नियमका रूपमा उसमाथि शासन गर्दथ्यो । अब उसले स्वयम् त्यसको पूर्ण समझदारीका साथ उपयोग गर्नेछ र त्यसलाई आफ्नो काबुमा ल्याउनेछ । अहिलेसम्म मानिसको आफ्नो सामाजिक सङ्गठनले प्रकृति र इतिहासद्वारा थोपरिएको एउटा अनिवार्य आवश्यकताका रूपमा मानिसको मुकाविला गर्दथ्यो । अब त्यो स्वयम् मानिसको स्वतन्त्र कार्यको परिणाम बन्नेछ । अहिलेसम्म जुन बाह्य वस्तुगत शक्तिले इतिहासमाथि शासन गर्दै आएको थियो अब त्यो स्वयम् मानिसको नियन्त्रणमा आउनेछ । यही त्यो बिन्दु हो जसको अगाडि मानिसले पूर्ण चेतनाका साथ आफ्नो इतिहासको आफैँ निर्माण गर्नेछ । यही त्यो बिन्दु हो जसको अगाडि मानिसले जब कुनै सामाजिक कारणलाई गतिवान् बनाउनेछ तब त्यसको मुख्यतः अझ निरन्तर बढ्दो मात्रामा अभिप्रेरित परिणाम हुनेछ । यो मानिसको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ हुनेछ ।

‘सार्विक मुक्तिको यस कार्यलाई सम्पन्न गर्नु आधुनिक सर्वहारा वर्गको ऐतिहासिक कार्यभार हो । ऐतिहासिक परिस्थिति र यसप्रकार यस कार्यको स्वरूपलाई राम्रोसँग बुझ्नु तथा वर्तमानकालको उत्पीडित सर्वहारा वर्गलाई इतिहासले जुन कार्य सुम्पेको छ त्यो परिस्थिति र त्यस अर्थको पूर्ण ज्ञान यो वर्गलाई गराउनु– यही नै सर्वहारा आन्दोलनको सैद्धान्तिक अभिव्यक्ति वैज्ञानिक समाजवादको कार्य हो ।’

(एङ्गेल्स ड्युहरिङ मत खण्डन सन् १८७६–७८ हिन्दी संस्करण प्रगति प्रकाशन) ।

पश्चिमी समाजमा प्लेटोदेखि रोबर्ट ओबेनसम्म र पूर्वीय समाजमा गौतम बुद्धदेखि बीपी कोइरालासम्म समाजवादको बहस चलिरहेकै थियो । यो बहस प्राचीनकालदेखि आजसम्म आ–आफ्नो समयमा अस्तित्ववान शोषकवर्गीय राज्यसत्तामा व्याप्त भ्रष्टाचार जनतामाथि शोषण–उत्पीडन असमानता र अत्याचारको विकल्पमा चल्दै आएको थियो । उन्नाईसौँँ शताब्दीको चौथो दशकको अन्त्यमा आएर मार्क्स–एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्रमा यसले गुणात्मक छलाङ लगायो । त्यसमा उहाँहरूले प्रतिक्रियावादी समाजवादअन्तर्गत सामन्ती समाजवाद निम्नपुँजीवादी समाजवाद र सच्चा समाजवादको व्याख्या गर्नुभयो भने पुँजीवादी समाजवादअन्तर्गत रूढिवादी समाजवाद र काल्पनिक समाजवादको व्याख्या गर्नुभएको छ । पछिल्ला दुई धारामध्ये काल्पनिक समाजवादको आलोचना गर्दै मार्क्स–एङ्गेल्स वैज्ञानिक समाजवाद र साम्यवादको संश्लेषण गर्नुभएको थियो । काल्पनिक समाजवादी सेन्ट साइमन चाल्र्स फुरिये फ्लोरा त्रिस्तान र रोबर्ट ओबेनको समीक्षा गर्दै काल्पनिक र गलत कुरालाई हटाउनुभयो भने उनीहरूका प्रगतिवादी विचारहरूको सम्मान गर्नुभयो ।

अन्ततः मार्क्स–एङ्गेल्सले किन वैज्ञानिक समाजवाद–साम्यवाद भनेर पुँजीवादी व्यवस्थाको विकल्प प्रस्तुत गर्नुभएका थियो त ? आखिर वैज्ञानिक समाजवादको अर्थ के हो ? वर्तमान समाज व्यवस्थाको क्रमबद्ध र व्यवस्थित विश्लेषण गर्नु र त्यो विश्लेषणका आधारमा नयाँ सामाजिक व्यवस्थाको अपरिहार्यता र आवश्यकताबारे व्यवस्थित संश्लेषण गर्नु नै विज्ञान हो । साइमन फुरिये त्रिस्तान र ओबेनले पुँजीवादी समाजमा भ्रष्टाचार उत्पीडतवर्गको शोषण मजदुरहरूको गरिबी अराजकताको बाढी आएको कुरा आफ्नै अगाडि देखेर समाजवादको आवश्यकता महसुस गरेका थिए तर उनीहरूले यसको सपना मात्र देखेका थिए । साइमनले एउटा सम्प्रदायको कल्पना गरेका थिए भने त्यसको नेतृत्व भने उद्योगपतिहरूलाई दिने सोचेका थिए । फुरियेले एउटा सहकारी समाज ‘फलान्स्तेयर’ अथवा सामूहिक आवासको कल्पना गरेका थिए । उनका अनुसार त्यसमा शिशुपालन र सामूहिक सेवा उपलब्ध हुनेछ । त्यो आवासमा हरेक परिवारले एउटा निजी तला प्राप्त गर्नेछ । त्यसमा निजी जीवन वा सामूहिक दुवै जीवन बिताउन सकिनेछ । तर फुरिये आर्थिक समानताका पक्षधर थिएनन् भन्ने कुरा त्यो आवासगृहमा आयअनुसारको तला सानो वा ठूलो हुन सक्ने कुराबाट बुझिन्छ । फ्लान्स्तेयर (आवासगृह) व्यक्तिहरूको स्वेच्छिक वित्तीय सहायतामा बन्नेछ र यसमा राज्यले मद्दत गर्नुपर्ने कुनै प्रावधान छैन । फुरियेले आफ्ना ‘छानिएका रचना’ मा नारीबारे धेरै राम्रो कुराको संश्लेषण गरेका छन्–

‘पुरुष र नारीको सम्बन्ध क्षणिक अस्थायी र दीर्घकालीन हुन सक्दछ परन्तु त्यसको आधार परस्पर प्रेम हुनुपर्दछ । आठजनामा एकजना महिला स्वभावैले गृहणी हुन्छिन् । यसकारण समरस समाज (harmonious society) मा महिलाहरूको अगाडि श्रेष्ठतम कार्यहरूको विकल्प उपलब्ध हुनेछन् । इतिहासमा आठजना महिला शासकहरूमा सातले यश र कीर्ति पाएका छन् भने आठ पुरुष शासकहरूमा सातजना निकम्मा र बेवकूफ सावित भएका छन् । वर्तमान सभ्यतामा नारीलाई दासी बनाइएको छ वस्तुतः ती अत्यधिक उच्चतर कार्यका लागि सुयोग्य छन् । कुनै पनि समाजमा नारीहरूको स्थितिले त्यस समाजको चरित्रलाई मापन गर्दछ । अतः नारीलाई व्यापक स्वाधीनता उपलब्ध हुनुपर्दछ । उनीहरूलाई घरेलु काममा बाँधेर राख्नु अन्यायपूर्ण हुन्छ । प्रकृतिले महिलाहरूलाई जुन उदात्त भावले सुसज्जित गरेको छ त्यो आगामी नुतन व्यवस्थामा आनन्द उल्लास र प्रगतिको महत्त्वपूर्ण साधन बन्न सक्दछ । समरस समाजको जीवनमा आफ्नो श्रेष्ठतर स्वाभाविक गुणहरूको कारण महिलाहरूले नेतृत्व र शासन गर्नेछन् ।’

एङ्गेल्सले आफ्नो प्रसिद्ध कृति ड्युहरिङ मतखण्डनमा यसको राम्रो मूल्याङ्कन गर्नुभएको छ । तर फुरिये नारीहरूको त्यो महान् भूमिका रहने समरस समाज कसरी ल्याउने भन्ने विषयमा स्पष्ट छैनन् । यो समाज पुँजीवादी राज्यसत्ताअन्तर्गत नै बन्ने हो वा यसलाई हटाउनुपर्ने हो थाहा छैन ।
अर्को निम्न पुँजीवादी तथा अराजक समाजवादी पियरे प्रुँधो भने महिलाहरूका बारेमा फुरियेको ठीक विपरीत छन् । उनको भनाइ यस्तो छ–

‘महिला पुरुषको तुलनामा एउटा हीनतर प्राणी हो । ऊ पुरुष र सृष्टिका अन्य निम्नतर प्राणीहरू बीचको स्थितिमा हुन्छे । प्रत्येक क्षेत्रमा उसको हीनता देखा पर्दछ । शारीरिक बौद्धिक र नैतिक क्षेत्रहरूमध्ये हरेकमा स्त्रीको क्षमता पुरुषको भन्दा २/३ हुन्छ । यस अनुपातमा समीकरण ३×३×३/३×३×३ =२७/८ को आधारमा पुरुष स्त्रीभन्दा ३/८ गुणा श्रेष्ठतर हुन्छ र स्त्रीको व्यक्तित्व पुरुष व्यक्तित्वको केवल ८/२७ वाँ भाग हुन्छ‘ (समाजवादी चिन्तनको इतिहास भाग १ मा भारतीय लेखक कृष्णकान्त मिश्रद्वारा उद्धृत) ।

आजका आमा दिदी–बहिनी र छोरीहरूलाई पुँ्रधोका यस्ता कुरा सुन्दा निश्चय नै कन्सिरीका रौँ ठाडो होलान् मलाई यो उद्धृत गरेर राख्ख्न अत्यन्त तीतो महसुस भएको छ । तर एउटा द्वन्द्ववादीले मह मात्रै चाट्दैन बरु तीते करेलोको रस पनि पिउनुपर्ने हुन्छ । माक्र्सले पु्रँधोलाई यस्तै कुराको आधारमा नै ‘दर्शनको दरिद्रता’ मा पितृसत्तात्मक र परम्परावादी भनी आलोचना गर्नुभएको छ ।

काल्पनिक समाजवादी फ्लोरा सेलेस्टिन थेरेसे त्रिस्तान (१८०२–१८४४) ले आफ्नो समाजवादमा एउटा ‘मजदुर भवन’ बनाउने कल्पना गरेकी थिइन् । यो भवन निर्माणका लागि संसारका मजदुरहरूबाट सहमतिसहित कोष निर्माणका लागि सक्दो चन्दा प्रस्ताव गरेकी थिइन् । उनी भवनलाई विद्यालय चिकित्सालय वृद्धभत्ता र अपाङ्गहरूका लागि शरणालय र श्रमजीवी वर्गका लागि सांस्कृतिक केन्द्र बनाउन चाहन्थिन् । आफ्नो पुस्तक ‘युनियर ओव्रायर’ मा उनले महिलाहरूका विषयमा प्रस्तावहरू राखेकी छिन् । उनले भनेकी छिन्–

‘स्त्री र पुरुष दुवैलाई समान रूपले कामको अधिकारमा वैधताका लागि मान्यता प्राप्त हुनुपर्दछ हरेक क्षेत्रमा मजदुर युनियनका भवन निर्माण गर्नुपर्दछ । जहाँ मजदुर वर्गका केटाकेटीहरूलाई बौद्धिक र प्राविधिक शिक्षा दिइनेछ र त्यहाँ महिला र पुरुष श्रमिकलाई प्रवेश गर्न पाइनेछ जो काम गर्दा गर्दै घाइते भएका बा वृद्ध र बिरामी भएका हुन्छन् राष्ट्रका महिलाहरूलाई तुरुन्तै नैतिक बौद्धिक र प्राविधिक शिक्षा दिन आवश्यक छ उनीहरूले राष्ट्रका पुरुषहरूलाई नैतिक बनाउन आफ्नो प्रभाव पार्न सक्छन् भन्ने तथ्य स्वीकार गर्नुपर्दछ पुरुष र महिलाहरूका बीचमा समानताको अधिकारलाई सिद्धान्ततः स्वीकार गर्नुपर्दछ किनभने मानवीय एकता स्थापनाको यो एक मात्र साधन हो ।’

(समाजवादी चिन्तनको इतिहास भाग १ मा कृष्णकान्त मिश्रद्वारा उद्धृत)

मार्क्सका अनुसार फ्लोरा त्रिस्तानले ‘१८२१ देखि नै समाजवादी निष्कर्षहरू प्रस्तुत गरिरहेकी थिइन् र पुँजीको प्रकाशनपूर्व कहिलेकहीँ यो साहित्य कति दृढता तथा सङ्कल्पका साथ प्रस्तुत गरिएको थियो भने त्यो अद्वितीय नै थियो ।’ आफ्नो पिताको मृत्युपछि त्रिस्तान र उनकी आमाले परिवारबाट सहयोग नहुँदा ठूलो अभावको सामना गर्नुपर्यो । युवती भइसकेपछि एकजना चित्रकारसँग विवाह गरिन् । पति जुवाडे निस्क्यो । अन्ततः उनले त्यस पतिसँग तलाक गरिन् र बच्चाहरू लिएर आमाको साथले हुर्काइन् । एकजना धनाढ्यको घरमा नोकरी गरेर जीवन निर्वाह गरिन् र विभिन्न देशको भ्रमण पनि त्यही जागिरबाट गरिन् । अन्ततः उनले पारिवारिक घर पेरु पुगिन् र पुस्तैनी घरमा बस्न पाइन् । फेरि फ्रान्स नै फर्केर श्रमिक वर्गका लागि योगदान गर्न थालिन् । जीवनका हन्डर–ठक्करले नै उनलाई झन् समाजवादी बनायो । तर अरू काल्पनिक समाजवादीहरूले जस्तै उनले पनि समाजवाद ल्याउने सही बाटो पत्ता लगाउन सकिनन् ।

सबैभन्दा कान्छा र सबैभन्दा वैज्ञानिक समाजवादको नजिक पुगेका व्यक्ति थिए– रोबर्ट ओबेन । उनका बारेमा एङ्गेल्सले आफ्नो प्रसिद्ध कृति ड्युहरिङ मतखण्डनमा भन्नुभएको छ–

‘ठूला सहरहरूका सबभन्दा फोहोर घरहरूमा एउटा बेघरबार आवादी भेडा–बाख्राहरूजस्तै भरिएको थियो सबै परम्परागत नैतिक बन्धन पितृसत्तात्मक अधीनता तथा पारिवारिक नाता–सम्बन्ध खुकुला बनेका थिए । मजदुरहरूबाट खासगरी स्त्रीहरू र बच्चाहरूबाट भयानक हदसम्म अत्यधिक श्रम गराइन्थ्यो । अकस्मात् बिल्कुल नयाँ परिस्थितिमा ल्याएर फ्याँकिनुको फलस्वरूप मजदुर वर्गको नैतिक मनोबल बिल्कुल गिरेको थियो ।

यतिबेला एक उनन्तीस वर्षीय कारखाना मालिक सुधारकका रूपमा अगाडि आए । यो बालकजस्ता सरल लगभग उत्कृष्ट स्वभावका मानिस थिए तर साथसाथै उनीमा जन्मदेखि नै अरू मानिसहरूको नेतृत्व गर्ने यस्तो विलक्षण क्षमता थियो धेरै कम मानिसहरूमा पाइन्छ । रोबर्ट ओबेनले भौतिकवादी दार्शनिकहरूको कुन शिक्षालाई अपनाएका थिए भने मानिसको चरित्र एकातिर आनुवांशिकताको र अर्कोतिर त्यो वातावरणको नतिजा हुन्छ जसमा व्यक्तिले आफ्नो जीवन र खासगरी आफ्नो विकासको समय व्यतीत गरेको छ ।’

औद्योगिक क्रान्तिले खास–खासजस्ता अरू उद्योगपतिहरूले त्यसबाट नाफा लिने होडबाजी गर्दथे भने उनले भने आफ्नो प्रिय सहकारी समाजवाद लागू गर्ने अवसर ठान्दथे । सन् १८०० देखि १८२९ सम्म बेलायतको स्कटल्यान्डस्थित न्युलेनार्क सुती कारखानामा उनी हिस्सेदार प्रबन्धकर्ता थिए । उनले त्यसलाई पहिलेभन्दा स्वतन्त्रतापूर्वक र कुशलतापूर्वक सञ्चालन गरेका थिए । उनलाई यसमा जुन सफलता मिल्यो त्यसबाट उनी प्रख्यात भएका थिए । त्यहाँ भ्रष्ट र पतित मानिसहरू आएर बस्ने पनि न्युलेनार्कलाई आदर्श बस्ती बनाइदिए जहाँ २५०० मानिस थिए । त्यहाँका मानिसलाई मदिरासेवन प्रहरी प्रशासन मुद्दा मामिला गरिब सहायता कानुन दानजस्ता थिए खासगरी युवा पुस्ता र केटाकेटीलाई ध्यान दिइरहेका थिए । उनी शिशु पाठशालाहरूको संस्थापक नै थिए । त्यसमा दुई वर्षका बालबालिका आउँथे । एङ्गेल्सका शब्दमा ‘त्यहाँ उनीहरूलाई यति आनन्द मिल्दथ्यो कि उनीहरू सजिलै घर फर्किन तयार हुँदैनथे’ अरू कारखानामा उनका प्रतिस्पर्धीले चौध–पन्ध्र घन्टा मजदुरहरूलाई काम गराउँथे भने न्यु लेमार्कमा साढे दश घन्टा मात्र काम गर्नुपर्दथ्यो । कपासको समस्याले चार महिना कारखाना बन्द हुँदा पनि मजदुरहरूलाई तलब उपलब्ध भयो भने व्यवसायको मूल्य घटेन बरु दुईगुणा बढी भयो । त्यहाँ मजदुरहरूको जीवनस्तर पनि बढिरहेको थियो । ओबेनका अनुसार आधा शताब्दी पहिले ६ लाखले जति उत्पादन गर्दथे त्यतिबेला दुई हजार पाँचसयले त्यति नै उत्पादन गर्दथे । उनले प्रश्न गरका छन्– ‘मैले आफैँसँग के प्रश्न गरेँ भने २ हजार ५ सय व्यक्तिले जति धन खर्च गर्दछन् र ६ लाखले जति धन खर्च गर्दछन् त्यसको अन्तर कहाँ गयो ? एङ्गेल्सले यसको जवाफ दिंदै भन्नुभएको छ ‘प्रश्नको उत्तर स्पष्ट थियो । त्यो कारखानाका मालिकहरूलाई ३ लाख पाउन्डभन्दा बढी शुद्ध मुनाफाको अतिरिक्त उनीहरूले लगानी गरेको पुँजीमा ५ प्रतिशतको ब्याज दिनका लागि प्रयोग हुन्थ्यो । त्यो कुरा न्युलेनार्कको लागि सत्य थियो त्यो इङ्ल्यान्डका तमाम कारखानाहरूको लागि त अझ धेरै सत्य थियो ।’

एङ्गेल्सले अगाडि भन्नुभएको छ ‘जब ओबेन कम्युनिजमको दिशामा अघि बढे तब उनको पूरै जीवनमा एउटा नयाँ मोड आयो । जबसम्म उनी केवल एक परोपकारी दानवीर मात्र थिए तबसम्म उनलाई धन प्रशंसा सम्मान र गौरव सबै कुरा उपलब्ध थियो । त्यसबेला उनी युरोपका सबभन्दा लोकप्रिय व्यक्ति थिए । न केवल उनको आफ्नो वर्गका मानिसहरू मात्र बरु राजा–महाराजा पनि उनको कुराहरू सुन्दथे र उनलाई मन पराउँदथे । तर जब उनले आफ्नो कम्युनिस्ट सिद्धान्त मानिसहरूको अगाडि राखे तब अर्कै अवस्था देखा पर्यो । उनको विचारमा तीन ठुला अवरोधहरूले समाज सुधारको बाटो रोकिरहेका थिए : निजी सम्पत्ति धर्म र विवाहको वर्तमान स्वरूप’ (ड्युहरिङ मतखण्डन) ।

समाज सुधारको बाटो रोक्ने यी तीन कुराका विरुद्ध जानु भनेको राज्यसत्ताका विरुद्ध जानु हुन्थ्यो । जब राज्यसत्ताका विरुद्ध उनी नडराईकन अघि बढ्न थाले तब उनी १८३० पछि अधिकृत समाजबाट बहिस्कृत भएका थिए र आर्थिक रूपमा पनि चौपट भएका थिए । त्यसपछि उनी बाँकी ३० वर्षसम्म उनी मजदुरवर्गसँगै जोडिएर रहे पनि पुँजीपतिवर्गका विरुद्ध विद्रोहमा जान सकेनन् । उत्पीडितवर्गको मुक्तिका लागि उनले अमेरिकाको इन्डियाना राज्यमा ठूलो क्षेत्र किनेर ‘न्यु हार्मोनी’ नामक बस्ती बसाले । तर त्यो पनि कामयावी हुन सकेन । किनभने उनले पुँजीवादीवर्गको राज्यसत्ताका विरुद्ध मजदुरवर्गलाई जान दिएनन् । त्यसैले उनी पनि काल्पनिक समाजवादी नै सावित भए ।

त्यसकारण आफ्नो समयको पुँजीवादी उत्पादन प्रणालीको विश्लेषण गर्दै मार्क्स–एङ्गेल्सले सामाजिक उत्पादन र निजी स्वामित्वबीचको अन्तरविरोध पत्ता लगाउनुभयो । यो भनेको उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तरविरोध पनि हो । उत्पादक शक्ति भनेको जनसमुदाय र उत्पादनका साधनहरू (औजार भूमि पुँजी यन्त्र इत्यादि) को जोड हो भने उत्पादन सम्बन्ध भनेको ती उत्पादनका साधनहरूमाथि स्वामित्वको स्वरूप हो । स्वामित्वको स्वरूप भनेको सामूहिक छ वा व्यक्तिगत भन्ने हो । जबसम्म पुँजीवादी राज्यसत्ता रहन्छ तबसम्म सामाजिक उत्पादन र व्यक्तिगत स्वामित्वबीचको अन्तरविरोध रहिरहन्छ । यसको समाधान भनेको सामाजिक उत्पादनको सामाजिक स्वामित्व हो जसलाई समाजवाद भनिन्छ । समाजवाद पुँजीवादी स्वामीहरू र पुँजीको रक्षाका लागि बनेको राज्यसत्तालाई उत्पीडितवर्गले पल्टाएपछि मात्र प्राप्त हुन्छ । त्यसको लागि मजदुर किसान सिपाही र सम्पूर्ण उत्पीडित वर्ग सर्वप्रथम वैज्ञानिक दर्शनबाट मार्गनिर्देशित भएर संगठित हुनुपर्दछ । त्यो सङ्गठनको नेतृत्वमा वर्गसङ्घर्ष गर्नुपर्दछ । वर्गसङ्घर्ष एउटा उचाइमा पुगेपछि पुँजीपतिवर्गको राज्यसत्ताले आफ्नो रक्षाका लागि सशस्त्र दमन गर्न आइपुग्दछ । उसले जनसङ्घर्ष र जनआन्दोलनलाई निर्ममतापूर्वक दबाउन अन्तिम शक्ति लगाउँछ । बहुसंख्यक उत्पीडितवर्ग सधै निःशस्त्र रह्यो भने शोषकवर्ग र उसको राज्यसत्ताले हरेक पटक आन्दोलन दबाउँछ । त्यसकारण सर्वहारा वर्ग र उसका सहयोगीहरूले सशस्त्र प्रतिरोध गर्द बाध्य हुन्छन् । जनताको व्यापक प्रतिरोधबाट प्राप्त जनसत्ताको रक्षा विकास र विलोपीकरणका लागि सर्वहारा वर्गको अधिनायकत्व ऐतिहासिक आवश्यकता बन्न जान्छ । यही सर्वहारा वर्गको अधिनायकत्वकाललाई नै वैज्ञानिक समाजवादीकाल वा पुँजीवाद र साम्यवादबीचको सङ्क्रमणकाल भन्दछन् । जहाँसम्म वर्गहरूको उन्मुलन हुँदैन त्यहाँसम्म वैज्ञानिक समाजवादी अधिनायकत्व चलिरहन्छ । माथि सुरुमा नै उद्धृत गरिएको मार्क्सको उद्धरण वास्तवमा वैज्ञानिक समाजवादी कार्यक्रम हो । वैज्ञानिक समाजवाद मार्क्सका शब्दमा स्थायी क्रान्तिको उद्घोषण हो भने माओले यसैलाई निरन्तर क्रान्तिका रूपमा विकास गर्नुभएको छ । त्यसमा स्थायी क्रान्ति वा निरन्तर क्रान्ति (सर्वहारा अधिनायकत्वअन्तर्गत महान् सर्वहारा सांस्कृतिक क्रान्ति) ले माक्र्सका शब्दमा चार प्रमुख कार्य गर्दछ । पहिलो त्यसले वर्ग विभेदहरूको उन्मुलन गर्नुपर्नेछ दोस्रो यसले त्यो वर्गविभेद उत्पन्न हुने सम्पूर्ण उत्पादन सम्बन्ध उन्मूलन गर्दछ तेस्रो त्यो उत्पादन सम्बन्धअनुरूप रहने सम्पूर्ण सामाजिक सम्बन्ध उन्मुलन गर्नुपर्दछ र चौथो त्यो सामाजिक सम्बन्धको परिणामका रूपमा उत्पन्न भएका सम्पूर्ण विचारहरूको क्रान्तिकारीकरण गर्नुपर्दछ । मुठीभर पुँजीवादी फासिस्ट अधिनायकत्वका विरुद्ध विजयी भएर जन्मेको बहुसंख्यक जनताको जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्वको अर्थ यही हो ।

यति मात्र भनेर सुख पाइँदैन । यसमा सर्वहारा अधिनायकत्वअन्तर्गत जनतन्त्रको प्रश्न पनि उठ्दछ । समाजवादमा अधिनायकत्व भनेको सत्ताच्यूत पुँजीपति तथा दलाल पुँजीपति वर्गमाथि नियन्त्रण हो भने जनतन्त्र भनेको सत्तारुढ जनताको स्वतन्त्रता र समानता हो । मार्क्सले समाजवादलाई साम्यवादी समाजको प्रथम अवस्था पनि भन्नुभएको छ । यस व्यवस्थाको बारेमा माक्र्सले गोथा कार्यक्रमको आलोचनामा यसो भन्नुभएको छ ‘… साम्यवादी समाजको प्रथम अवस्थामा जुन एउटा लामो प्रसव पीडापछि पुँजीवादी समाजको गर्भबाट भर्खरै मात्र पैदा भएको छ त्यसमा … त्रुटिहरू हुनु अनिवार्य हुन्छ । अधिकार भन्ने कुरा समाजको आर्थिक व्यवस्था र त्यसद्वारा निर्धारित सांस्कृतिक विकासभन्दा अग्लो कहिल्यै हुन सक्तैन ।’

लेनिनले राज्य र क्रान्तिमा जनतन्त्र (प्रजातन्त्र) को समाजवादी परिभाषा यस्तो दिनुभएको छ ‘प्रजातन्त्रको अर्थ हो– समानता । यदि वर्गहरूको उन्मूलनको अर्थमा त्यसको तात्पर्य सही अर्थमा बुझ्ने हो भने समानताको निम्ति सर्वहारा सङ्घर्ष र एउटा नाराको रूपमा समानताको कति ठूलो महत्त्व हुन्छ भन्ने कुरा छर्लङ्ग हुन जानेछ । परन्तु प्रजातन्त्रको अर्थ केवल औपचारिक समानता हो । अनि उत्पादनका साधनहरूमा स्वामित्वसम्बन्धी समाजका साराका सारा सदस्यहरूको समानताहरूको समानता अर्थात् श्रमको समानता र पारिश्रमिकको समानता कायम हुनेबित्तिकै मानवजातिसमक्ष औपचारिक समानताबाट वास्तविक समानतातर्फ पाइला सार्ने अर्थात् ‘प्रत्येकबाट उसको योग्यताअनुसार र प्रत्येकलाई उसको आवश्यकताअनुसार’ भन्ने नियम कार्यान्वयन गर्ने प्रश्न अनिवार्य रूपमा खडा हुन जानेछ ।’ अर्को ठाउँमा लेनिनले भन्नुभएको छ ‘… हामी यहाँ समाजवाद तथा साम्यवादबीच वैज्ञानिक अन्तरको प्रश्नमा उत्रन्छौँ । … साम्यवादको प्रथम अथवा न्यूनतम अवस्था र त्यसको उच्चतम अवस्थाबीचको राजनीतिक अन्तर कालान्तरमा सम्भवतः निकै नै बढ्न जानेछ परन्तु अहिले पुँजीवादअन्तर्गत यस अन्तरलाई स्वीकार गर्नु हास्यास्पद हुनेछ र त्यसलाई केही अराजकतावादीहरू मात्र प्रथम महत्त्वको कुरा भन्न सक्दछन् ।’

‘परन्तु समाजवाद र साम्यवादबीचको वैज्ञानिक अन्तर छर्लङ्गै छ । समान्यतः जसलाई समाजवाद भनिन्छ त्यसलाई मार्क्सले साम्यवादी समाजको प्रथम अथवा न्युनतम अवस्था भन्ने नाम दिनुभएको थियो जुन हदसम्म उत्पादनको साधन साझा सम्पत्ति बन्न सक्दछ त्यस हदसम्म यहाँ ‘साम्यवाद’ शब्द पनि उपयुक्त हुन सक्दछ यद्यपि के कुरा बिर्सनुहुँदैन भने यो पूर्ण साम्यवादचाहिँ होइन ।’

यहाँ उद्धृत मार्क्स र लेनिनका विचारहरूबाट के बुझ्नुर्पछ भने वैज्ञानिक समाजवाद भनेको साम्यवादको ‘प्रथम चरण’ र ‘न्यूनतम अवस्था’ हो । वैज्ञानिक साम्यवाद एवम् साम्यवादको उच्चतम चरण प्राप्त नभएसम्म जनतन्त्र निरपेक्ष समानतामा आधारित भएर लागू हुँदैन र सापेक्ष समानताका आधारमा लागू हुन्छ । यो जनतन्त्र औपचारिक होइन बरु सर्वहारा वर्गका लागि बढी अधिनायकत्व र कम जनतन्त्र तथा बहुसंख्यक सत्तारुढवर्गका लागि बढी जनतन्त्र र कम अधिनायकत्व अभ्यासको लामो सङ्क्रमणकालीन प्रक्रियामा वर्गको विलोप हुनेछ । त्यसबेला समाजले उत्पादनका साधनमाथि आफ्नो अधिकार प्राप्त गर्नेछ । राज्य समाजमा बदलिइसकेपछि यो साम्यवादको उच्चतम चरण हुनेछ । त्यहाँ बन्धनमा रहेको श्रममुक्त हुनेछ र श्रम हरेक मानिसको अपरिहार्य आवश्यकता बन्नेछ । माल उत्पादन समाप्त हुनेछ र उत्पादन गर्नेमाथि गरिएको वस्तुको प्रभुत्व पनि समाप्त हुनेछ । अराजकताको स्थान योजनावद्ध र सामाजिक सङ्गठनले लिएपछि व्यक्तिहरूलाई आ–आफ्नो अस्तित्वका लागि होइन बरु पूरै समाजको अस्तित्वको लागि सङ्घर्ष गर्नुपर्ने हुन्छ । अब मानिस पशु जगत्बाट रूपान्तरण भएर समग्र मानव अस्तित्वमा प्रवेश गर्नेछ । मानिसको पर्यावरण तयार गर्ने जीवनका ती समस्त परिस्थितिले अहिलेसम्म मानिसमाथि शासन गर्दै आएको थियो त्यो अब मानिसको नियन्त्रणमा आउनेछ र मानिस स्वयम् आफ्नो सामाजिक सङ्गठनको मालिक भएकोले प्रकृतिको स्वामी बन्न जान्छ । आजसम्म सामाजिक कार्यको नियमले प्राकृतिक नियमका रूपमा मानिसमाथि शासन गर्दै आएको थियो अब भने मानिसले पूर्ण समझदारीका साथ यसको उपयोग गर्दै आफ्नो काबुमा ल्याउनेछ । आजसम्म मानिसको आफ्नै सामाजिक सङ्गठन एवम् राज्यले प्रकृति र इतिहासद्वारा थोपरिएको एउटा अनिवार्य आवश्यकताका रूपमा मानिसको मुकाबिला गर्दथ्यो भने अब त्यो स्वयम् मानिसको स्वतन्त्र कार्यको परिणाम बन्नेछ । इतिहासमाथि शासन गर्दै आएको बाह्य वस्तुगत शक्ति मानिसको नियन्त्रणमा आउनेछ । त्यसपछि मात्र मानिसले आफ्नो पूर्ण चेतनाका साथ आफ्नो इतिहास आफैँ बनाउँदै कुनै सामाजिक कारणलाई गतिवान बनाएर अझ निरन्तर बढ्दो मात्रामा अभिप्रेरित परिणाम निकाल्नेछ । यही नै माक्र्सका शब्दमा ‘इतिहासको रहस्य समाधान गर्ने साम्यवाद हो र यसले नै आफ्नो समाधान आफैँ जान्दछ ।’ ‘त्यो साम्यवाद पूर्णरूपले मानवतावादमा विकसित भएर प्रकृतिवाद बराबर हुन्छ ।’ यही नै साम्यवादको उच्चतम चरण हो । एङ्गेल्सका अनुसार यही कार्यभार पूरा गर्नु नै वैज्ञानिक समाजवादको उद्देश्य हो ।

अतः महिला मुक्तिको पहिलो शर्त वैज्ञानिक समाजवाद र उच्च शर्त वैज्ञानिक साम्यवाद हो । त्यही वैज्ञानिक समाजवाद र साम्यवादमा नै प्रुँधोजस्ता महिलालाई ‘हीनतर प्राणी’ ‘पुरुषको भन्दा शारीरिक बौद्धिक र नैतिक क्षेत्रहरूमध्ये हरेकमा २/३ कम र पुरुषको स्त्रीभन्दा ३/८ गुणा श्रेष्ठता’ ‘महिलाको व्यक्तित्व पुरुषभन्दा ८/२७ वाँ भाग’ देख्ने पितृसत्तावादी प्रवृत्तिको अन्त हुनेछ । त्यही वैज्ञानिक समाजवाद र साम्यवादमा नै एङ्गेल्सले ‘परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति’ मा संश्लेषण गरेको यो सिद्धान्त लागू हुनेछ ? ‘… एउटा नयाँ पिंढी विकास हुनेछ यस्तो एउटा पुरुष पिंढी जसलाई जीवनभरि कुनै नारी देहका लागि पैसा दिएर वा सामाजिक शक्तिको कुनै अन्य साधनद्वारा किन्ने मौका मिल्नेछैन र यस्ता नारीहरूको पिंढी जसलाई कहिल्यै सच्चा प्रेमको सट्टा कुनै पनि कारणले कुनै पुरुषको अगाडि आत्मसमर्पण गर्नका लागि विवश हुनुपर्नेछैन न त तिनलाई आर्थिक परिणामको भयले आफूले आफ्नो प्रेमीको अगाडि आत्मसमर्पण गर्नबाट कहिल्यै रोक्नुपर्नेछ । जब एकपटक यस्ता स्त्रीद्दपुरुषले यस दुनियाँमा जन्म लिनेछन् तब तिनले यस कुरामा अलिकति पनि चिन्ता गर्ने छैनन् कि आज हाम्रो विचारमा उनीहरूले के गर्नुपर्दछ । ती स्वयम्ले निर्णय गर्नेछन् कि उनीहरूले के गर्नुपर्दछ र त्यसअनुसार उनीहरू स्वयम्ले नै हरेक व्यक्तिको आचरणको बारेमा जनमत निर्माण गर्नेछन् अनि समस्या समाधान हुनेछ ।’

प्रिय आमा दिदी–बहिनी र छोरीहरू ! हामीले अहिलेसम्म वैज्ञानिक समाजवाद र साम्यवादी व्यवस्था के हो र कस्तो हुन्छ भन्नेबारे सैद्धान्तिक छलफल गर्ने कोसिस गर्यौँ । यही नै वैज्ञानिक समाजवादी क्रान्तिको मालेमावादी कार्यदिशा र कार्यक्रम हो । अब हामी नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिबारे चर्चा गरौँ ।

मार्क्सले साम्यवादमा पुग्ने कार्यदिशा बनाएको १७३ वर्ष भइसकेको छ । यसमा लेनिनले दोस्रो चरणमा विकास गरेको पनि १२० वर्ष भइसकेको छ र माओले तेस्रो चरण विकास गरेको १०० वर्ष भइकेको छ । हामीले नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिका लागि साम्यवादी पार्टी निर्माण गरी जनक्रान्ति र जनआन्दोलन अघि बढाएको ७० वर्ष नाघिसकेको छ । नेपालको इतिहासमा त्यस्तो कुनै जनआन्दोलन र राष्ट्रिय आन्दोलन छैन जसमा महिलाहरूको भूमिका महत्त्वपूर्ण रहेको नहोस् । भारत कब्जा गरिसकेपछि नेपालमा पटक–पटक विभिन्न सीमाक्षेबाट अङ्ग्रेजहरूले हमला गर्न प्रयास गरेका थिए । नालापानी जीतगढी र मकवानपुरगढी आदिमा अङ्ग्रेजहरूसँग नेपाली महिलाहरूले पुरुषको काँधमा काँध मिलाएर लडेको लडाइँ ऐतिहासिक महत्त्वको छ । त्यही सिलसिलामा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा महिला तथा केटाकेटीहरूले जीवन मरणको लडाइँ लडेका थिए भने त्यो अभियानको प्रतिरोध गर्दै आ–आफ्नो राष्ट्रियता बचाउन लडेका महिलाहरूको वीरता पनि कम महत्त्वको थिएन ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाका लागि मोतीदेवी श्रेष्ठले महत्त्वपूर्ण योगदान गरेकी थिइन् । तर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा वैज्ञानिक समाजवादी क्रान्तिका लागि मालेमावादको मार्गनिर्देशनमा मौलिक कार्यदिशा र कार्यक्रम विकास गर्न त्यति धेरै मिहिनेत गरेको देखिन्न । नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठले पार्टी स्थापना गर्ने प्रक्रियामा नेपाली समाजको वर्गविश्लेषण गर्ने कोसिस गरेका छन् । माओले गरेको चिनियाँ समाजको वर्गविश्लेषणका आधारमा चीनलाई जस्तै यसलाई पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक देश भनी संश्लेषण गरिएको थियो । सौभाग्यवश त्यतिबेलाको स्थितिमा सही नै थियो भन्नुपर्दछ । त्यसकै आधारमा यहाँ पनि दीर्घकालीन जनयुद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा तय गरियो । २०२८ सालमा झापा विद्रोह गर्नेहरूले पनि त्यही कार्यदिशाअनुरूप अघि बढेको बताएका छन् । २०५२ साल फागुन १ गतेदेखि सुरु भई २०६३ मा विसर्जन भएको जनयुद्धका प्रक्रियामा पनि कुनै मौलिक कार्यदिशाको विकास गरिएन । बरु त्यो जनयुद्धको ऐतिहासिक उपलब्धिलाई संसदीय भासमा लिएर डुबाइयो जसको लागि हजारौँ महिलाहरूले ज्यान गुमाएका छन् । नेपाली जनआन्दोलन र जनयुद्धको इतिहासमा नेपाली किसान मजदुर सिपाही र मध्यमवर्गले नेतृत्ववर्गबाट धोका खाँदै आएको छ । ‘घुम्दै फिर्दै रुम्जाटार’ भन्ने जनसंश्लेषण चरितार्थ भएको छ । महिला जनसमुदाय उत्पीडितवर्गको आधा धर्ती र आकाश भएकोले यी जनआन्दोलन र जनक्रान्तिमा उनीहरूको स्वतन्त्रतालाई थप बन्धनमा बाँधिएको छ । यही बन्धन फुकाउन र समग्र उत्पीडितवर्गको मुक्तिका लागि नेपाल साम्यवादी दलका महासचिव विप्लवको नेतृत्वमा वैज्ञानिक समाजवादी क्रान्तिको लागि नयाँ कार्यदिशा र कार्यक्रम बनेको छ ।

हामीले नेपाली क्रान्तिको कार्यदिशा विकास गर्न नेपाली समाजमा आजको मोटोमोटी वर्गविश्लेषण गरेका छौँ । तदनुरूप जनताको मूल अन्तरविरोध दलाल पुँजीवादी संसदीय व्यवस्थासँग रहेको छ । दलाल पुँजीवादसँग नै सामन्तवाद र नोकरशाही पुँजीवाद एकीकृत भएको छ । दलाल पुँजीवाद भन्नेबित्तिकै त्यसमा साम्राज्यवादी शासक र विदेशी पुँजीपतिहरू जोडिएका हुन्छन् भन्ने कुरा स्वतः स्पष्ट छ । यसका विरुद्ध मजदुर किसान सिपाही राष्ट्रिय पुँजीपति र मध्यमवर्ग एकीकृत र केन्द्रीकृत हुन पुग्दछ । यसमा अन्तर्राष्ट्रिय श्रमिक तथा उत्पीडित वर्ग पनि एकीकृत हुन्छ । त्यसकारण हामीले हाम्रो अन्तर्राष्ट्रिय श्रमिक तथा उत्पीडितवर्ग पनि एकीकृत हुन्छ । त्यसकारण हामीले हाम्रो क्रान्तिको कार्यदिशालाई एकीकृत जनक्रान्ति हो भनेर थबाङ महाधिवेशनमा पारित गरेका छौँ । हामीले हाम्रो देशलाई नवऔपनिवेशिक दलाल पुँजीवादी संसदीय व्यवस्था भएको नगरसमाजको विकास हुँदै गएको नयाँ श्रमिक वर्गको विकास भएको विज्ञान र प्रविधिले प्रवेश पाएको बहुजातीय तथा बहुधार्मिक देशभक्त तथा सच्चा लोकतन्त्रवादीहरूको उपस्थिति रहेको र भू–परिवेष्ठित आदि भनी चित्रण गरेका छौँ । महाधिवेशनमा हामीले ‘उल्लिखित विशेषताअनुरूप संश्लेषण गरिएको ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा राजनीतिक दृष्टिले मात्र होइन सैन्यदृष्टिले पनि नयाँ र महत्त्वपूर्ण छ’ भनेका छौँ । यसका तीन चरण हुने सम्भावना देखिन्छ । राजनीतिक तथ विचारधारात्मक सङ्गठनात्मक सङ्घर्ष आर्थिक र प्राविधिक आधारको व्यापक तयारी यी पाँच आधारको जाँच गर्ने जनान्दोलन र जनबलको रिहर्सल र रिहर्सलको आधारमा निर्णायक विद्रोह । यी तीनवटै प्रक्रियामा अघि बढ्दा राजनीतिक आर्थिक र सांस्कृतिक क्रान्तिलाई एकीकृत रूपमा अघि बढाउनु एकीकृत जनक्रान्तिको विशेषता हो ।

हाम्रो कार्यक्रम भनेको वैज्ञानिक समाजवाद हो । यसबारेमा महासचिव क. विप्लवद्वारा आठौँ महाधिवेशनमा प्रस्तुत तथा पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ ‘राजनीतिक चरित्र र प्रधान अन्तरविरोधमा आएको परिवर्तनअनुसार राजनीतिक कार्यक्रममा पनि विकास गर्नुपर्दछ । राजनीतिक अन्तरविरोध बदलिने तर राजनीतिक कार्यक्रम पुरानै भयो भने क्रान्तिलाई हानी पुग्दछ । हामीले विगतमा देश अर्धसामन्ती र अर्धऔपनिवेशिक भएको क्रान्तिको न्यूनतम् कार्यक्रम नयाँ जनवाद निर्माण गरेका थियौँ । तर दश वर्षको जनयुद्ध दलाल पुँजीवादी गणतन्त्रको स्थापना नवऔपनिवेशिक अवस्था आदि कारणले गर्दा अब नेपालको राजनीतिक कार्यक्रम नयाँ जनवाद मात्र बनाउँदा अपूर्ण हुन्छ र पछि पर्न जान्छ । अर्को कुरा नयाँ जनवाद कुनै लामो र स्थायी चरण पनि होइन । यो केवल समाजवादमा प्रवेश गर्ने खुड्किलो हो । कम्युनिस्टहरूको आधारभूत राज्यव्यवस्था भनेको वैज्ञानिक समाजवादी व्यवस्था नै हो । माओकै उदाहरण लिंदा पनि सन् १९४९ मा उहाँले क्रान्ति गर्नुभयो र नयाँ जनवाद लागू गर्नुभयो तर यो लामो समय रहन दिनुभएन । छिट्टै वैज्ञानिक समाजवादमा लाने प्रस्ताव गर्नुभयो । यसर्थ हामीले अबको राजनीतिक कार्यक्रम विगतकै जस्तो नयाँ जनवादी मात्र भन्नु वस्तुवादी हुँदैन वैज्ञानिक समाजवादी बनाउनु वैज्ञानिक र वस्तुवादी हुन्छ । वस्तुवादी कार्यक्रम निर्माण गरेर क्रान्तिको वरिपरी नयाँ मित्र र सहयोगी शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध गर्न सकिन्छ । तसर्थ नेपालको आउँदो राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवादी अपनाउनुपर्दछ ।’

यो कार्यक्रम दलाल पुँजीवादी संसदीय व्यवस्था र नेपाली क्रान्तिका थप नयाँ मित्रहरूसहितका जनताबीचको अन्तरविरोध समाधान गर्ने हिसाबले ल्याइएको छ । नयाँ जनवाद समाजवादकै अङ्ग भएकोले कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्तिकै दौरानमा राष्ट्रिय पुँजीको विकास गर्दै देशव्यापी क्रान्तिको विजयपछि वैज्ञानिक समाजवाद लागू गर्नुपर्दछ ता कि फेरि पुँजीवादको अझै विकास गरौँ भन्ने ल्यु साओ ची र तङ साओ फङ नजन्मिऊन् । दलाल पुँजीलाई तुरुन्तै राष्ट्रियकरण गरी राष्ट्रिय उद्योगमा लगानी गर्नुपर्दछ र दलाल पुँजीवादी संसदीय सरकारले लिएको विदेशी ऋण खारेज गर्नुपर्दछ ।

ऐतिहासिक भौतिकवादी दृष्टिकोणले गर्दा मातृसत्ताका नारीहरूलाई जब पुरुषहरूले वनबाट पशुहरूलाई समातेर ल्याई पशुपालनको प्रक्रियामा सहभागी गराएनन् तब उनीहरू सम्पत्तिविहीन भए । त्यसपछि उनीहरू कालक्रममा पुरुषको नियन्त्रणमा गए । एङ्गेल्सको भाषामा परिवारमा महिलाहरू सर्वहाराको स्थितिमा र पुरुषहरू पुँजीपतिको स्थितिमा पुगे । अतः पहिलो वर्ग विभाजन परिवारबाटै सुरु भएको थियो । समाजमा वर्गविभाजन उत्पादनको अभावले सुरु भएको थियो । घरेलु उत्पादनमा सीमित हुनु र सामाजिक उत्पादनबाट बञ्चित हुनुले नै महिलाहरू एकातिर पुरुषको शोषण र अर्कोतिर पितृसत्तावादी राज्यको शोषणमा परेका हुन् । आदिम समाजमा महिलाहरू स्वतन्त्र थिए भन्ने कुरा आजसम्म पनि जनजाति समुदायका महिलाहरूको स्थितिबाट थाहा पाउन सकिन्छ । यसको कारण उनीहरू सामाजिक उत्पादनका कार्यमा सहभागी पनि हुन्छन् र आर्थिक अधिकार पनि बाहुन–क्षेत्री महिलाहरूभन्दा बढी हुन्छ ।

आज देशमा र विदेशमा व्याप्त बेश्यावृत्ति यौनिक हिंसा बालिका बलात्कार र हत्या महिला बेचबिखन पितृसत्तात्मक पुँजीवादी राज्यसत्ताका परिणाम हुन् । नेपालमा त दलाल पुँजीवादले पुँजीपतिहरूको नाफा र त्यो नाफाबाट आफूलाई आउने मनग्य लाभांशका लागि यी महिला हिंसाहरू बढाएको छ । बालिका बलात्काराई पनि पुँजीवादले नै प्रेरित गरेको छ । पुँजीपतिले नाफाका लागि निलो चलचित्र बनाउँदछ र त्यसमा बालिकादेखि वृद्धसम्मका विभिन्न उमेर समूहको सम्भोग क्रिया देखाई पुरुष र महिलाको कामुकता वृद्धि गर्दछ । प्राचीनकालदेखि नै नाता सम्बन्धमा नै यौनिक घटनाहरू घट्दै आएका छन् । यी घटनाहरू परिस्थितिजन्य र अति कामुकताका कारणले हुन्थे र भइरहेका छन् । यसमा घिउ थप्ने काम पुँजीवाद र त्यसका दलालहरूले गरिरहेका छन् । दलालहरूले आफ्ना मालिकको मनोरञ्जनका लागि समेत बालिकाहरूको व्यवस्था गरिदिन्छन् । आज पुँजीवादी देशहरूले खुल्लमखुल्ला बेश्यालयहरू खोलेका छन् । त्यहाँ युवतीहरूको हरेक मालजस्तै मालको रूपमा बेचबिखन भइरहेको छ । आजको निगम साम्राज्यवादी विश्वबजारमा महिलाहरू बिकाउ माल मात्र हुन् । निगम साम्राज्यवादको अर्थतन्त्रले उनीहरूलाई परिवार र समाजमा देह व्यापार गरेर जीवन धान्न बाध्य पारिदिएको छ । नेपालका तथाकथित म्यान पावर कम्पनीहरूले विदेशमा काम दिने नाममा धनाढ्यहरूका घरेलु दासी र बेश्यालयमा बेचिरहेका हुन्छन् । दलालहरूद्वारा भारतीय बेश्यालय र विवाहका नाममा चीनतिर पठाउने काम भइरहेको छ । यसमा महिलाहरू स्वयम् सचेत र संगठित हुने कुराको पनि समस्या छ । ज्यालामा समेत महिलाहरूलाई श्रम बजारमा ठगिएको छ । हामीलाई महिला समस्याहरूको व्याख्या मात्र गर्ने दर्शन होइन बरु व्याख्याको साथै यसलाई बदल्ने दर्शन चाहिएको छ । त्यो दर्शनशास्त्र भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । हामीलाई पुरानै पुँजीवादी अर्थशास्त्र होइन बरु ‘मानव समाजको जीवन निर्वाहका भौतिक साधनहरूको उत्पादन तथा विनिमयमाथि शासन गर्ने नियमहरूको विज्ञान’ मालेमावादी राजनीतिक अर्थशास्त्र चाहिएको छ । हामीलाई दलाल पुँजीवादी संसदीय व्यवस्था होइन वैज्ञानिक समाजवाद चाहिएको छ हामीलाई उपभोक्तावादी सौन्दर्यशास्त्र होइन बरु श्रमजीवी सौन्दर्यशास्त्र चाहिएको छ । महिलाहरूमाथिको उत्पीडन अन्ततः उत्पीडितवर्गकै आधा भाग हो । यसको न्यूनतम् चरणको समाधान वैज्ञानिक समाजवाद हो र पूर्ण समाधान वैज्ञानिक साम्यवाद हो । यसले महिलाहरूलाई सामाजिक उत्पादनमा लैजान्छ र महिला तथा पुरुषलाई समाजवादरूपी गाडीका जोडी पाङ्ग्रा बनाइदिन्छ । विवाहाई धनमा आधारित होइन बरु प्रेममा आधारित बनाइदिन्छ । प्रेममा आधारित विवाहले वैवाहिक स्वतन्त्रता प्रदान गर्दछ ।

पितृसत्तात्मक सम्पत्ति सम्बन्धले पुरुषमा मात्र होइन, महिलाहरूमा पनि पितृसत्तात्मक संस्कृति बनेको हुन्छ । त्यसकारण वैज्ञानिक समाजवादी क्रान्तिले मात्र महिलाहरूमा पूर्ण स्वतन्त्रता प्राप्त हुँदैन यसमा सांस्कृतिक क्रान्ति पनि जोड्न आवश्यक छ । सासु र बुहारीबीचको अन्तरविरोध पितृसत्ताकै अभिव्यक्ति बनेको हुन्छ ।

आज हामीलाई उत्पीडितवर्गबाट खारिएर जन्मेको नेतृत्वगण चाहिएको छ । उत्पीडितवर्गहरूमा एउटा र महत्त्वपूर्ण सङ्घठक महिला पनि हो । हामीलाई क्लारा जेट्किन रोजा लक्जम्वर्ग कोलन्ताई माक्र्स–एङ्गेल्स लेनिन–स्टालिन माओ र चियाङ चिङ चाहिएको छ । उल्लिखित नेतृत्वगण आफ्नो समयको सफलताका आदर्श बिम्बहरू हुन् । इतिहासको आवश्यकता त्यो आवश्यकता बोध गर्ने गतिशील र अध्ययनशील प्रतिभा र हरेक खतराहरूका बीच मोती टिप्न सक्ने साहसबाट नै नेतृत्वगण सिर्जना हुन्छ । त्यस्तो नेतृत्वगणले बनेको उत्पीडित वर्गको अग्रदस्ताको नेतृत्वमा नै युगीन परिवर्तनहरू भएका छन् र हुनेछन् । नेपाली कम्युनिस्ट आन्दोलनमा त्यस्तो पुरुष र महिलाबाट बनेको नेतृत्वगण ऐतिहासिक आवश्यकता देखा परेको छ । यो आवश्यकतालाई बोध गरेर स्वतन्त्रताको संसारमा छलाङ लगाउने प्रतिभाहरूको आवश्यकता छ ।

हामीले मार्क्स–एङ्गेल्सले आफ्नो जमानामा संश्लेषण गरेका उद्धरणहरूबाट सुरु गरेका थियौँ र उहाँहरूकै उद्धरण उद्धृत गरेर नै यो आलेखको समापन गरौँ :

‘पुँजीवादी समाजमा पुराना पारिवारिक बन्धनहरू चुँडाल्न चाहे जतिसुकै भयङ्कर र घृणित प्रतीत किन नहोस् परन्तु आधुनिक उद्योगले महिला युवायुवती बालबालिकाहरूलाई घरेलु क्षेत्रबाहिर उत्पादन कार्यमा एउटा महत्त्वपूर्ण भूमिका दिएर परिवारमा नारी र पुरुषको सम्बन्धलाई एउटा अधिक उच्चरूपको लागि नयाँ आर्थिक आधार तयार पारिदिन्छ ।’

(मार्क्स पुँजी भाग १ पृ. ५२१ हिन्दी अनुवादक ओमप्रकाश संगल प्रगति प्रकाशन मस्को) ।

‘साम्यवादमा स्त्री–पुरुषबीचको सम्बन्ध उनीहरूको निजी मामला बन्न जानेछ । सम्बन्धित व्यक्तिहरूलाई मात्र त्यसको चासो रहनेछ । समाजले त्यसमा कुनै हस्तक्षेप गर्नेछैन । व्यक्तिगत स्वामित्वको उन्मूलन र केटाकेटीहरूको सामाजिक शिक्षा–दीक्षाले यो सम्भव हुनेछ । यसको परिणामस्वरूप व्यक्तिगत स्वामित्वसित सम्बन्धित आधुनिक विवाहका दुवै आधारहरू अर्थात् पतिमाथि पत्नीको निर्भरता र आमा–बाबुहरूमाथि केटोकेटीहरूको निर्भरता बिलाएर जानेछ । यसको आधारमा नै उच्चतम नैतिकताको डिङ हाँक्ने कुपमण्डूकहरू साम्यवादी साझा पत्नीत्वको सम्बन्धमा डाँको छोडिरहेका छन् । साझा पत्नित्व त यस्तो स्थिति हो जुन पूर्णतया पुँजीवादी समाजमा मात्र पाइन्छ र अहिले त्यो बेश्यावृत्तिको रूपमा पूरापूर अस्तित्वमा रहेको छ । बेश्यावृत्ति व्यक्तिगत स्वामित्वमा आधारित हुन्छ र व्यक्तिगत स्वामित्वको उन्मूलनको साथै त्यो पनि बिलाएर जानेछ । यसप्रकार साम्यवादी व्यवस्थाले साझा पत्नित्वलाई अस्तित्वमा ल्याउँदैन बरु यसको उल्टो त्यसलाई नष्ट गरिदिन्छ ।

(एङ्गेल्स कम्युनिस्ट पार्टीको घोषणापत्र अक्टोबर–नोभेम्बर १८४७ पृ. १४७ नेपाली अनुवादक– गोपीरमण उपाध्याय जनता प्रकाशन) ।

२०७७ चैत २६–२७, नख्खु कारागार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :