नेकपा लमही नगरद्वारा जवस मोर्चाको संयुक्त भेला सम्पन्न

नेकपा लमही नगरद्वारा जवस मोर्चाको संयुक्त भेला सम्पन्न

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत लमही नगर कमिटीको आयोजनामा पार्टी निकट जवस मोर्चाको संयुक्त पालिका स्तरीय भेला सम्पन्न भएको छ ।
भेलाले बिमला जिएमको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघ क्रान्तिकारी लमही नगर कमिटी चयन गरेको छ । जसको सचिवमा राज कुमारी चौधरीलाई चयन गरिएको छ। यस्तै जनक केसीको अध्यक्षतामा ११ सदस्यीय लमही नगर स्तरीय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कमिटी चयन गरिएको हो ।जसको सचिवमा लक्ष्मी रोकालाई चयन गरिएको नेकपाले जनाएको छ ।
यस्तै संयुक्त भेलाले लोक बहादुर विकको अध्यक्षतामा ११ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपाल लमही नगर कमिटी चयन गरेको छ । जसको सचिवमा सुस्मिता विकलाई चयन गरिएको हो । यस्तै भेलाले प्रेम चौधरी अध्यक्ष र सचिवमा बुद्धिराम चौधरीलाई चयन गर्दै ११ सदस्यीय थारु मुक्ती मोर्चा नेपाल लमही नगर कमिटी चयन गरेको हो । यस्तै भेलाले मधेसी मुक्ती मोर्चाको ९ सदस्यीय लमही नगर कमिटी चयन गरेको छ । जसको अध्यक्षमा शैलेस यादव र सचिवमा आनन्दलाई चयन गरिएको हो ।

संयुक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा विशेष कमिटी सदस्य विक्रमले पार्टीले जनताका विरुद्धमा भएका धोका र गद्दारीका विरुद्धमा संघर्ष गर्दा प्रतिक्रियावादीहरु अत्तालिएको बताए । उनले जनतालाई दलाल सत्ताको शोषण, दमन र उत्पीडनबाट मुक्त गर्न र जनताको आफ्नै शासन व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न आफुहरु जुनसुकै मुल्य चुकाउन समेत तयार रहेको स्पष्ट पारे । नेता विक्रमले आफुलाई प्रजातन्त्रवादी, लोकतन्त्रवादी र कम्युनिस्टहरुलाई बन्दुके र अधिनायकवादी देख्ने संसदवादीहरुसँग अब आफुहरु जनमतसंग्रहको चुनावमा भिड्ने एजेन्डा लिएर जनतामा जाने उद्घोष गरे ।

एक फरक प्रसंगमा नेता विक्रमले अनेक बाहाना गरेर राज्य आफुहरुसँग गरेको तीन बुदे सहमतिलाई उल्लंघन गरिरहेको समेत बताए । सहमति गरेको लामो समय बितिसक्दा पनि बन्दी नेताकार्यकर्ताहरुलाई रिहा किन नगरेको ? नेता विक्रमले प्रश्न गरे । तीन बुदे सहमति अक्षरंस लागू नगरे राज्यको बेइमानीका विरुद्ध जनताले प्रतिरोध गर्ने नेता विक्रमको चेतावनी थियो ।

कार्यक्रमका अतिथि नेकपा दाङका कार्यालय सदस्य किरण, नेकपा लमही नगर इन्चार्ज जनक, मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष भिमप्रकाश, नेकपा राजपुर गाउँपालिका इन्चार्ज उज्वल, नेकपा गढवा गाउँपालिका इन्चार्ज महान, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरज, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष संजय, थारु मुक्ती मोर्चा दाङका अध्यक्ष चुलुवा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष अमर, मधेसी मुक्ती मोर्चा नेपाल दाङका संयोजक सुर्य यादव, नेकपा दाङका सल्लाहकार समिती सदस्य मधुसुदन लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
जनक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता साउनी चौधरीले गरेकी थिइन् भने सहजीकरण रबिनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :