नेकपासहित आठ राजनीतिक पार्टीद्वारा प्रदर्शनसहित एमसीए कार्यालय घेराउ जारी

नेकपासहित आठ राजनीतिक पार्टीद्वारा प्रदर्शनसहित एमसीए कार्यालय घेराउ जारी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लगायत आठ राजनीतिक पार्टीले आज काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गरिरहेका छन् । संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार आज दरबारमार्गस्थित एमसीए कार्यालय घेराउ गरिरहेका छन् ।

घेराउ कार्यक्रमको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला कञ्चन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल लगायतले संयुक्त मोर्चामा आबद्ध विभिन्न राजनीतिक पार्टीका नेताकार्यकर्ताहरुको घेराउ कार्यक्रममा बाक्लो उपस्थिति रहेको छ । सहभागीहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्ति शक्तिहरु एक हौँ लगायतका नाराहरु लगाउदै प्रदर्शनसहित एमसीए कार्यालय गरिरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गत बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीए कार्यालय घेराउ लगायत सङ्घर्षका कार्यक्रम घोषणा गरेका थिए ।

दलहरूले जारी गरेको विज्ञप्तिमा एमसीसीविरुद्धको सङ्घर्ष सशक्त पार्न देशका कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू र आमनेपाली जनतालाई व्यापक सहभागिताका निम्ति हार्दिक अपिल गरेका थिए ।

उक्त विज्ञप्तिमा नेपाली जनताको आवाजलाई बेवास्ता गर्दै राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयन गर्न खोज्ने मतियारहरूलाई नेपाली जनताले माफी नदिने चेतावनी दिइएको थियो ।

सङ्घर्ष घोषणा गर्दै जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘देशको सार्वभौमिकताभन्दा माथि रहने गरी गरिएको चरम राष्ट्रघाती र जनघाती एमसीसी सम्झौता राष्ट्रिय राजनीतिमा फेरि मडारिएर आएको छ । विगतमा नेपाली जनताको सङ्घर्षको बलले पारित हुन नसकेको एमसीसी सम्झौतालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद्बाट अनुमोदन गराएर लागू गर्ने धृष्टताका साथ तयारी गरिरहेका सूचनाहरू सार्वजनिक भैरहेका छन् । उक्त प्रयोजनका लागि आगामी मङ्सिर २८ गते संसद् अधिवेशन आह्वान गरिएको छ । डिसेम्बर १३ मा एमसीसीको न्युयोर्कस्थित केन्द्रीय कार्यालयमा बैठक बस्दैछ । योसँगै पछिल्ला घटनाक्रमले नेपाली दलाल शासकहरू राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवादी आक्रमणलाई अन्तिम रूप दिँदैछन् भन्ने कुरा प्रस्ट हुन आउँछ । यसका विरुद्धको सङ्घर्षलाई सशक्त बनाउनु र खारेज गर्नु नेपाली जनताको जीवनमरणको विषय बन्न गएको छ । नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका निम्ति एमसीसी सम्झौता खारेज गर्न हामी कम्युनिस्ट पार्टी र मोर्चाहरूले संयुक्त सङ्घर्षको आह्वान गरेका छौँ ।’

विज्ञप्तिमा भनिएको थियो, ‘सङ्घर्षको कार्यक्रमलाई सशक्त पार्न देशका कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू र आमनेपाली जनतालाई व्यापक सहभागिताका निम्ति हार्दिक अपिल गर्दछौँ ।’

स्मरणीय छ, नेकपाले देशका विभिन्न स्थानमा एमसीए कार्यालय स्थापनाका लागि खरिद गरिएका जमिनमा पार्टीको झन्डा गाड्दै कुनै पनि संरचना निर्माण नगर्न खबरदारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :