एमसीसीविरुद्ध आज एमसीए कार्यालय घेराउ प्रभावकारी, भोलि संसद् भवन घेरिँदै

राष्ट्रघाती एमसीसी खारेज नभएसम्म सङ्घर्ष जारी रहन्छ : कञ्चन

एमसीसीविरुद्ध आज एमसीए कार्यालय घेराउ प्रभावकारी, भोलि संसद् भवन घेरिँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले सोमबार अपराह्न काठमाडौँस्थित एमसीए कार्यालय घेरेका छन् । राजनीतिक पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागितामा एमसीए कार्यालय घेराउ गरी आन्दोलनकारीहरूले सम्झौता खारेज नभएसम्म सङ्घर्ष जारी रहने बताएका छन् । नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य कञ्चनले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने धारणा राख्दै सम्झौता खारेज नभएसम्म सङ्घर्ष जारी रहने उद्घोष गरे । राजनीतिक पार्टीहरूले भोलि अर्थात् मङ्गलबार संसद् भवन घेराउ गर्ने कार्यक्रम छ ।

नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टीले सोमबार आयोजना गरेको काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गर्ने कार्यक्रममा नेकपा नेता कञ्चनले भारतमा बजार विस्तार गर्न र चीनलाई कमजोर बनाउन अमेरिकाले नेपालमा एमसीसी ल्याएको बताए । एमसीसी सम्झौता पारित भएमा नेपाली सेना, प्रहरी र कर्मचारीले एउटा अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने अवस्था उत्पन्न हुने पनि बताए । उनले साम्राव्यवादी षड्यन्त्र र हस्तक्षेप अन्त्य गर्न पनि यो सम्झौता पारित हुन र लागू हुन दिन नहुने बताए ।

कार्यक्रममा देजमो नेपालका नेता सीपी गजुरेलले एमसीसी जनताको टाउकोमाथि तेस्र्याइएको तरबार रहेको बताए । एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको तर शासकहरूले साम्राज्यवादको कठपुतली बनेर यसलाई लागू गर्ने षड्यन्त्र गरिरहेको उनको भनाइ थियो । उनले पनि सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गत बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीए कार्यालय र संसद् भवन घेराउलगायत सङ्घर्षका कार्यक्रम घोषणा गरेका थिए । यसै क्रममा संसद्बाट एमसीसी पारित नगर्न चेतावनी दिँदै भोलि संसद् भवन घेरिन लागेको हो । घेराउ कार्यक्रममा हजारौँ देशभक्त तथा क्रान्तिकारीहरूको उपस्थिति हने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :