बाँके र बर्दियाको ५ दिने जुना अनल स्मृति स्कुलिङ्ग कार्यक्रम सुरु

बाँके र बर्दियाको ५ दिने जुना अनल स्मृति स्कुलिङ्ग कार्यक्रम सुरु

बाँके: नेपाल कम्युनिष्ट पार्टी बाँके र बर्दिया जिल्लाका जनवर्गीय संगठनका जिल्ला स्तरिय अगुवा कार्यकर्ताको सहभागितामा ५ दिने जुना अनल स्मृति स्कुलिङ्ग कार्यक्रम सुरु भएको छ ।
शनिबार बाँकेको कोहलपुरमा औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरि जुना अनल स्मृति नामक स्कुलिङ्ग कार्यक्रमको उद्घाटन गरिएको हो । स्कुलिङ्ग कार्यक्रममा माक्र्सवादका तीन संघठक अंगहरु दर्शन शास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादकाबारे आधारभूत विषयगत ज्ञान दिनेछ । जुना र अनल जनयुद्धका क्रममा बाँके र बर्दिया जिल्लाबाट सहिद हुने माओवादीको पहिलो कार्यकर्ता थिए । उनीहरुकै नाममा स्कुलिङ्ग कार्यक्रमको नाम राखिएको हो ।
स्कुलिङ्ग कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपाका बाँके, बर्दिया जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य दिपकले सम्बोधन गर्दै सच्चा कम्युनिष्ट बन्नको लागि आधारभूत ज्ञान लिन स्कुलिङ्गको आयोजना गरिएको बताए ।
उनले हरेक वस्तु गति हुने भएको भन्दै स्कुलिङ्ग पनि गतिशिल हुनुपर्ने र राजनीतिक क्रान्तिलाई सफल बनाउन स्कुलिङ्गले क्रान्तिकारीतिरको काम गर्ने बताए ।
सो अवसरमा अतिथिको रुपमा आफ्नो मन्तव्य दिदै नेकपाका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग विभागका सचिव लाल वहादुर बिसी (सार्दुल) ले ज्ञानलाई सिक्ने, सिकाउने र व्यवहारमा लागु गर्ने उद्देश्यले स्कुलिङ्ग आयोजना गरिएको बताए ।
उनले मुख्यगरी भौतिकवादी चिन्तनले संसारलाई बुझ्ने र त्यही अनुसार आफू र अरुलाई बदल्ने काममा माक्र्र्सवादी स्कुलिङ्गले महत्वपूर्ण कार्य गर्ने स्पष्ट पारे । नेपालमा पुष्पलालको स्कुलिङ्गलाई आफ्नो पार्टीले आत्मासात गरेको भन्दै उनले मोहविक्रम, मदन भण्डारी र पछिल्लो चरणको प्रचण्डको स्कुलिङ्ग क्रान्तिकारी लाइन विपरित भएको दावी गरे ।
स्कुलिङ्ग कार्यक्रममा दुई वटा जिल्लाका करिव ४० जना जनवर्गीय संगठनका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
स्कुलिङ्गको सहजिकरण नेकपाका केन्द्रीय सदस्य तथा स्कुलिङ्ग विभागका सचिव लाल बहादुर बिसी र स्कुलिङ्ग विभागका सदस्य गतिले गर्नेछ । उद्घाटन कार्यक्रमको अध्यक्षता नेकपा बर्दिया जिल्ला सचिव गणेश चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :