ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहित पाँच दिने स्कुलिङ्ग सम्पन्न

ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहित पाँच दिने स्कुलिङ्ग सम्पन्न

बाँके : ज्ञानलाई व्यवहारमा उतार्ने सामूहिक प्रतिबद्धता गर्दै बाँकेमा पाँच दिनदेखि जारी जुना अनल स्कुलिङ्ग कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नेकपा बाँके र बर्दियाले कोहलपुरमा मङ्सिर २५ गतेदेखि आधारभूत स्कुलिङ्ग कार्यक्रम सुरु गरेको थियो । स्कुलिङ्ग कार्यक्रममा जनवर्गीय सङ्गठनका दुबै जिल्लातहका झण्डै ४० जना कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

स्कुलिङ्गमा मार्क्सवादका तीन सङ्गठन अङ्ग दर्शन शास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बारे विषयगत ज्ञान दिएको छ । स्कुलिङ्गको अवधिभर केन्द्रबाट पुग्नु भएका स्कुलिङ्ग विभागका प्रशिक्षक भेजराज भुसाल, लालबहादुर विसी, गति र जिल्ला इन्चार्ज दिपकले विषयगत दक्षताका आधारमा प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिपकले स्कुलिङ्गले मार्गनिर्देशन मात्र गरेको र बाँकी अध्ययन गर्ने काम सम्बन्धित व्यक्तिको भएको बताए । उनले कम्युिनस्ट भनेको सबै भन्दा राम्रो मान्छे हुने भएको भन्दै विचार, बानी, व्यवहार र आचरणले सभ्य नागरिक बन्नुपर्ने बताए । यस्तै भेसराज भुसालले क्रान्तिमा विशेषज्ञता पनि आवश्यक पर्ने हुँदा स्कुलिङ्ग कार्यक्रम भएको बताए । उनले सिकेका कुरा व्यवहारमा लागू गरेमा मात्र स्कुलिङ्ग कार्यक्रमको महत्व हुने भन्दै सबैले व्यवहारमा कार्यान्वयन गर्नेमा आसावादी भएको बताए ।

समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीको तर्फबाट आफ्नो अनुभूतिहरू राख्दै युवा सङ्गठनकी प्रेरणा, अनेमसंघ (क्रान्तिकारी) की जिल्ला अध्यक्ष कल्पना रोकाया, अनेरास्ववियु क्रान्तिकारीका हरि प्याकुरेल, युवाका मनबहादुर भाम, अनेरास्ववियु क्रान्तिकारीका पदम बोगटी, नेकपा जिल्ला सदस्य परिवर्तन लगायतले बोल्दै स्कुलिङ्गले ठूलो ज्ञान दिएको बताए । उनीहरूले स्कुलिङ्गबाट सिकेको कुरा अब आफ्नो जीवन व्यवहारमा लागू गर्ने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :